अमरगढी–२ की मीरा खडायतका लागि यो समूह रोजगारीभन्दा बढी आत्मविश्वासको स्रोत बनेको छ । ‘पहिले घरायसी काममै सीमित थिएँ, अहिले आफ्नै आम्दानीले परिवार चलाउन सकेकी छु,’ उनले भनिन् ।
What you should know
डडेल्धुरा — डडेल्धुराको अमरगढी नगरपालिकाका महिलाहरू स्वरोजगारका माध्यमबाट आत्मनिर्भर बन्दै गइरहेका छन् । यहाँका महिलाले अमरगढी महिला समूहमा आबद्ध भएर होजियारीको काम थालेका हुन् ।
२०८१ सालमा स्थापना भएको समूहमा १० जना महिला सक्रिय छन् । उनीहरूले स्विटर, टोपी र गलबन्दी बुनाइमार्फत आम्दानी गरिरहेका छन् । जिल्लाका विभिन्न विद्यालयबाट स्कुल ड्रेसका स्विटरका अर्डर आउने क्रम बढ्दो छ । तर, उत्पादन क्षमता भने मागअनुसार पुग्न सकेको छैन ।
समूहले नगरपालिकाको अनुदानमा पाएको एक मात्र मेसिनबाट काम थालेको हो । अध्यक्ष गीताञ्जली साउदका अनुसार अर्डर धेरै आउँदा मेसिन कम भएकाले समयमै काम सम्पन्न गर्न कठिनाइ हुने गरेको छ । उनले धागोको आपूर्तिमा समेत समस्या भइरहेको बताइन् । ‘धनगढीबाट धागो ल्याउनुपर्ने हुन्छ, अहिले कम्पनीहरूबाट पाउन पनि गाह्रो भइसकेको छ,’ उनले भनिन्, ‘धागो अभावमा अर्डरको काम थाती छ ।’
अमरगढी–२ की मीरा खडायतका लागि यो समूह रोजगारीभन्दा बढी आत्मविश्वासको स्रोत बनेको छ । ‘पहिले घरायसी काममै सीमित थिएँ, अहिले आफ्नै आम्दानीले परिवार चलाउन सकेकी छु,’ उनले भनिन् । उनी आफूसँग भएको सीपको सदपयोग गरी आत्मनिर्भर बन्न सकिने बताउँछिन् ।
त्यस्तै, स्थानीय गीता भण्डारी आफ्नै किराना पसल चलाउँछिन् र खाली समयमा उद्योगमा पनि काम गर्छिन् । उनी भन्छिन्, ‘महिलाले आर्थिक रूपमा निर्भर बन्न व्यावसायिक रूपमा काम गर्नैपर्छ । जसले महिलालाई आत्मनिर्भर बनाउँछ ।’
नवदुर्गा गाउँपालिका–१ की खगेश्वरी धानुक पनि अहिले समूहको सक्रिय सदस्य बनेकी छन् । ‘पहिले घरबाहिर निस्कन पनि डर लाग्थ्यो, अब भने सीप पनि छ, अर्डर पनि आउँछ,’ उनले भनिन्, ‘सिकेको सीपको सदुपयोगले आर्थिक अवस्थामा सहायता पुगेको छ ।’
अमरगढी नगरपालिकाका सूचना अधिकारी मीनराज ओझाका अनुसार अमरगढी नगरपालिकाले महिलालाई सीपमूलक तालिम र उपकरण सहयोग गरेको छ । यस्ता समूहले स्वरोजगारका माध्यमबाट महिला सशक्तीकरणमा ठोस योगदान दिएको उनले बताए । उनका अनुसार व्यावसायिक रूपमा काम गर्न चाहनेहरूका लागि पालिकाले सहयोग गर्ने बताए ।
स्थानीय बजारमा हातले बनाइएका सामग्रीको माग बढ्दै जाँदा समूहका महिलाले आफ्नो उत्पादनलाई ब्रान्डका रूपमा विकास गर्ने योजना बनाएका छन् । तर, त्यसका लागि उनीहरूलाई प्रविधि, पुँजी र सामग्री आपूर्तिमा थप सहयोग आवश्यक देखिएको छ ।
