अमरगढीमा डम्पिङ साइट अव्यवस्थित

नगर क्षेत्रमा फोहरको मात्रा बढे पनि व्यवस्थापनका लागि दीर्घकालीन समाधान खोज्ने काम भने अघि बढ्न सकेको छैन।

मंसिर १२, २०८२

तर्कराज भट्ट

Dumping site in Amargadhi is in disarray.

What you should know

डडेलधुरा — अमरगढी नगरपालिकामा स्थायी डम्पिङ साइट नहुँदा सदरमुकाम नजिकैको अमरगढी पार्क छेउमा वर्षौंदेखि फोहर थुपार्ने गरिएको छ। नगरपालिकाको अधिकांश फोहर यही अस्थायी स्थलमा राख्दा स्थानीय बासिन्दा दुर्गन्ध र प्रदूषणको समस्या सहन बाध्य छन्। नगर क्षेत्रमा फोहरको मात्रा बढे पनि व्यवस्थापनका लागि दीर्घकालीन समाधान खोज्ने काम भने अघि बढ्न सकेको छैन।

मालम गाउँका स्थानीय नरबहादुर तमोली भन्छन्, ‘दैनिक आवतजावत हुने बाटो छेउमै फोहर राख्दा दुर्गन्ध यति बढ्छ कि स्थानीयलाई हिँडडुल गर्न समेत गाह्रो हुन्छ।’ उनका अनुसार नगरपालिका वर्षौंदेखि वैकल्पिक स्थलको खोजी गर्ने भन्दै बसे पनि कुनै ठोस निर्णय कार्यान्वयनमा नआएपछि समस्या उस्तै छ। उनले तत्काल यस क्षेत्रबाट डम्पिङ साइट हट्नुपर्ने बताए।

बागबजार, तुफानडाडा, कीर्तिपुर र खलंगा जस्ता मुख्य बजार क्षेत्रबाट दैनिक उठाइने फोहर अहिले मालम गाउँ जाने सडक छेउमै थुपारिन्छ। नगरपालिका घर–घरमै गएर फोहर संकलन गर्दै आए पनि उचित व्यवस्थापन नहुँदा संकलन गरिएको सबै फोहर बजार नजिकै बन क्षेत्रमा फालिएको हो। स्थानीय सुरत तमोलीका अनुसार धेरै पटक आन्दोलन र पहल गरे पनि डम्पिङ साइट हटाउनेबारे नगरपालिकाले कुनै प्रभावकारी कदम उठाउन सकेको छैन। २०८० पुसमा भएको सर्वपक्षीय छलफलले तीन महिनाभित्र नयाँ स्थल व्यवस्थापन गर्ने निर्णय गरे पनि त्यो कार्य अघि नबढेको उनले बताए।

अमरगढी नगरपालिकाले वर्षौं देखी अस्थायी डम्पिङ साइटमा निर्भर रहाउँदै आएको छ। पहिले अमरगढी–७ को कुइयाधारमा फोहर थुपारिएको थियो। तर त्यहाँका स्थानीयको गुनासो बढेपछि नगरपालिका नयाँ ठाउँ खोज्न बाध्य भयो। त्यसपछि सदरमुकामभन्दा २ किमी टाढा मालम गाउँ जाने सडक छेउमा अस्थायी रूपमा फोहर राख्न थालियो। तर यो क्षेत्र पनि दीर्घकालीन समाधानका लागि उपयुक्त नदेखिएपछि अहिले नगरपालिकाले स्थायी डम्पिङ साइटको खोजी गरेको छ।

अमरगढी नगरपालिकाका सूचना अधिकारी मीनराज ओझाका अनुसार स्थायी डम्पिङ साइट निर्माणको तयारी भइरहे पनि स्थानीयको असन्तुष्टि र अवरोधका कारण काम अघि बढ्न सकेको छैन। उनका अनुसार अमरगढी नगरपालिका–६ को गुईलेगडामा डम्पिङ साइट निर्माणका लागि जग्गा खरिद गरिएको छ।

गुईलेगडाका स्थानीयले संघर्ष समिति गठन गरी डम्पिङ साइट निर्माणविरुद्ध आन्दोलन गरिरहेका छन्। संघर्ष समितिका संयोजक गंगा ताम्रकारका अनुसार डम्पिङ साइट बन्न लागेको सूचना स्थानीयलाई ढिलो दिइयो र नजिकै घना बस्ती भएकाले यो क्षेत्र फोहर व्यवस्थापनका लागि उपयुक्त छैन। उनले मानव बस्ती नजिकै फोहर थुपार्दा स्वास्थ्य जोखिम बढ्ने भएकाले नगरपालिकालाई अन्य वैकल्पिक स्थल खोज्न आग्रह गर्दै आएको बताए। उनका अनुसार स्थानीयहरूले हस्ताक्षर संकलन गरी नगरपालिका, डिभिजन वन कार्यालय र जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र समेत बुझाई सकेका छन्।

जिल्ला समन्वय समितिका प्रमुख गगनसिंह भण्डारीका अनुसार फोहर व्यवस्थापनका लागि अमरगढी–६ को गुईलेगडामा १४ रोपनी जग्गा स्थानीयबाट खरिद गरिसकिएको छ। गुईलेगडामा खरिद गरिएको जग्गा सरकारी दररेटमै लिइएको र वातावरणीय प्रभाव मूल्याङ्कन समेत भइसकेको छ। तर, वातावरणीय प्रभाव मूल्यांकनको प्रतिवेदन नआएकोले प्रक्रिया अघि बढ्न सकेको छैन।

अहिले मालम गाउँ जाने सडक किनारमा कुहिने–नकुहिने सबै प्रकारका फोहर एउटै ठाउँमा थुपारेर जलाउँदा धुवाँ, दुर्गन्ध र वायु प्रदूषण बढेको छ। स्थायी डम्पिङ साइट निर्माणको प्रक्रिया पटक–पटक असफल भएपछि दिगो फोहर व्यवस्थापन अमरगढी नगरपालिकाको प्रमुख चुनौतीका रूपमा रहेको छ। नगरका जनप्रतिनिधि र सरोकारवाला निकायले समन्वय गरेर दीर्घकालीन समाधान खोज्नुपर्ने स्थानीयको माग छ।

तर्कराज

Link copied successfully