सुदूरपश्चिम महोत्सव आजदेखि

धनगढी उपमहानगरपालिका–१ स्थित पशुपति टोलमा दिउँसो २ बजे अर्थमन्त्री रामेश्वर खनालले महोत्सव उद्घाटन गर्ने छन् ।

मंसिर २२, २०८२

रञ्जना बिसी

Far West Festival starts today

What you should know

कैलाली — ‘पर्यटन, संस्कृति, उद्योग र व्यापार–समृद्ध सुदूरपश्चिमको आधार’ भन्ने मूल नारासहित धनगढीमा आजबाट सुदूरपश्चिम महोत्सव सुरु हुँदैछ ।

धनगढी उपमहानगरपालिका–१ स्थित पशुपति टोलमा दिउँसो २ बजे अर्थमन्त्री रामेश्वर खनालले महोत्सव उद्घाटन गर्ने छन् । महोत्सवको सम्पूर्ण तयारी पूरा भएको आयोजक कैलाली उद्योग वाणिज्य सङ्घले जनाएको छ ।

त्यसैगरी महोत्सव उद्घाटन सत्रमा विशिष्ट अतिथिका रूपमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह, नेपाल राष्ट्र बैंकका सिनियर डेपुटी गभर्नर डा. नीलम ढुंगाना तिम्सिना तथा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र ढकालको उपस्थिति रहने जनाइएको छ ।

महोत्सव उद्घाटनअघि धनगढीमा सोमबार बिहान ११ बजे प्रभातफेरीको आयोजना गरिने कैलाली उद्योग वाणिज्य सङ्घका अध्यक्ष पुष्करराज ओझाले जानकारी दिए ।

१० दिनसम्म सञ्चालन हुने महोत्सवमा २ करोडभन्दा बढी रुपैयाँ खर्च हुने सङ्घको अनुमान छ । त्यस्तै, महोत्सव अवधिभरि १५ करोड बराबरको कारोबार हुने अनुमान अध्यक्ष ओझाले बताए ।

महोत्सवमा प्रवेशमा सङ्घ सदस्य व्यवसायी, अपाङ्ग, वृद्ध तथा फरक क्षमता भएका व्यक्तिलाई निःशुल्क र खेलाडी तथा विद्यार्थीलाई ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ ।

महोत्सवमा कृषि, जडीबुटी, हस्तकला, फर्निचर, अटोमोबाइल, गार्मेन्ट, इलेक्ट्रोनिक्स, होटल तथा सूचना प्रविधिसहितका ५ सय ५० स्टल रहने कैलाली उद्योग वाणिज्य सङ्घका सचिव प्रकाश चन्दले बताए ।

चन्दले महोत्सवमा आउने दर्शकका लागि रमाइलो मेलामा फिलिपिन्सबाट ल्याइएको जलपरी मुख्य आकर्षण रहने जानकारी दिए । चन्दका अनुसार १९औँ संस्करणको सुदूरपश्चिम महोत्सवमा स्थानीय उत्पादन र महिला उद्यमीलाई प्रोत्साहन गरिएको छ ।

यस पटक महोत्सवमा ५ लाखभन्दा बढी अवलोकनकर्ता आउने अनुमान गरिएको छ ।

रञ्जना बिसी

Link copied successfully