सुदूरपश्चिममा जनार्दनतिर माओवादीका ६ जना केन्द्रीय सदस्य

केन्द्र तहका नेताहरू राम कार्की, सुदन किराँती, अन्जना विशंखेलगायत नेताहरू जनार्दन पक्षमै छन् ।

कार्तिक २०, २०८२

अर्जुन शाह

6 Maoist central members in the far west towards Janardan

धनगढी — नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीलगायत दलहरू एकीकरण भएर नेपाली कम्युनिस्ट पार्टी गठन गरे पनि माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा भने अलग रहे ।

केन्द्र तहका नेताहरू राम कार्की, सुदन किराँती, अन्जना विशंखेलगायत नेताहरू जनार्दन पक्षमै छन् । यता सुदूरपश्चिममा समेत केन्द्रीय सदस्यहरू ओमप्रकाश पुन, भगत बडूवाल, दीपक साउँद, टेकेन्द्र भट्ट, विमला सिंह, हेमराज भट्टराई (श्रवण) लगायत नेताहरू एकता प्रक्रियामा सहभागी नभएको केन्द्रीय सदस्य ओमप्रकाश पुनले बताए । 

नेता ओमप्रकाश पुनले नाम मात्रको एकता अर्थ नभएको बताए । ‘प्रचण्डले परिवर्तित सन्दर्भको एकता नगरेर आफूमाथिको संकट टार्ने मेसो मिलाए,’ पुनले भने, ‘देशमा बदलिएको अवस्थालाई समेत ख्याल नगरेर उहाँले घुमिफिरी नेतृत्वमा रहिरहने चाल मात्रै चाल्नु भयो ।’  

नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, नेपाल समाजवादी पार्टी, विप्लवबाट अलग भएको नेकपा, नेकपा समाजवादी, नेकपा माओवादी समाजवादी, नेकपा साम्यवादीसहित विभिन्न पार्टी र समूहले बुधबार एकता घोषणा गरेका हुन् । 

अर्जुन शाह कान्तिपुरका सुदूरपश्चिम प्रदेशका संवाददाता हुन् ।

Link copied successfully