सुदूरपश्चिममा ‘क्याथ ल्याब’ सेवा सुरु

क्याथ ल्याब हृदयघात भएका मुटु रोगीको उपचारसम्बन्धी अत्याधुनिक प्रविधिको उपचार सेवा हो ।

मंसिर ५, २०८२

अर्जुन शाह

What you should know

धनगढी — सुदूरपश्चिममै पहिलो पटक क्याथ ल्याब सेवा सुरु भएको छ । कैलालीको अत्तरियास्थित अत्तरिया हस्पिटल प्रालिले शुक्रबारदेखि क्याथ ल्याब सेवा सञ्चालनमा ल्याएको हो । 

क्याथ ल्याब हृदयघात भएका मुटु रोगीको उपचारसम्बन्धी अत्याधुनिक प्रविधिको उपचार सेवा हो । 

सुदूरपश्चिममा हालसम्म कुनै पनि सरकारी र निजी स्वास्थ्य संस्थाहरुले क्याथ ल्याब सेवा स्थापना गर्न सकेका थिएनन् । क्याथ ल्याब नभएकै कारण हृदयघातका बिरामीहरुलाई उपचारका लागि काठमाडौं, नेपालगन्ज वा भारतका विभिन्न सहरमा पुर्‍याउनु पर्ने बाध्यता थियो । 

‘हृदयघात (हार्ट अट्याक) भएका बिरामीहरुका लागि १२ घण्टा ‘विन्डो पिरियड’ हुन्छ, बिरामीले त्यस अवधिमा उपचार पाउन सक्यो भने बचाउन सकिने सम्भावना रहन्छ,’ गेटा अस्पतालका वरिष्ठ मुटुरोग विशेषज्ञ डा. अजय भट्ट भन्छन्, ‘मुटु रोगको उपचारका लागि यस क्षेत्रका लागि महत्वपूर्ण कोशेढुंगा हो भन्दा फरक पर्दैन । सुदूरपश्चिमका जुनसुकै पहाडी जिल्लाबाट पनि १२ घण्टामा धनगढी पुगिन्छ ।’ 

क्याथ ल्याब सेवा स्थापना हुँदा एन्जीओग्राफी, एन्जीओप्लास्टी र पेस मेकर सेवा उपलब्ध हुने अत्तरिया अस्पतालले जनाएको छ । क्याथ ल्याबको वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा. डा. यादव भट्टले उद्घाटन गरेका हुन् । क्याथ ल्याब सञ्चालन गर्न करिब १५ करोड लागत रहेको अस्पतालले जनाएको छ । उपचार गर्न बिरामीको अवस्थाअनुसार करिब अढाई लाखसम्म खर्च हुने अस्पतालको भनाइ छ । 

अत्तरिया हस्पिटलका सञ्चालक डिल्लीराज पाठकले क्याथ ल्याब सञ्चालनमा आएसँगै मुटुसम्बन्धी रोगको उपचारमा सहजता हुने बताए । ‘अब मुटुका आकस्मिक बिरामीले भारत वा नेपालगन्ज धाउनु पर्ने बाध्यता हट्ने छ,’ उनले भने, ‘अस्पतालमा मुटुरोग विशेषज्ञ डा. विप्लव कार्कीले सेवा दिनु हुनेछ ।’ 

हाल सुदूरपश्चिममा तीन जना मुटु रोग विशेषज्ञ मात्र छन् । तर सुदूरपश्चिममा बिरामीको सबैभन्दा चाप हुने सेती प्रादेशिक अस्पतालमा भने मुटु रोग विशेषज्ञ छैन । 

अर्जुन शाह शाह कान्तिपुरका सुदूरपश्चिम प्रदेशका संवाददाता हुन् ।

Link copied successfully