१५ वर्षअघि पहिलो दिन दुई लिटर दूध संकलन गरेर डेरीमा पुर्याएका राना अहिले गाउँमा आफ्नै डेरी चलाएर दैनिक १५ सय लिटर दूध संकलन गरिरहेका छन् ।
What you should know
कञ्चनपुर — १६ वर्षको उमेरमा कामको खोजीमा भारत पसेर कतै चौकीदारी त कतै मजदुरी गरे । बैंग्लोर, हरियाणा, दिल्ली हुँदै उत्तराखण्ड र हिमाञ्चलका विभिन्न ठाउँ चहारे ।
भारतमा काम गर्ने बेला नै उनको मनमा एउटा कुरा खेल्थ्यो, ‘सानै भए पनि गाउँमै केही न केही गर्नुपर्छ ।’ करिब ६ वर्ष उनी भारतमा बसे । त्यसपछि घर फर्केर के गर्ने भनेर सोचिरहेका थिए । साथीभाईसँग पनि सरसल्लाह गर्दै थिए ।
शुक्लाफाँटा नगरपालिका–१२ कालागौडीका शिवचरण राना एक दिन साथीभाईसँगै झलारी बजार पुगेका थिए । उनले डेरीमा गएर दुध संकलन गर्ने कुरा गरे । डेरी सञ्चालकले पनि दुध ल्याउन भने । त्यसपछि उनले घर फर्केर सहकारी संस्थाबाट ऋण काँढेर साइकल किने । त्यही साइकलमा गाउँबाट दुध संकलन गरेर डेरीमा पुर्याउन थाले ।
१५ वर्षपछि पहिलो दिन दुई लिटर दुध संकलन गरेर डेरीमा पुर्याएका राना अहिले गाउँमा आफ्नै डेरी संचालन गरेर दैनिक १५ सय लिटर दुध संकलन गरिरहेका छन् । ‘पाँच वर्षसम्म साइकलमै दुध संकलन गरे, त्यसपछि सहकारीबाटै ऋण निकालेर मोटरसाइकल किने,’ रानाले भने, ‘त्यतिबेला दिनमा दुई/तीन सय लिटर दुध संकलन हुन्थ्यो, साइकलमै नसकिने भएपछि मोटरसाइकल किने ।’ त्यतिबेला खर्च कटाएर दिनमा ५/७ सय रुपैयाँ बचत हुन्थ्यो । त्यसपछि मोटरसाइकल किनेर बढी दुध संकलन गर्दा हजार/बाह्र सय बचत हुन थाल्यो ।
अहिले रानाले आफ्नै गाउँ कालागौडीमा डेरी सञ्चालन गरेका छन् । दिनमा १५ सय लिटर बढी दुध संकलन गर्छन् । आफ्नो डेरीमा दुई/तीन सय लिटर दुध खपत हुन्छ भने बाँकी दुध झलारी र धनगढी लगेर बिक्री गर्छन् । उनले गाउँमा प्रतिलिटर ५५ देखि ६८ रुपैयाँसम्ममा दुध खरिद गरिरहेका छन् ।
धनगढीमा बिक्री गर्दा प्रति लिटरमा १५ रुपैयाँसम्म फाइदा हुन्छ । खर्च कटाएर आधा जति बचत हुने राना बताउँछन् । ‘महिनामा एक/डेढ लाखसम्म कर्मा भइरहेको छ,’ रानाले भने, ‘सुरुमा त गाह्रै थियो, अहिले सबै ठिक भएको छ ।’ रानाका एक छोरा छन् । उनी पनि बुवाको व्यवसायमा सघाउँछन् । उनले घरमा पनि भैंसी पालेका छन् ।
रानाले डेरी सञ्चालनका लागि ६ जना कामदार पनि राखेका छन् । दुध संकलनदेखि डेरीमा काम गर्ने र धनगढीसम्म पुर्याएर बिक्री गर्न कामदारलाई खटाउछँन् । दुधबाट उत्पादन हुने दही, मोही, पनिर, मिठाई घ्यूलगायतका सामग्री समेत बिक्री भइरहेका छन् । ‘गर्मी र विवाहको सिजनमा गाउँमै दुधको खपत धेरै हुन्छ,’ उनले भने, ‘उत्पादन पनि कम हुने बेला माग बढ्दा पुर्याउनै सकिदैन ।’
