बझाङमा मदिरा नियन्त्रणमा तीन दशकको संघर्ष, पालिकाको कानुनले बल्ल पायो सार्थकता

सामाजिक जीवन नै अस्तव्यस्त हुने गरीे कारोबार बढेपछि २०५४ सालमा तत्कालीन जिल्ला विकास समितिले बझाङलाई मदिरा निषेधित क्षेत्र (ड्राई एरिया) घोषणा गरेको थियो ।

कार्तिक २१, २०८२

वसन्तप्रताप सिंह

After three decades of struggle to control alcohol in Bajhang, the municipal law finally gained significance

What you should know

बझाङ — गत वैशाखमा बसेको सर्वपक्षीय बैठकले जेठ १० बाट लागू हुने गरी बझाङमा अवैध रुपमा उत्पादित घरेलु मदिरा र न्यून गुणस्तरको मदिरा बिक्री वितरणमा रोक लगाउने निर्णय गर्‍यो ।

न्यून गुणस्तरको मदिराका कारण जिल्लाको शान्ति सुरक्षा मात्रै नभई जनस्वास्थ्यमा समेत प्रतिकूल असर परेको भन्दै प्रतिबन्ध लगाउने निर्णय भएको थियो । निर्णय कार्यान्वयनका क्रममा जिल्ला प्रशासन कार्यालयले जिल्लाका विभिन्न बजारबाट प्लास्टिकका बोतल र थैलीमा प्याकिङ भएको र अवैध घरेलु मदिरा जफत गर्न थाल्यो । तर जिल्ला समन्वय समिति बझाङका प्रमुखको अध्यक्षतामा बझाङका १२ वटै पालिकाका प्रमुख, उपप्रमुख, राजनीतिक दलका प्रतिनिधि, जिल्लास्थित सुरक्षा निकायका प्रमुख, उद्योग वाणिज्य संघ, होटल व्यवसायी संघ समेतको उपस्थितिमा गरेको यो निर्णयको कार्यान्वयन सुरु भएको एक महिना नपुग्दै अदालतले रोकिदियो । 

असार १६ गते बझाङका एक व्यापारीले उक्त निर्णयविरुद्ध दिएको रिटमा असार १७ गते नै उच्च अदालत दिपायलले उत्प्रेषणयुक्त परमादेश जारी गर्दै निर्णय कार्यान्वयन नगर्न निर्देशन दियो । न्यायाधीशद्वय दण्डपाणि शर्मा र अस्मिनकुमार राईको संयुक्त इजलासको उक्त आदेश दिएपछि न्यून गुणस्तरको मदिरा प्रतिबन्ध गर्ने सर्वदलीय, सर्वपक्षीय निर्णय कार्यान्वयन हुनबाट रोकियो । 

सेवनकर्तालाई छिट्टै उत्तेजित बनाउने खालको उक्त मदिरा फेरि गाउँगाउँसम्म पुग्न थाल्यो । न्यून आय भएका तर मदिराको लतमा फसेका सेवनकर्ताले दैनिक रुपमा खाने यस्तो मदिराले एकातिर स्वास्थ्यमा असर परिरहेको र अर्कोतर्फ घरेलु हिंसा र जघन्य अपराधमा समेत वृद्धि भइरहेको अवस्थामा पालिकाहरु नै अग्रसर भएपछि अहिले भने न्यून गुणस्तरको मदिरा बिक्री बन्द भएको छ ।

बझाङका वित्थडचिर, थलारा, खप्तडछान्ना गाउँपालिका र बुंगल नगरपालिकाले कानुन नै बनाएपछि बझाङ भित्रिने न्यून गुणस्तरको मदिरा बन्द भएको हो । 

गत भदौ ८ र ९ को जिल्लासभाले निर्णय नै गरेर जिल्लाका सम्पूर्ण पालिकालाई कानुन बनाएर जनस्वास्थ्यमा हानि पुर्‍याउने खालको मदिरा नियन्त्रण गर्न निर्देशन दिएको थियो । पालिकालाई कानुन बनाउने काममा जिल्ला प्रशासन कार्यालयलगायत निकायले समेत सहयोग र समन्वय गरेका थिए । ‘बझाङ आएपछि यहाँको शान्ति सुरक्षा र सार्वजनिक सेवा प्रवाहलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भनेर विभिन्न क्षेत्रका स्थानीयसँग छलफल गर्‍यौं,' प्रमुख जिल्ला अधिकारी कैलाशबहादुर ठकुराठीले भने, ‘सबै ठाउँबाट न्यून गुणस्तरको मदिरा नै हिंसा, अपराध, सामाजिक विकृतिको जड भएको कुरा आयो । यसलाई बन्द गर्न कोसिस गर्दा अदालतले रोकिदियो ।' 

अहिले स्थानीय सरकार सञ्चालन ऐनअनुसार पालिकाहरुले कानुन नै बनाएर कार्यान्वयन गरेपछि प्लास्टिक प्याकमा आउने मदिरा पूर्ण रुपमा बन्द भएको उनको भनाइ छ । ‘कानुन तर्जुमा गर्ने क्रममा हामीले पनि केही पालिकालाई प्राविधिक सहयोग र समन्वय गरेका थियौं । अहिले कार्यान्वयनमा सहयोग गरिरहेका छौं,' उनले भने ।

प्लास्टिक प्याकमा बिक्री हुने मदिरा सस्तो मूल्यमा उपलब्ध हुने भएकाले धेरैले सेवन गर्ने गरेको र त्यसकै कारण कतिपयले अल्पायुमै ज्यानसमेत गुमाउनुपरेको बित्थडचिर गाउँपालिकाका वडाध्यक्ष हरिश खड्का बताउँछन् । 'सबैभन्दा पहिला मदिरा बिक्री वितरण, व्यवस्थापन तथा नियमन निर्देशिका बनाई लागू गरियो,' उनले भने, 'यही मदिराका कारण घरघरमा झगडा हुने, गाउँमा समेत विभिन्न अपराध बढेका थिए । अहिले त्यस्ता घटनामा धेरै कमी आएको छ ।' वडा कार्यालयमा आउने झैझगडाका घटना पनि पहिलाभन्दा धेरै घटेको उनले बताए । 

अपराध र हिंसाको जड 

सस्तो र गुणस्तरहीन मदिरा सजिलै उपलब्ध हुने भएकाले गाउँगाउँमा बालबालिका, युवा र वृद्धसमेत यसको लतमा फसेका छन् । मदिराकै कारण जिल्लामा विभिन्न अपराधको संख्या पनि बढिरहेको प्रहरीको तथ्यांकले देखाउँछ ।

After three decades of struggle to control alcohol in Bajhang, the municipal law finally gained significance

गत आर्थिक वर्ष श्रीमान्‌ले मदिरा सेवन गरी कुटपिट गर्दा एक जना महिलाको ज्यान गएको थियो । त्यही वर्ष १३ वटा बलात्कारका घटना भएको जिल्ला प्रहरी कार्यालयको रेकर्ड छ । महिलामाथि हुने विभिन्न हिंसाका ७८ वटा घटना जिल्ला प्रहरी कार्यालयमा दर्ता भएका थिए । तीमध्ये अधिकांश घटनाका पछाडि रक्सी नै कारण हुने गरेको प्रहरीको भनाइ छ । 

जिल्ला प्रहरी कार्यालयको तथ्याकंअनुसार विगत तीन वर्षमा बझाङमा ३९ वटा बलात्कारका घटना भएका छन् भने १९ वटा बलात्कार प्रयासका घटना दर्ता भएका छन । ४३ जना महिलाले झुन्डिएर आत्महत्या गरेको र तीन जनाले विष सेवन गरेर आत्महत्या गरेका छन । यही अवधिमा कुटपिट गरेको, शारीरिक तथा मानसिक यातना दिएको जस्ता ४ सय ५८ वटा घरेलु तथा महिला हिंसासम्बन्धी उजुरी प्रहरीमा दर्ता भएका छन् ।  

‘घरेलु हिंसा र महिला हिंसाका जति पनि केस आउँछन्, त्यसमा कतै न कतै रक्सी जोडिएकै हुन्छ,' जिल्ला प्रहरी कार्यालयको महिला तथा बालबालिका इकाइकी एक कर्मचारी कपुर खत्री भन्छिन्, ‘मदिरा मात्रै नहुने हो भने यस्ता घटना धेरै नै कम हुन्छन् जस्तो लाग्छ ।' दैनिकजसो पुरुषले मदिरा सेवन गरेर कुटपिट र हिंसा भएको उजुरी लिएर महिला आउने गरेको उनले बताइन् ।

‘हत्या, बलात्कार, सम्बन्ध विच्छेददेखि दैनिक हुने गरेका कुटपिटका घटनाका पछाडिको कारण अधिकांशमा मदिरा नै देखिन्छ,' जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख डीएसपी खगेन्द्र धमला भन्छन्, ‘श्रीमान् जँड्याहा भएको र दिनदिनै हिंसा गर्ने भएकै कारण कतिपय महिला आत्महत्या गर्ने अवस्थासम्म पनि पुगेका छन् ।'

बझाङमा मदिराजन्य विकृतिको रुप विकराल बन्दै गएकोतर्फ इंगित गर्दै उनले भने, ‘मदिराकै कारण, आर्थिक सामाजिक, मनोवैज्ञाानिक रुपले पनि महिला र बालबालिकामा हिंसा बढ्दै गएको पाइएको छ । जसलाई अभिलेखमा देखाउन सकिने अवस्था छैन । यो भावी पुस्ताका लागि समेत खतरनाक हुन सक्ने संकेत हो ।’

मदिरा सेवनकै ग्रामीण क्षेत्रमा सयौं महिला हिंसा भोग्न बाध्य रहेको महिला अधिकारकर्मी बताउँछन् । ममता सिंह भन्छिन्, ‘रक्सीका कारण जति घटना हुन्छन्, त्यसको १० प्रतिशत पनि प्रहरी वा महिला अधिकारकर्मीसम्म पुग्दैनन । घरबार बिग्रने डरले धेरैजसो पीडित महिलाले यस्ता घटना बाहिर ल्याउँदैनन् । बाहिर आएका घटना पनि गाउँमै मिल्ने गर्छन् । प्रहरीमा आउने भनेको गाउँमा मिल्न नसकेको घटना मात्र हुन् ।'

मदिरा नियन्त्रणमा बझाङको इतिहास

बझाङमा मदिराका कारण सामजिक जीवन नै अस्तव्यस्त हुने गरीे कारोबार बढेपछि २०५४ सालमा तत्कालीन जिल्ला विकास समितिले बझाङलाई मदिरा निषेधित क्षेत्र (ड्राई एरिया) घोषणा गरेको थियो । खुला रुपमा बिक्री वितरण र सेवन गर्न नपाइने भएकाले अहिलेको तुलनामा मदिराका कारण हुने विकृति निकै कम भएका थिए । 

२०६३ सालमा दोस्रो जनआन्दोलन सफल भयो । सात दलको प्रत्यक्ष र तत्कालीन विद्रोही माओवादीको अप्रत्यक्ष सहभागितामा आन्दोलन सफल भएसँगै सर्वदलीय संयन्त्रमार्फत शासन सञ्चालन हुने शैलीको विकास भयो । २०६३ जेठमा बसेको सर्वदलीय सर्वपक्षीय बैठकले व्यापारीहरुको दबाबमा २०५४ सालमा जिल्ला विकास समितिले गरेको निर्णयलाई उल्ट्याउँदै बझाङमा मदिरा सेवन र बिक्री वितरणलाई पुन: खुला गरियो । 

त्यसबेला यहाँ सडक यातायातको पहुँच नपुगेका कारण व्यापारीहरुले हवाईजहाज चार्टर गरेर बझाङमा मदिरा भित्र्याउन थाले । दैनिकजसो मदिरा बोकेका २/३ वटा निजी विमान सेवाका विमान बझाङ विमानस्थलमा अवतरण हुन्थे । घरेलु मदिरा अवैध भनिए पनि नियन्त्रणको अवस्था निकै खुकुलो भएका कारण जताततै उत्पादन सुरु थाल्यो । २०६३/६४ मा मात्र बझाङमा १५ करोडभन्दा बढीको ब्रान्डेड मदिरा जहाजमार्फत भित्रिएको तत्कालीन बझाङ उद्योग वाणिज्य संघका अध्यक्ष ओमजंगबहादुर सिंह बताउँछन् । 

मदिरा खुला भएसँगै यसले सामाजिक विकृतिको रुप लिन थाल्यो । घरेलु हिंसादेखि हत्या, बलात्कार जस्ता जघन्य अपराधका घटना अप्रत्यासित बढ्न थाले । सबै घटनाका पछाडि कुनै न कुनै रुपमा मदिरा जोडिन थाल्यो । २०६४ सालयता मदिरा सेवन गरेकै कारण प्रतिवर्ष ५ देखि १० जना मानिसको भीरबाट लडेर मृत्यु हुने गरेको प्रहरी तथ्यांक छ । 

मदिराका कारण सामाजिक जनजीवनमा नै गम्भीर असर देखिन थालेपछि बझाङका महिला र नागरिक समाजले मदिरा बिक्रीवितरणमा रोक लगाउनुपर्ने आवाज उठाए । कैयौंपटक सडकमा नारा जुलस र धर्नासमेत गरे । महिला र नागरिक समाजको व्यापक दबाबपछि २०६९ सालमा भएको जिल्ला परिषद्‌ले मदिरा प्रतिबन्ध लगाउने निर्णय नै गर्‍यो । तर कार्यान्वयन हुन सकेन ।

अर्को वर्ष २०७० सालमा पनि महिलाहरुको व्यापक दबाबपछि जिल्ला परिषद्ले मदिरा प्रतिबन्ध गर्ने अघिल्लो परिषद्को निर्णय कार्यान्वयन गर्ने निर्णय गरेको थियो । यद्यपि यो निर्णय पनि कार्यान्वयन भएन । २०७४ सालमा जिल्लासभाले गरेको मदिरा प्रतिबन्ध गर्ने निर्णय अदालतले उल्ट्यायो । 

पछिल्लोपटक गुणस्तरहीन मदिरा बन्द गर्ने प्रयासमा पनि अदालतले चुनौती दिएपछि पालिकाले कानुन बनाएर मदिरा व्यवस्थापन गर्न खोजिरहेका छन् । यद्यपि यो कानुनको पूर्ण रूपमा कार्यान्वयन हुनेमा पनि विभिन्न चुनौती रहेको स्थानीयहरु बताउँछन् ।

वसन्तप्रताप सिंह सिंह कान्तिपुरका बझाङ संवाददाता हुन् ।

Link copied successfully