बीउ उत्पादन र प्रमाणीकरणका लागि तालिम

बीउ विजन गुणस्तर नियन्त्रण कार्यालय ललितपुर तथा बीउ विजन प्रयोगशाला कञ्चनपुरको प्राविधिकको सहजीकरणमा सञ्चालन भएको तालिममा डडेल्धुराका २४ र बझाङका एक गरी २५ जना किसान सहभागी थिए ।

मंसिर १५, २०८२

तर्कराज भट्ट

Training for seed production and certification

What you should know

डडेल्धुरा — डडेल्धुरामा खाद्यबालीको बीउ उत्पादन र प्रमाणीकरण प्रक्रियालाई व्यवस्थित बनाउन किसान तथा व्यापारीलाई तीनदिने तालिम दिइएको छ । राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ डडेल्धुराले आयोजना गरेको तालिम आइतबार सम्पन्न भएको हो ।  तालिममा किसान, एग्रोभेट सञ्चालक तथा प्राविधिक सहभागी थिए ।

जिल्लामा आलुसहित विभिन्न खाद्यबालीका बीउ उत्पादन हुँदै आए पनि विगतमा गुणस्तर परीक्षण र कानुनी प्रमाणीकरण नगरी नै बिक्री वितरण हुँदै आएको थियो ।  ‘अबदेखि बीउ कानुनी तथा वैज्ञानिक मापदण्ड पूरा गरेर मात्र कारोबार गर्न सकियोस् भन्ने उद्देश्यले तालिम सञ्चालन गरिएको हो,’ कार्यक्रम कार्यान्वयन एकाइका प्रमुख तथा वरिष्ठ कृषि अधिकृत पीताम्बर बस्नेतले बताए ।

बस्नेतका अनुसार बीउ प्रमाणीकरणका लागि आवश्यक प्रक्रिया, गुणस्तरका आधार, किसानले तयार गर्नुपर्ने कागजात, नमुना परीक्षण विधि लगायत विषयमा तालिममा प्रस्टीकरण गरिएको थियो ।  खाद्यबालीका बीउमा प्रमाणीकरण (ट्याग) अनिवार्य हुने भएकाले यसबारे किसानलाई स्पष्ट बनाउन यो तालिम अत्यन्तै महत्त्वपूर्ण भएको उनले बताए ।

बीउ विजन गुणस्तर नियन्त्रण कार्यालय ललितपुर तथा बीउ विजन प्रयोगशाला कञ्चनपुरको प्राविधिकको सहजीकरणमा सञ्चालन भएको तालिममा डडेल्धुराका २४ र बझाङका एक गरी २५ जना किसान सहभागी थिए । तालिमपछि लिइएको परीक्षामा सबै सहभागी उत्तीर्ण भएका छन् ।

बीउ–विजन प्रयोगशाला कञ्चनपुरका कृषि अधिकृत दीपकराज ओझाले आलुको बीउ प्रमाणीकरण गरेर त्यसलाई कानुनी आधारमा बिक्री वितरण गर्न बाटो खुल्ने बताए । अहिलेसम्म डडेल्धुरामा आलुको आधिकारिक प्रमाणीकरण प्राप्त बीउ उपलब्ध नभएकाले किसानहरू ‘खाने आलु’ र ‘बीउ आलु’ छुट्याउने अभ्यास कमजोर रहेकाले अब यो तालिमले किसान प्रत्यक्ष लाभान्वित हुने उनले बताए । 

तालिमपछि किसानले कृषि ज्ञान केन्द्रबाट अनुमति लिने, त्यसपछि प्राविधिक परीक्षणपछि मात्र बीउ प्रमाणीकरण गर्ने प्रक्रिया अघि बढ्नेछ । प्रमाणीकरण बीउले गुणस्तरीय उत्पादन बढाउनुका साथै बाहिरी जिल्लामा निर्यात गर्न पनि सहज हुने बताइएको छ ।

डडेल्धुरा आलु उत्पादनका हिसाबले सुदूरपश्चिमका अग्रणी जिल्लामध्ये एक हो ।  गत वर्ष जिल्लामा ७१ करोड रुपैयाँभन्दा बढीको आलु उत्पादन भएको कृषि ज्ञान केन्द्र डडेल्धुराले जनाएको छ । जिल्लामा दुई सिजनमा आलु खेती गरिन्छ । बर्खे आलु ४ सय हेक्टर र हिउँदे आलु ७ सय २२ हेक्टर जमिनमा लगाइने गरिएको छ ।

तर्कराज

Link copied successfully