अमरगढीको गुजरलेकका लालबहादुरलाई आर्थिक सहयोग

लालबहादुर नेपालीबारे ईकान्तिपुरको 'घरखर्च' स्तम्भमा प्रकाशित सामग्री पढेर बुटवल घर भई रोजगारीका सिलसिलामा अहिले ग्रीसमा रहेका अभिषेक नेपालीले पाँच हजार रुपैयाँ आर्थिक सहयोग गरेका हुन् ।

कार्तिक २९, २०८२

कान्तिपुर संवाददाता

Financial assistance to Lal Bahadur of Gujarlek, Amargadhi

डडेल्धुरा — अपांगता भएका तीन सन्तानसहित सात जनाको परिवार सामान्य सिलाइ व्यवसायबाट पालिरहेका अमरगढी नगरपालिका–३ गुजरलेकका लालबहादुर नेपालीलाई आर्थिक सहयोग जुटेको छ ।

कार्तिक १६ गते ‘दुःख र कष्टले जस्तै बुढ्यौलीमा सियो र धागोले पनि साथ छोडेको छैन’ भन्ने खबर ईकान्तिपुरको 'घरखर्च' स्तम्भमा प्रकाशित भएको थियो । 

उक्त खबर पढेर बुटवल घर भई रोजगारीका सिलसिलामा अहिले ग्रीसमा रहेका अभिषेक नेपालीले पाँच हजार रुपैयाँ आर्थिक सहयोग गरेका हुन् । समाचार पढेर थोरै भए पनि आर्थिक सहयोग गर्न मन लागेको उनले बताए । सात जनाको परिवारलाई अशक्त अवस्थामा पनि दुःख झेलेर पालिरहेको सुन्दा दुःख लागेर केही दिनका लागि भए पनि रासन खर्च पुगोस् भनेर सहयोग गरेको उनले बताए । 

सहयोग बुझ्दै नेपालीले 'टाढाबाट आफ्नो खबर कान्तिपुरमा पढेर सहयोग गरेकामा सहयोगदातालाई धन्यवाद' दिए । उनले प्राप्त सहयोगले खाद्यान्न सामग्री किन्ने बताएका छन् । 

अमरगढी नगरपालिका–३ गुजरलेकमा सामान्य सिलाई मेसिन चलाएर उनी आफ्नो परिवार पालिरहेका छन् । ६८ वर्षीय नेपाली आफैं पनि अशक्त छन् । 

कान्तिपुर

Link copied successfully