डडेलधुरामा ४ मतदानस्थल सिफारिस, १ हजार ८९२ नयाँ मतदाता

नयाँ दर्तामध्ये १ हजार २७२ जनाले अनलाइन प्रणालीमार्फत विवरण भरेर मतदाता परिचयपत्रका लागि आवेदन गरेका छन्।

मंसिर १६, २०८२

तर्कराज भट्ट

4 polling stations recommended in Dadeldhura, 1,892 new voters

डडेलधुरा — आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै डडेल्धुरामा चार नयाँ मतदान स्थल थप्न सिफारिस गरिएको छ।

२०७९ सालको निर्वाचनमा १३९ मतदान केन्द्र र १०१ मतदान स्थल रहेकामा जिल्ला निर्वाचन कार्यालय डडेल्धुराले यसपटक एउटा पुरानो मतदान स्थल हटाई चार नयाँ स्थल थप्ने प्रस्ताव निर्वाचन आयोगमा पठाएको हो।

जिल्ला निर्वाचन कार्यालयका अनुसार अजयमेरु गाउँपालिका–६ मा रहेको देवल मावि देवलदिव्यपुर मतदान स्थल हटाई भूमिराज आवि पिपलचौतारा र डागेश्वरी आवि कानाकोटमा नयाँ मतदान स्थल राख्ने तयारी गरिएको छ।

त्यस्तै, नवदुर्गा गाउँपालिका–५ मा रहेको भूमिराज आवि चौरबान्नीमा थप एउटा र गन्यापधुरा गाउँपालिका–१ को अशिग्राम आवि राउनाकोटमा अर्को एउटा नयाँ मतदान स्थल राख्न सिफारिस गरिएको छ।

यसैबीच, डडेल्धुरामा १ हजार ८९२ नयाँ मतदाता थपिएका छन्। निर्वाचन आयोगले गत असोज १० गतेदेखि १६ वर्ष उमेर पूरा भई नागरिकता प्राप्त व्यक्तिहरूलाई नाम दर्ताका लागि आहृवान गरेसँगै नयाँ मतदाता संख्या बढेको हो।

जिल्ला निर्वाचन कार्यालयका प्रमुख करुणाकर अवस्थीका अनुसार नयाँ दर्तामध्ये १ हजार २७२ जनाले अनलाइन प्रणालीमार्फत विवरण भरेर मतदाता परिचयपत्रका लागि आवेदन गरेका छन्। त्यस्तै, ३८९ पुरुष र २३१ महिला गरी ६२० जनाको नाम दर्ता बायोमेट्रिक विवरणका आधारमा गरिएको छ।

तर्कराज

Link copied successfully