तोरी फुलेर पहेँलपुर भए बेलौरीका फाँट

कात्तिकमा छरेको ताेरी अहिले फुलेर निकै आकर्षक देखिएकाे छ । माघ अन्तिमसम्म तोरी भित्र्याएर उनीहरु उखु राेप्छन् ।

मंसिर २८, २०८२

भवानी भट्ट

The fields of Belauri have become a paradise with mustard flowers blooming.

What you should know

कञ्चनपुर — जिल्लाकाे दक्षिणी क्षेत्रमा रहेको बेलौरी नगरपालिका क्षेत्रका फाँट तोरी फुलेर पहेँलपुर भएका छन् । यहाँका कृषकले १०/१५ विघासम्ममा तोरी खेती गरेका छन् ।

 ‘गहुँ भन्दा तोरीमा फाइदा हुन्छ, यसले बाली चक्र पनि पूरा गर्छ,’ बेलौरी नगरपालिका ६ का कृषक बमबहादुर कुँवरले भने, ‘बाली फेरेर लगाउँदा उत्पादन राम्रो हुन्छ ।’ उनले अहिले करिब १० विघामा तोरी लगाएका छन् । 

माघ अन्तिमसम्म तोरी भित्र्याएर उनीहरु उखु लगाउँछन् । दुई/तीन वर्ष उखु उत्पादन भएपछि गहुँ छरिन्छ । त्यसपछि रोपाइँ गरेर फेरि तोरी लगाइन्छ । यसरी नै बाली चक्र पूरा हुन्छ । रावलका अनुसार प्रति विघामा तोरी ८ देखि १० क्विन्टलसम्म फल्छ । उक्त तोरी गाउँघरमै बिक्री हुन्छ । 

रावलजस्तै बेलौरी–६ की शशि थापा विष्टले पनि १० विघा बढीमा तोरी लगाएकी छिन् । कात्तिकमा तोरी छरेको खेतमा अहिले फुलेर निकै आकर्षक देखिएकाे छ । ‘पहले गहुँ खेती गर्थ्यौं, अहिले तोरी लगाएका छौं,’ उनले भनिन्, ‘यसमा फाइदा राम्रो छ, लगानी पनि कम लाग्छ ।’

बेलौरी नगरपालिकाको कलकत्तामा रिमझिम कृषि सहकारी संस्थाले सेयर सदस्यलाई तोरी खेतीमा आकर्षित गरेको छ । सेयर सदस्यहरुले २० विघा भन्दा बढीमा तोरी खेती गरेका छन् । ‘अहिले तोरी फुलेर सबैको मन लोभिएको छ, यसपाला मौसम पनि राम्रो छ,’ रिमझिम सहकारी संस्थाका अध्यक्ष कर्मसिंह रानाले भने, ‘अब माघमा तोरी भिक्र्याइन्छ, बित्रीका लागि पनि मिलहरु र कृषि कम्पतीहरुसँग कुरा भइरहेको छ ।’

कञ्चनपुरमा करिब ७ सय हेक्टरमा तोरी खेती गरिन्छ । यस पटक कृषि ज्ञान केन्द्रले तोरी खेतीको प्रबर्द्धनका लागि बीऊबिजनदेखि सिँचाइमा कृषकहरुलाई सहयोग गरेको छ । तोरी पकेट क्षेत्र अन्तरगत १ सय ९३ हेक्टरमा ज्ञान केन्द्रले सहयोग गरेको छ । 

‘तोरी खेतीको विकासका लागि हामीले बीऊदेखि अन्य क्षेत्रमा सहयोग गरेका छौं,’ कृषि ज्ञान केन्द्र कञ्चनपुरका प्रमुख हरि प्रसाद पनेरुले भने, ‘तोरी खेती निकै राम्रो भएको छ, कृषकहरु प्नि यसमा आकर्षित भएका छन् ।’ उनका अनुसार कञ्चनपुरमा तोरीको उत्पादकत्व प्रति हेक्टर १ दशमलव २ मेट्रिक टन रहेको छ ।

भवानी भट्ट कान्तिपुरका कञ्चनपुर संवाददाता हुन् ।

Link copied successfully