मेल्लेखमा करार कर्मचारी हटाएपछि आँखा उपचार केन्द्र बन्द, बर्थिङ सेन्टर एक जनाका भरमा

मेडिकल अधिकृतसहित २७ स्वास्थ्यकर्मीकाे करार रद्द गरेकाे एक सातापछि आधारभूत अस्पताललाई हेल्थ असिस्टेन्ट, स्टाफ नर्स, अहेब र अनमि एक/एक जनाको व्यवस्थापन गरेर जेनतेन स‌ंचालनमा ल्याइए पनि आँखा उपचार केन्द्र भने बन्द भएकाे छ ।

मंसिर ९, २०८२

मेनुका ढुंगाना

Eye treatment center closed after contract staff removed in Mellekh, birthing center down to one person

What you should know

अछाम — करारका कर्मचारी हटाउँदा मेल्लेख गाउँपालिकाले सञ्चालन गरेको आँखा उपचार केन्द्र बन्द भएको छ । पालिकाले आफ्नै स्रोतबाट मेडिकल अधिकृत राखेर सञ्चालन गरेको आधारभूत अस्पतालकाे सेवा पनि प्रभावित भएको छ ।

कर्मचारी अभावले बर्थिङ सेन्टर एक जनाकाे भरमा सञ्चालन भइरहेकाे छ ।

गाउँपालिकाकी प्रमुख प्रशासकीय अधिकृत संगिता ताम्राकारका अनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कात्तिक ७ गते पठाएको पत्रपछि कात्तिक ३० गतेको कार्यपालिका निर्णय बमोजिम मंसिर १ गतेबाट लागू हुने गरी कर्मचारीकाे करार सम्झौता रद्द गरिएको हो । करारमै कार्यरत शिक्षकलाई हटाउने खाेजे पनि केही विद्यालय र कक्षा नै बन्द हुने अवस्था देखिएपछि तत्कालका लागि राेकेकाे छ । 

प्रमुख प्रशासकीय अधिकृत ताम्राकारका अनुसार मेडिकल अधिकृत १, रेडियोग्राफर १, स्टाफ नर्स १, ल्याबका ४, अनमि ६, स्विपर ८, मेल्लेख आधारभूत अस्पतालका कार्यालय सहयोगी ३, आँखा उपचार केन्द्रका ३ जना गरी स्वास्थ्य तर्फका २७ जना कर्मचारीको करार सम्झौता रद्द गरिएको हाे ।

करारमै कार्यरत गाउँपालिकाका अन्य सेवाका २१ जना कर्मचारीको करार सम्झौता रद्द गरिएको छ । जसमा वडा सहायक ८, रोजगार शाखाका २, कम्प्युटर अपरेटर १, सहायक कम्प्युटर अपरेटर १, प्राविधिक ३, खेलकुद प्रशिक्षक १ र कार्यालय सहयोगी ५ जना रहेका छन् ।

स्वास्थ्य र अन्य सेवाका गरी ४८ कर्मचारीको करार रद्द गरिएको उनले बताइन् । ‘स्वास्थ्य तर्फका करार कर्मचारी हटाउँदा बर्थिङ सेन्टर पनि बन्द हुने अवस्थामा पुगे । दुई जना भएको ठाउँबाट एक/एक जना गरेर बर्थिङ सेन्टर चलाएका छौं । कर्मचारीलाई पनि भार परेको छ,’ उनले भनिन्,‘गाउँपालिकाले राखेका ८७ जना शिक्षक पनि हटाउनु पर्ने अवस्था आएको छ । करारका शिक्षक तुरुन्तै हटाउँदा विद्यालयनै बन्द हुने भएकाले व्यवस्थापनमा लागि रहेका छौं ।’

उनका अनुसार विद्यालय समायोजन गरी व्यवस्थापन गर्नका लागि गाउँपालिका अध्यक्ष ज्वाला साउँदको संयोजकत्वमा सरोकारवालाको २७ सदस्यीय समिति गठन गरिएको छ । आधारभूत अस्पतालमा एमबीबीएस डाक्टरले दिने सेवा बन्द भएको र हाल हेल्थ असिस्टेन्ट, स्टाफ नर्स, अहेब र अनमि एक/एक जनाको व्यवस्थापन गरेर एक सातापछि सञ्चालनमा ल्याइएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख वीरबहाुर ठकुल्लाले बताए । 

एक वर्षअघि गाउँपालिकाले तीन जना कर्मचारी राखेर सञ्चालन गरेको आँखा उपचार केन्द्र भने जनशक्ति अभावमा बन्द भएको उनले बताए । ‘आधारभूत अस्पतालमा पनि पहिलेजस्तो सेवा केही पाइँदैन । डाक्टर पनि छैन । ल्याब पनि बन्द भयो । आँखा अस्पताल पनि बन्द हुँदा दुर्गमका सेवाग्राही मारमा परेका छन्,’ उनले भने, ‘एक्कासी स्वास्थ्यकर्मी हटाउँदा जनस्तरबाट गुनासो धेरै आइरहेको छ ।’ लामो समयदेखि तालिम प्राप्त कर्मचारी हटाउँदा त्यसको क्षति स्वास्थ्य सेवामा भएको उनले बताए । 

करार शिक्षक हटाउँदा ५ वटा आधारभूत विद्यालय पूर्णरुपमा बन्द हुने अवस्थामा पुगेको गाउँपालिकाका शिक्षा शाखा प्रमुख विरेन्द्र खड्काले बताए । उनका अनुसार मेल्लेख-३ ठाँटीमा रहेको थापाथली आधारभूत विद्यालय, वडा ४ मा रहेको जनकल्याण र नवदुर्गा, वडा ३ को जनज्योति, वडा नम्बर १ मा रहेको कालिका आवि गरी ५ विद्यालयका करिब ८७ जना शिक्षक हट्दा ३ सय बढी विद्यार्थी प्रभावित हुनेछन् ।

त्यस्तै ११/१२ कक्षा सञ्चालन भएका ६ वटा विद्यालयमा कक्षा नै बन्द हुने अवस्थामा पुगेको उनले बताए । उनका अनुसार दुर्गा देवी मावि नन्देगडा, बासुकी मावि कुस्कोट, कालिका मावि हात्तीकोट, चण्डिका मावि ऋषिदह, नन्दामाता मावि डाँडासिरी, पिपलसैन मावि ठाँटीमा पढाइ हुने ११ र १२ पढाउने शिक्षक हट्दा बन्द गर्नुपर्ने उनले बताए ।

गाउँपालिका अध्यक्ष साउँद नेतृत्वको समितिको प्रतिवेदन आएपछि अन्य प्रक्रिया अघि बढ्ने ताम्राकारले बताइन् । ‘विद्यालय नै बन्द हुने भएकाले एक महिनासम्म करारका शिक्षकलाई हटाइएको छैन । त्यसपछि प्रतिवेदनको आधरमा प्रक्रिया अघि बढ्ला,’ शिक्षा शाखा प्रमुख खड्काले भने, ‘भौगलिक विकटता र दुर्गममा मावि तहको पढाइ नहुने अवस्था आए धेरै विद्यार्थीको पढाइ प्रभावित हुनेछ । अन्य ठाउँमा पढाउन नसक्ने अभिावक पनि आत्तिएका छन् ।’

मेनुका ढुंगाना कान्तिपुरकी अछाम संवाददाता हुन् । उनी महिला र बालबालिकामाथि हुने हिंसा, छाउप्रथा लगायतका सुदूरपश्चिममा हुने समसामयिक विषयमा समाचार र टिप्पणी लेख्ने गर्छिन् । उनी एक दशकदेखि सञ्चारकर्ममा सक्रिय छिन् ।

Link copied successfully