साइपालका प्रमुख प्रशासकीय अधिकृतको एक सातामै सरुवा

संघीय मामिला तथा सामान्य प्रशाशन मन्त्रालयले तीन दिनअघि मात्रै साइपाल पुगेका प्रमुख प्रशासकीय अधिकृत सन्देश जोशीलाई सरुवा गरेको हो ।

कार्तिक २९, २०८२

वसन्तप्रताप सिंह

Saipal's Chief Administrative Officer transferred within a week

बझाङ — लामो समयपछि प्रमुख प्रशासकीय अधिकृत पाएको बझाङको विकट साइपाल गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको पदभार ग्रहण गरेको साता दिनमै सरुवा भएको छ ।

संघीय मामिला तथा सामान्य प्रशाशन मन्त्रालयले केही दिनअघि मात्रै साइपाल पुगेका सन्देश जोशीलाई सरुवा गरेको हो । उनलाई धादिङको नेत्रावती डबजोङ गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत पदमै रुपमा सरुवा गरिएको हो । 

यो गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृतको भरमा चल्दै आएको छ । अहिलेसम्म यो पालिकामा प्रमुख प्रशासकीय अधिकृतमा सबैभन्दा लामोसमय २०७६ सालतिर अशोक नेपालीले ६ महिना काम गरेका थिए । उनको सरुवा पछि नायब सुब्बा र खरिदार स्तरका कर्मचारीले यहाँ निमित्त भएर काम गर्दै आएका छन् । ‘हामी निर्वाचित भएदेखि नै प्रमुख प्रशासकीय अधिकृत माग गर्दै दर्जनौं पटक मन्त्रालय धायौं ।

जनप्रतिनिधिहरु पनि धेरै कुरामा जानकार नभएकोले अधिकृत स्तरको कर्मचारी आवश्यक छ भने सबै मन्त्रीलाई गुहार्दा बल्ल पठाएको थियो,’ साइपाल गाउँपालिकाकी उपाध्यक्ष डोल्मा तामाङले भनिन्, ‘फेरि किन हो यहाँ पुगेको तीन दिनमै सरुवा गरिदियो । मन्त्रालयमा सम्पर्क गर्दा कसैले पनि फोन उठाइरहेका छैनन् ।’

प्रमुख प्रशासकीय अधिकृत नहुँदा पालिकाको दैनिक कामकाज प्रभावकारी नहुने गरेको र पालिकामा सुशासन कायम गर्ने प्रयास सफल हुन नसकेको उनले बताइन् । लामो समयसम्म निमित्तको भरमा चल्दै आएको यो पालिकामा अघिल्लो सरकारले प्रमुख प्रशासकीय अधिकृत पठाएको थियो ।

अधिकृत नहुँदा यो पालिकाले प्रदान गर्ने दैनिक सेवामा समेत प्रभाव पर्ने गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गर्ने स्थानीय तह संस्थागत क्षमता स्व–मूल्यांकन (लिजा) को नतिजामा प्रत्येक वर्ष पुछारमा पर्ने गरेको छ । यस्तै स्थानीय तह वित्तीय जोखिम मूल्यांकनको नतिजामा पनि यो पालिका वित्तिय दृष्टिकोणले उच्च जोखिमको सूचीमा पर्दै आएको छ । 

जोशीले साइपालमा आफुले काम गर्न नसक्ने भन्दै निवेदन दिएपछि सरुवा गरिएको संघीय मामिला तथा सामान्य प्रशाशन मन्त्रालयका उपसचिव भीमकान्त पौडेलले बताए । ‘मलाई समस्या पर्यो । सरुवा गरिदिनु पर्यो भनेर निवेदन आएको रहेछ । त्यही आधारमा सरुवा भएको होला,’ उनले भने । 

वसन्तप्रताप सिंह कान्तिपुरका बझाङ संवाददाता हुन् ।

Link copied successfully