कञ्चनपुरको कृष्णपुर नगरपालिका-७ स्थित गौरीघाट सामुदायिक वनमा खयर, सिसौलगायतका रुख फँडानी भएको हो ।
What you should know
कञ्चनपुर — कञ्चनपुरको कृष्णपुर नगरपालिका-७ मा रहेको गौरीघाट सामुदायिक वनमा अधिकांश रुख फँडानी गरिएको छ ।
१० हेक्टरमा रहेको उक्त सामुदायिक वनमा खयर, सिसौ र कञ्जुलगायत १ सय ३९ कटान गरिएको हो । ‘बिहीबार दिउँसोको समय एक घण्टाभित्रै ठूलो संख्यामा मानिस आएर रुख कटान गरेको देखिन्छ,’ डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख सुरेशचन्द्र डीसीले भने, ‘केही रुख लगिसकेका छन्, केही वनमै छाडेका छन् ।’
डिभिजन वन कार्यालयले रुख कटान कसले गरेको हो भन्ने विषयमा अनुसन्धान गरिरहेको छ । सब डिभिजन वन कार्यालय बाणीका प्रमुख भरत शाहलाई अनुसन्धान अधिकृत तोकिएको छ ।
‘स्थानीयले नै रुख कटान गरेको देखिन्छ, तर कसकसको संलग्नता छ भन्ने अझै खुल्न बाँकी छ,’ डिभिजन वन कार्यालयका प्रमुख डीसीले भने, ‘हामी वन फँडानी गर्ने मुख्य व्यक्तिको खोजीमा छौं ।’ सामुदायिक वनका अध्यक्ष कुमारी बोहोरासहितका पदाधिकारीलाई बोलाएर फँडानीमा संलग्नलाई कारबाही गर्न निर्देशन दिएको उनले बताए । कारबाही नभए डिभिजन वन कार्यालयले नै कारबाही प्रक्रिया अगाडि बढाउने उनको भनाइ छ ।
सामुदायीयक वनका अध्यक्ष बोहोरासँग भने सम्पर्क हुन सकेन । उनले डिभिजन वन कार्यालयमा आएर आफूले फँडानीमा संलग्नलाई कारबाही गर्न नसक्ने बयान दिएको डीसीले बताए ।
सामुदायीक वनको चारैतिर बस्ती छ । उक्त वनलाई पनि स्थानीयले बस्ती नै बनाउन खोजेको डीसी बताउछन् । यसमा केही जनप्रतिनिधिको पनि मनसाय रहेको उनले बताए । जनप्रतिनिधिले उक्त सामुदायिक वनमा बजार विस्तार गर्न खोजेको बताए ।
कृष्णपुर नगरपालिका-७ का वडाध्यक्ष घुम्मन रानाले सामुदायिक वनमा घेरबार नभएको र समिति पनि निष्क्रिय भएका कारण फँडानी भएको प्रतिक्रिया दिए । वन कसरी कसको निर्देशनमा फँडानी भएको हो भन्ने विषयमा केही जानकारी नभएको उनको भनाइ छ ।
कृष्णपुर नगरपालिकाका प्रमुख हेमराज ओझाले विगतदेखि नै उक्त सामुदायिक वन बेवारिस अवस्थामा रहेको बताए । विवाह ब्रतबन्धदेखि अन्तिम संस्कारसम्मका कामका लागि सोही वनबाट रुख कटानी हुने गरेको उनको भनाइ छ । 'पिकनिक जान पनि त्यही वनबाट दाउरा लैजाने गरिन्थ्यो,’ नगर प्रमुख ओझाले भने, ‘उक्त क्षेत्रमा प्राविधिक कलेज खोल्ने तयारी गरेका छौं, त्यसलाई विवादित बनाउन वन फँडानी गरिएको हो ।’
नगर प्रमुख ओझाले एक दशकअघि पनि उक्त वन अतिक्रमणमा परेको बताए । ‘अहिले त झन् समिति पनि निष्क्रिय थियो, चौकीदार पनि थिएन,’ उनले भने, ‘आधाभन्दा धेरै रुख त विगतमै चोरी तस्करी भइसकेको थियो ।’
