गृहणीलाई स्वरोजगार बनाउँदै धनगढीको शनिवारीय मेला

धनगढी उपमहानगरपालिकाले गत वर्षको मंसिरदेखि स्थानीय महिलालाई आर्थिक क्रियाकलापमा जोड्न हरेक शनिबार मेला सञ्चालन गरिँदै आएको हो ।

मंसिर २५, २०८२

रञ्जना बिसी

Dhangadhi's Saturday fair makes housewives self-employed

What you should know

कैलाली — प्रायः फुर्सदिलाे हुने शनिवारको दिन धनगढीका केही महिला भने मेलामा परिकार बनाउन व्यस्त हुन्छन् । धनगढी उपमहानगरपालिकाले व्यवस्थापन गरेको शनिवारीय मेलामा उनीहरुलाई रैथाने खानाका परिकारदेखि घरमै उत्पादन गरेका अचार, गेडागुडी बेच्न भ्याइनभ्याई हुन्छ ।

गत वर्षको मंसिरदेखि उपमहानगरपालिकाले यो मेला सञ्चालनमा ल्याएको हो । महिला उद्यमीलाई प्रर्वद्धन गर्ने र आर्थिक क्रियाकलापमा जोड्न हरेक शनिवार मेला सञ्चालन गरिँदै आएको हो । वर्षा र हावाहुरीका कारण बीचमा केही समय मेला बन्द भएको थियो । मेलाको उच्च माग आएपछि गत कात्तिकदेखि पुनः सुरु गरेको धनगढी उपमहानगरकी उपप्रमुख कन्दकला रानाले जानकारी दिइन् । 

बिदाको दिन पारेर प्रत्येक शनिवार सयौं जनाले यो मेला अवलोकन गर्छन् । मेलामा बालबालिकाका लागि खेल सामग्री र सांस्कृतिक कार्यक्रमको पनि व्यवस्था गरिएको छ । जहाँ नगरभरिका विद्यालयका विद्यार्थी सहभागी भएर विभिन्न किसिमका सांस्कृतिक कार्यक्रम पनि गर्छन् । 

मनोरञ्जनसँगै मौसम र पर्व विशेष खानाका परिकार एकै साथमा पाउँदा दर्शकहरु रमाउने गर्छन् । यसले महिला उद्यमीहरुलाई व्यवसायिक रुपमै लाग्न प्रेरित गरेको धनगढीकी हेमा बिष्ट बताउँछिन्  । चार सातादेखि मेलामा स्टल राखिरहेकी उनले सुत्केरी मसला, पौष्टिक आहार र विभिन्न प्रकारका अचार बेचिरहेकी हुन्छिन् ।

बैंकको जागिरबाट अवकाश प्राप्त उनी अहिले घरमै विभिन्न किसिमका अचार र खानेकुरा तयार गर्दै आएकी छन् । उनका उत्पादनले स्थानीय बजार मात्रै होइन विभिन्न जिल्ला र विदेशसम्म जान्छन् । धनगढीको शनिवारीय मेलाले उनका उत्पादनलाई प्रचारको मौका मात्रै दिएको छैन्, आम्दानी पनि बढाएको छ । हरेक शनिवार ३ देखि ६ हजारसम्म आम्दानी हुने गरेको उनले बताइन् । भन्छिन्, ‘अवकाशपछि दिन बिताउन गाह्रो हुन्थ्यो । घरमा बनाउँदै आएका खानेकुरा र अचारलाई व्यवसायिक रूप दिने सोच आयो । अहिले उद्यमीको रुपमा उत्पादन गर्दैछु ।’  

धनगढीकी मिरा कठायत मेलामा ‘अर्गानिक क्वाँटी’बाट बनेको चटपटे बेच्छिन् । उनको चटपटेमा ‘जंकफुड’ जन्य खानेकुरा मिसाइदैन । पाँच सातादेखि स्टल राख्दै आएकी उनले प्रत्येक शनिवार २ देखि ३ हजार रुपैयाँको चटपटे बिक्री हुने गरेको बताइन् ।

Dhangadhi's Saturday fair makes housewives self-employed

घरमा साँझबिहान खाना पकाउने, भाडा माझ्ने, सरसफाई गर्ने र बालबच्चा स्यार्नमै उनको दिन बित्थ्यो । अहिले शनिवार घरको काम भ्याएर दिउँसो २ बजे स्टल राख्न धनगढीको जेनजीमार्गमा आइपुग्छिन् ।

हातमा सीप हुँदाहुँदै पनि घरभित्रै गुम्सिएका आफू जस्ता महिलालाई आर्थिक क्रियाकलापमा जोड्ने नगरपालिकाको यो राम्रो प्रयास भएको उनले बताइन् । भन्छिन्, ‘हामीलाई धेरै कुराको सीप भए पनि घरभित्रको कामले बाहिर निस्कन मिल्दैन । अहिले नगरपालिकाको प्रयासमा आफ्नो सीप प्रयोग गरेर कमाउने भएका छौं ।’

गत शनिवार मेला अवलोकन गर्न उद्योग वाणिज्य संघ कैलालीका अध्यक्ष पुष्पराज कुँवरले घरमै बसिरहेका महिलाहरु आफ्नो सीपबाट आर्थिक क्रियाकलापमा जोडिएर स्वरोजगार बन्ने प्रयासले खुसी लागेको बताए । कैलाली उद्योग वाणिज्य संघले पनि महिला उद्यमीहरूलाई स्टार्टअपमा जोड्न प्रयास गरिरहेको उनले बताए ।

धनगढी जुगेडाकी शान्ति गोले शनिवार खानाका प्रकार बेच्न  व्यस्त थिइन् । उनको स्टलमा मासुका विभिन्न परिकार, चटपटे, पकौडादेखि सेलरोटी पाक्छन् । शनिवारीय मेला सुरु भएदेखिनै स्टल राख्न सुरु गरेकी गोलेले राम्रै कमाई भइरहेको बताइन् ।

‘सबै लागत जोडेर चार हजारसम्म कमाइ हुन्छ । तीन/चार घण्टामै यो राम्रो आम्दानी हो,’ उनले भनिन् । यद्यपि यो स्टल गोलेको आफ्नो होइन । उनी धनगढीको नोभा अस्पतालमा कार्यरत नर्स हुन् । एकल महिलालाई पनि प्रवर्द्धन गर्ने उद्देश्यका साथ धनगढी उपमहानगरपालिकाले उनकी माइजुलाई यो स्टल उपलब्ध गराएको हो । माइजुले मात्रै नभ्याउने हुँदा आफू सहयोग गर्न आउने गरेको उनले सुनाइन् ।

Dhangadhi's Saturday fair makes housewives self-employed

शान्ति, मिरा र हेमा जस्ता मेलामा स्टल राख्ने प्रायः महिलाको अनुभव उस्तै छ । यो मेलामा ७४ वटा स्टल छन् । उपमहानगरको व्यवस्थापनमा हरेक शनिवार लाग्ने मेलामा सीप भएर पनि घरभित्र बस्न बाध्य महिलाहरु व्यवसायमा संलग्न हुन थालेका छन् । मेलामा एकल, अपांगता भएका महिला, र यौनिक अल्पसंख्यक  लागि पनि स्टल राखिएको छ । यद्यपि अहिलेसम्म यौनिक तथा लैंगिक अल्पसंख्यक भने सहभागी भएका छैनन् ।

Dhangadhi's Saturday fair makes housewives self-employed

उपप्रमुख राना यो मेलाले महिलाहरूमा आत्मनिर्भर बन्न ऊर्जा थपेको बताउँछिन् । ‘महिलालाई आर्थिक रुपमा उकास्न यो मेला सञ्चालन गरेका थियौं । हाम्रो उद्देश्य पूरा हुँदैछ,’ उपप्रमुख राना भन्छिन्, ‘हामीले सोचेजस्तै महिला दिदीबहिनी संलग्न भएर आम्दानी पनि गरिरहनु भएको छ ।’ उपप्रमुख राना महिलाहरू स्वरोजगार र आत्मनिर्भर भएपछि मात्रै आफ्नो आवाज उठाउन सक्ने अवस्थामा पुग्ने बताउँछिन् ।

महिलालाई शनिवारीय मेलाबाहेकका आर्थिक क्रियाकलापमा जोड्न पालिकाबाट अन्य प्रयास पनि भइरहेको उनले बताइन् । मेलामा उपमहानगरले आवश्यक कुर्सी, टेबुलसहित निशुल्क खानेपानी र शौचालयको व्यवस्था पनि गरेको छ । महिलाहरुले स्टल राखेवाफत कुनै कर पनि तिर्नु नपर्ने गरेको उनले बताइन् ।  

रञ्जना बिसी

Link copied successfully