समयमै सूचना नदिएको र गाउँपालिकाले आफ्ना माग सम्बोधन नगरेको भन्दै भदौ २४ गते गाउँपालिकाको कार्यालयमा स्थानीय जेन–जी र जेन–वाइ समूहले तालाबन्दी गरेका थिए।
बैतडी — स्थानीय जेन–जी र जेन–वाइ समूहले गरेको तालाबन्दीका कारण बैतडीको सुर्नया गाउँपालिकामा विगत तीन साता देखि सेवा ठप्प छ। २४ दिन तालाबन्दीको अवस्था भएपनि अझैसम्म गाउँपालिका र आन्दोलनरत पक्षबीच सहमति हुन सकेको छैन।
लामो समयसम्म सेवा ठप्प हुँदा सेवाग्राहीलाई मर्का परेको छ। समयमै सूचना नदिएको र गाउँपालिकाले आफ्ना माग सम्बोधन नगरेको भन्दै भदौ २४ गते गाउँपालिकाको कार्यालयमा स्थानीय जेन–जी र जेन–वाइ समूहले तालाबन्दी गरेका थिए।
तालाबन्दी गरेको समूहसँग अन्य विषयमा सहमति भए पनि गाउँपालिकाले भर्ना गरेका करारका कर्मचारी हटाउने विषयमा सहमति नहुँदा गाउँपालिकामा गरिएको तालाबन्दी खुल्न नसकेको गाउँपालिका अध्यक्ष अमर कुँवरले बताए ।
‘जेन–जी समूहले संघीय सरकारले भने अनुसार करारका कर्मचारी तत्काल हुनु पर्ने अडान राखेका छन्,’ उनले भने, ‘यो विषयमा हाम्रो कार्यपालिकामा दुई पक्ष देखिएकाले सहमती जुट्न सकेको छैन ।’ कार्यपालिकाका आधा सदस्यले जेन–जी र जेन–वाइले भने अनुसार करारका कर्मचारी हटाइनु पर्ने बताएका छन् भने आधा सदस्य नहटाउने पक्षमा देखिएका छन्।
आफूले माग गरेका कुनै पनि विषयमा सहमति नभएको र अध्यक्षले सहमति भएर करारका कर्मचारीको विषयमा मात्र सहमति हुन बाँकी छ भनेर झूटो प्रचार गरेको जेन–जी र जेन–वाइ समूहका संयोजक विशाल भट्टले बताए । ‘हामीले राखेका मागप्रति पालिकाका जनप्रतिनिधिहरू एकमत छैनन्,’ उनले भने, ‘समग्र सुर्नयाको भ्रष्टाचार नियन्त्रण र शुसासनका लागि अब तालाबन्दीले मात्र नभई आन्दोलनको स्वरूप बदल्ने तयारीमा छौं ।’
आफूले कुनै जनप्रतिनिधि वा राजनीतिक दलको फाइदाका लागि नभई समग्र सुर्नयाको भ्रष्टाचार नियन्त्रण र शुसासनका लागि लागिरहेको उनले बताए । अर्का स्थानीय तहले योजना निर्माणको सम्झौताका लागि सूचना जारी गरे पनि सुर्नयामा जनप्रतिनिधिहरूबीचको आन्तरिक कलहले वडाबाट योजना सम्म पनि बाँडफाँड गर्न सकेको छैन ।
