गाउँमा दूध संकलन गर्दागर्दै आफ्नै डेरी सञ्चालन

१५ वर्षअघि पहिलो दिन दुई लिटर दूध संकलन गरेर डेरीमा पुर्‍याएका राना अहिले गाउँमा आफ्नै डेरी चलाएर दैनिक १५ सय लिटर दूध संकलन गरिरहेका छन् ।

कार्तिक २९, २०८२

भवानी भट्ट

Running your own dairy while collecting milk in the village

What you should know

कञ्चनपुर — १६ वर्षको उमेरमा कामको खोजीमा भारत पसेर कतै चौकीदारी त कतै मजदुरी गरे । बैंग्लोर, हरियाणा, दिल्ली हुँदै उत्तराखण्ड र हिमाञ्चलका विभिन्न ठाउँ चहारे ।

भारतमा काम गर्ने बेला नै उनको मनमा एउटा कुरा खेल्थ्यो, ‘सानै भए पनि गाउँमै केही न केही गर्नुपर्छ ।’ करिब ६ वर्ष उनी भारतमा बसे । त्यसपछि घर फर्केर के गर्ने भनेर सोचिरहेका थिए । साथीभाईसँग पनि सरसल्लाह गर्दै थिए ।

शुक्लाफाँटा नगरपालिका–१२ कालागौडीका शिवचरण राना एक दिन साथीभाईसँगै झलारी बजार पुगेका थिए । उनले डेरीमा गएर दुध संकलन गर्ने कुरा गरे । डेरी सञ्चालकले पनि दुध ल्याउन भने । त्यसपछि उनले घर फर्केर सहकारी संस्थाबाट ऋण काँढेर साइकल किने । त्यही साइकलमा गाउँबाट दुध संकलन गरेर डेरीमा पुर्‍याउन थाले ।

१५ वर्षपछि पहिलो दिन दुई लिटर दुध संकलन गरेर डेरीमा पुर्‍याएका राना अहिले गाउँमा आफ्नै डेरी संचालन गरेर दैनिक १५ सय लिटर दुध संकलन गरिरहेका छन् । ‘पाँच वर्षसम्म साइकलमै दुध संकलन गरे, त्यसपछि सहकारीबाटै ऋण निकालेर मोटरसाइकल किने,’ रानाले भने, ‘त्यतिबेला दिनमा दुई/तीन सय लिटर दुध संकलन हुन्थ्यो, साइकलमै नसकिने भएपछि मोटरसाइकल किने ।’ त्यतिबेला खर्च कटाएर दिनमा ५/७ सय रुपैयाँ बचत हुन्थ्यो । त्यसपछि मोटरसाइकल किनेर बढी दुध संकलन गर्दा हजार/बाह्र सय बचत हुन थाल्यो । 

अहिले रानाले आफ्नै गाउँ कालागौडीमा डेरी सञ्चालन गरेका छन् । दिनमा १५ सय लिटर बढी दुध संकलन गर्छन् । आफ्नो डेरीमा दुई/तीन सय लिटर दुध खपत हुन्छ भने बाँकी दुध झलारी र धनगढी लगेर बिक्री गर्छन् । उनले गाउँमा प्रतिलिटर ५५ देखि ६८ रुपैयाँसम्ममा दुध खरिद गरिरहेका छन् ।

धनगढीमा बिक्री गर्दा प्रति लिटरमा १५ रुपैयाँसम्म फाइदा हुन्छ । खर्च कटाएर आधा जति बचत हुने राना बताउँछन् । ‘महिनामा एक/डेढ लाखसम्म कर्मा भइरहेको छ,’ रानाले भने, ‘सुरुमा त गाह्रै थियो, अहिले सबै ठिक भएको छ ।’ रानाका एक छोरा छन् । उनी पनि बुवाको व्यवसायमा सघाउँछन् । उनले घरमा पनि भैंसी पालेका छन् । 

रानाले डेरी सञ्चालनका लागि ६ जना कामदार पनि राखेका छन् । दुध संकलनदेखि डेरीमा काम गर्ने र धनगढीसम्म पुर्‍याएर बिक्री गर्न कामदारलाई खटाउछँन् । दुधबाट उत्पादन हुने दही, मोही, पनिर, मिठाई घ्यूलगायतका सामग्री समेत बिक्री भइरहेका छन् । ‘गर्मी र विवाहको सिजनमा गाउँमै दुधको खपत धेरै हुन्छ,’ उनले भने, ‘उत्पादन पनि कम हुने बेला माग बढ्दा पुर्याउनै सकिदैन ।’ 

भवानी भट्ट भट्ट कान्तिपुरका कञ्चनपुर संवाददाता हुन् ।

Link copied successfully