पुर्ख्यौली पेशाबाट गुजारा चलाउनै गाह्रो

अहिले मादल र दमाहाको विगतजस्तो माग नै छैन । उनले बनाएका सामान थन्किएर बसेका छन्। पुर्ख्यौलीरुपमा उनको परिवारले गर्दै आएको यो काम गरेर उनलाई गुजारा गर्नै मुस्किल हुन थालेको छ।

कार्तिक २२, २०८२

भवानी भट्ट

It is difficult to make a living from one's ancestral profession.

What you should know

कञ्चनपुर — दोधारा चाँदनी नगरपालिका–३ बडुवाल टोलका रेशम वादीलाई कुनै समय मादल र दमाहा बनाउन भ्याइनभ्याइ हुन्थ्यो । आफैं गाउँ–गाउँ डुलेर बिक्री गर्थे । घरमै पनि किन्नका लागि आउने गर्थे । त्यसैबाट उनको घर–परिवारको खर्च राम्रै चल्थ्यो ।

तर अहिले मादल र दमाहाको विगतजस्तो माग नै छैन । उनले बनाएका सामान थन्किएर बसेका छन्। पुर्ख्यौलीरुपमा उनको परिवारले गर्दै आएको यो काम गरेर उनलाई गुजारा गर्नै मुस्किल हुन थालेको छ।

'हाम्रो पुर्ख्यौली पेशा यही हो, तर अहिले यसैबाट गुजारा चलाउन सकिँदैन,' वादीले भने, 'बुवा–बाजेले यसैबाट परिवार पाले, हाम्रो पालामा गाह्रो हुन थाल्यो ।' होली र तिहारका बेला मादलको माग निकै बढी हुन्थ्यो । त्यसका लागि रेशमको परिवार पूरै दुई–तीन महिनादेखि नै मादल बनाउनमै व्यस्त हुन्थ्यो । तर अहिले त्यस्तो माग छैन ।

रेशमको नौ जनाको परिवार छ । उनका छोराहरू कामको खोजीमा भारततिर पसेका छन् । श्रीमती सीतादेवी र रेशम दुवै अहिले पनि मादल र दमाहा बनाउनमै जुटेका छन् । त्यसका लागि चाहिने छालादेखि अन्य सामग्री जुटाउनेदेखि घरमै दुवै जना मिलेर मादल र दमाहा बनाउँछन् ।

'अहिले जुत्ता–चप्पल सिउने काम पनि गर्न थालेको छु,' रेशमले भने, 'त्यसबाट नुन–तेलको खर्च चलेको छ ।' जमिनका नाममा घरेडी मात्रै छ । खाद्यान्नदेखि नुन, तेल, साग–तरकारी सबै किनेरै खानुपर्छ । त्यसैले उनका छोराहरू पुर्ख्यौली पेशा छाडेर भारततिर पसेका हुन् । 

'अब हाम्रो पुर्ख्यौली पेशाबाटै गुजारा होला जस्तो छैन,' दोधारा चाँदनी नगरपालिका–३ बडुवाल टोलकै वीरभान वादीले भने, 'अरू काम गर्न सीप छैन, खेतीपाती गर्न जमिन पनि छैन, गुजारा गर्नै गाह्रो हुन थाल्यो।'

दोधारा चाँदनीमा चार परिवार वादीको बसोबास छ । चारै परिवारका युवाहरू सबै कामको खोजीमा भारत पसेका छन् । उनीहरू सानैमा स्कुल छाडेर भारत पसेका हुन् । 'पढाउन सकिने अवस्था छैन, खान–लाउनै समस्या छ,' वीरभानले भने, 'दुई–चार कक्षासम्म पढ्यो, त्यसपछि काम खोज्दै भारत जान्छन् ।'

वीरभानका अनुसार, कतिपय परिवारसहित भारत गएका छन् । उनीहरू चाँडपर्वका बेला मात्रै फर्किन्छन् । वादी परिवारलाई अहिले विभिन्न किसिमका सीपमूलक तालिम तथा आय–आर्जनका लागि सहयोग गर्नुपर्ने रेशम वादी बताउँछन् ।

भवानी भट्ट कान्तिपुरका कञ्चनपुर संवाददाता हुन् ।

Link copied successfully