कृषिको तथ्याङ्कीय सुधारमा जोड

कृषि क्षेत्रको तथ्याङ्क संकलनका लागि आवश्यक प्रारम्भिक चरणको काम भइरहेको र यसले आगामी अनुसन्धान तथा नीति निर्माणमा सहयोग पुर्‍याउने विश्वास ।

मंसिर २७, २०८२

तर्कराज भट्ट

Emphasis on improving agricultural statistics

What you should know

डडेल्धुरा — कृषि क्षेत्रलाई प्रभावकारी र उद्देश्यपूर्ण बनाउन विश्वसनीय तथ्याङ्क अनिवार्य रहेको भन्दै कृषिको तथ्याङ्कीय सुधारका लागि डडेल्धुरामा शुक्रबार अन्तर्क्रिया गोष्ठी सम्पन्न गरिएको छ । कृषि विकास निर्देशनालय दिपायल–डोटीले कृषि ज्ञान केन्द्र डडेल्धुरामा आयोजना गरेको गोष्ठीमा डडेल्धुरा, बैतडी र बझाङका स्थानीय तहका कृषि प्राविधिकको सहभागिता थियो ।

कृषि विकास मन्त्रालयका तथ्याङ्क अधिकृत कमलराज गौतमका अनुसार गोष्ठीको मुख्य उद्देश्य तथ्याङ्कीय विधिबाट कृषि तथ्याङ्क निकाल्ने प्रक्रियालाई स्थानीय तहसँग समन्वय गर्दै अघि बढाउनु रहेको छ । उनले कृषि क्षेत्रको तथ्याङ्क संकलनका लागि आवश्यक प्रारम्भिक चरणको काम भइरहेको र यसले आगामी अनुसन्धान तथा नीति निर्माणमा सहयोग पुर्‍याउने बताए । 

गोष्ठीमा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय सुदूरपश्चिम प्रदेशका सचिव शंकर शाहले तथ्याङ्कबिनाको कृषि योजना उद्देश्यअनुरूप प्रभावकारी नहुने धारणा राखे । उनका अनुसार कृषि क्षेत्रको अवस्था, किसानको समस्या र उत्पादनगत वास्तविकता पहिचान गर्न विश्वसनीय तथ्याङ्क अत्यावश्यक छ । 

सचिव शाहले सुदूरपश्चिम प्रदेशमा करिब ८५ प्रतिशत नागरिक कृषि पेसामा आबद्ध भए पनि कुल बजेटको केवल १० प्रतिशत मात्र कृषि क्षेत्रमा विनियोजन भएकाले श्रोत अभाव भएको उल्लेख गरे । विश्वसनीय तथ्याङ्क निर्माण भएपछि कृषि क्षेत्रका समस्या समाधान गर्न सहज हुने उनको भनाइ छ ।  उनले माटोको उर्वराशक्ति क्रमशः घट्दै गएको वर्तमान अवस्थालाई उल्लेख गर्दै व्यवस्थित कृषि सर्वेक्षणले बालीचक्र सुधार, जमिन व्यवस्थापन र दीर्घकालीन उत्पादन क्षमतामा महत्त्वपूर्ण योगदान पुर्‍याउने बताए । उनका अनुसार स्थानीय तहले अझै बाँकी रहेको सर्वेक्षणको कामलाई निरन्तरता दिनुफर्ने छ । 

अन्तर्क्रिया गोष्ठीमा सहभागीहरूले स्थानीय तह र प्रदेशबीच समन्वय बलियो बनाएर तथ्याङ्कीय प्रणालीलाई आधुनिक, नियमित र प्रमाणमा आधारित बनाउनुपर्ने आवश्यकता औंल्याएका छन् ।

तर्कराज भट्ट

Link copied successfully