प्रदेशका नौ वटै स्वास्थ्य कार्यालयले सञ्चालन गरेका कार्यक्रमको मूल्यांकन गर्दा डडेलधुरा ८५ दशमलव २० अंकसहित प्रथम भएको हो ।
डडेलधुरा — स्वास्थ्य कार्यक्रमका प्रमुख सूचकांकहरूको मूल्यांकनमा स्वास्थ्य कार्यालय डडेलधुराले सुदूरपश्चिम प्रदेशभरि उत्कृष्ट स्थान हासिल गरेको छ।
आर्थिक वर्ष २०८१/८२ मा प्रदेशका नौ वटै स्वास्थ्य कार्यालयले सञ्चालन गरेका कार्यक्रमहरूको मूल्यांकन गर्दा डडेलधुराले उल्लेखनीय प्रगति गर्दै ८५ दशमलव २० अंकसहित प्रथम भएको हो। उत्कृष्टताका आधारमा स्वास्थ्य निर्देशनालय दिपायल डोटीले कार्यालयलाई सम्मान गरेको छ।
आइतबार आयोजित एकीकृत वार्षिक स्वास्थ्य समीक्षा कार्यक्रममा स्वास्थ्य निर्देशनालयका निर्देशक डा. खगेन्द्र बमले स्वास्थ्य कार्यालय डडेलधुराका प्रमुख केशरबहादुर साउदलाई प्रथम भएको प्रमाणपत्र प्रदान गरेका थिए।
उल्लेखनीय उपलब्धि हासिल गर्न अहोरात्र खटिने स्वास्थ्यकर्मी, स्थानीय तह, सञ्चारकर्मी, जनप्रतिनिधि तथा विभिन्न साझेदार संस्थाहरूको निरन्तर सहयोग रहेको भन्दै स्वास्थ्य कार्यालय डडेलधुराले सबैप्रति धन्यवाद व्यक्त गरेको छ। ‘सबैको निरन्तर समर्पण र सहकार्यकै कारण डडेलधुरा प्रदेशमै अग्रस्थानमा उभिन सफल भएको हो,’ कार्यालय प्रमुख साउदले भने।
यस वर्षको मूल्यांकनमा स्वास्थ्य कार्यालय डोटी दोस्रो र स्वास्थ्य कार्यालय कैलाली तेस्रो स्थानमा परेका छन्।
