डडेल्धुराको भागेश्वरमा बन्यो सात करोडमा आधुनिक स्वास्थ्य चौकी भवन

बगरकोटस्थित पुरानो स्वास्थ्य चौकी भवन जीर्ण भई चुहिने अवस्थामा पुगेकाले सेवा सञ्चालनमा समस्या बढ्दै गएपछि पालिकाले जर्मन विकास बैंकको वैदेशिक ऋण अनुदानमा नयाँ भवन निर्माणको पहल गरेको हो ।

कार्तिक २५, २०८२

तर्कराज भट्ट

Modern health post building constructed in Bhageshwor, Dadeldhura at a cost of Rs 70 million

What you should know

डडेल्धुरा — भागेश्वर गाउँपालिका–४ बगरकोटमा सात करोड रुपैयाँ लागतमा अत्याधुनिक सुविधासहितको स्वास्थ्य चौकी भवन निर्माण सम्पन्न भएको छ । नयाँ भवन सञ्चालनमा आएपछि गाउँलेले नजिकैबाट गुणस्तरीय स्वास्थ्य सेवा पाउने अपेक्षा गरेका छन् ।

बगरकोटस्थित पुरानो स्वास्थ्य चौकी भवन जीर्ण भई चुहिने अवस्थामा पुगेकाले सेवा सञ्चालनमा समस्या बढ्दै गएको थियो । यही कारणले गाउँपालिकाले जर्मन विकास बैंकको वैदेशिक ऋण अनुदानमा नयाँ भवन निर्माणको पहल गरेको हो । 

धनगढीस्थित उच्चाकोटी निर्माण सेवा प्रालिले उक्त भवन निर्माणको जिम्मा पाएको थियो । भ्याटसहित कुल लागत ७ करोड १७ लाख रुपैयाँ रहेको यस योजनाको सम्झौता २०८० फागुन ७ गते गरिएको थियो । २०८२ साउन ४ गतेभित्र निर्माण सक्ने म्याद तोकिएको भए पनि केही प्राविधिक कठिनाइका कारण काम केही पछाडि परेको ठेकेदार कम्पनीले जनाएको छ । कम्पनीले अबको दुई साताभित्र आयोजनालाई भवन हस्तान्तरण गर्ने तयारी गरेको छ । त्यसपश्चात् आयोजनाले पालिकालाई भवन हस्तान्तरण गर्ने छ । 

भागेश्वर गाउँपालिकाका अध्यक्ष हेमराज चटौतका अनुसार नयाँ भवन सञ्चालनमा आएपछि बगरकोट र आसपासका बासिन्दाले स्वास्थ्य उपचारका लागि टाढा जानुपर्ने अवस्था अन्त्य हुनेछ । ‘यहाँ सम्भव भएसम्म एमबीबीएस चिकित्सकसहितको दक्ष जनशक्ति परिचालन गरी सेवा विस्तार गर्ने योजना बनाइरहेका छौं,’ उनले भने, ‘यसले भागेश्वर मात्र नभई छिमेकी पालिकाका जनतालाई समेत सेवा पुर्‍याउने अपेक्षा छ । ’

तर, उनले संघीय सरकारको खर्च कटौती नीतिका कारण स्थानीय तहका स्वास्थ्यकर्मी कटौती हुने अवस्था सिर्जना भएको भन्दै यसले ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवा प्रभावित पार्ने सम्भावना रहेको पनि बताए । शिक्षा, स्वास्थ्यजस्ता संवेदनशील क्षेत्रमा कर्मचारी अभाव गम्भीर समस्या बन्न सक्ने उनले उल्लेख गरे । गाउँपालिकाले स्वास्थ्य क्षेत्र सुदृढीकरणका लागि ग्रामीण क्षेत्र रूपालमा १० शय्याको अस्पताल निर्माणको कार्य पनि अगाडि बढाएको अध्यक्ष चटौतले बताए । 

भवन बनेसँगै स्वास्थ्य सेवा गुणस्तरीय र सहज हुनुपर्नेमा स्थानीयले जोड दिएका छन् । ‘विगतमा स्वास्थ्यकर्मी र औषधि अभावका कारण सामान्य उपचारका लागि पनि सदरमुकाम वा बाहिरी सहर धाउनुपर्ने बाध्यता रहँदै आएको छ । नयाँ भवनले त्यस बाध्यताको अन्त्य गर्ने आशा छ,’ बगरकोटका स्थानीय रमेशप्रसाद पन्त भने । उनले जनशक्ति अभावको समस्या यथावत् रहे गुणस्तरीय सेवा पाउन कठिन हुने पनि बताए ।

स्थानीय रेखा पन्तले ग्रामीण क्षेत्रमा महिला विशेषज्ञ चिकित्सकको आवश्यकता औंल्याउँदै महिला स्वास्थ्य समस्यामा विशेष ध्यान दिनुपर्ने धारणा व्यक्त गरिन् । उनले स्वास्थ्य चौकीमा महिला विशेषज्ञ चिकित्सक भए यहाँका महिलाले उपचारमा सहजता पाउने बताइन् । 

तर्कराज

Link copied successfully