खाद्य तथा व्यापार कम्पनीले ढिलो गरी धान खरिद गर्दा कृषक सस्तोमा गाउँघरमै बिक्री गर्न बाध्य भएका छन् ।
कञ्चनपुर — खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले ढिलो गरी धान खरिद सुरु गरेको छ । अधिकांश कृषकले सस्तोमा धान बिक्री गरिसकेपछि खाद्यले महेन्द्रनगरमा आइतबारदेखि धान खरिद थालेको हो ।
‘धेरैले त गाउँ घरमै सस्तोमा धान बिक्री गरिसके, हामीले पनि अलि अलि बेच्यौं,’ भीमदत्त नगरपालिका–६ बनगाउँका कर्णसिंह मंगोलाले भने, ‘ढिलै भए पनि खाद्यले खरिद गर्न सुरु गरेको छ, बजार भन्दा राम्रो भाउ पाइन्छ भनेर यहाँ ल्याएका छौं ।’
उनका अनुसार गाउँमा किसानले प्रतिक्विण्टल २ हजार ४ सयदेखि २ हजार ६ सयसम्म बिक्री गरिरहेका छन् । खाद्यले धान खरिद गर्ने सूचना पाएपछि आइतबार बिहानैदेखि कृषकहरु अटो, ट्रयाक्टरलगायतका साधनमा ढुवानी गरेर बिहानै पुगेका थिए । धान बित्रीका लागि टोकन लिन पनि कृषकहरु कार्यालयमा आउन थालेका छन् ।
१० क्विण्टलसम्म धान बिक्रीका लागि जग्गाधनीपूर्जा र नागरिकता मागेको छ भने १० क्विण्टल भन्दा बढीका लागि वडा कार्यालयको सिफारिस मागेको छ । यसले कृषकहरुलाई केही झन्झट भने भएको छ । खाद्यले यसवर्ष महेन्द्रनगरमा ५ हजार क्विन्टल धान खरिदको कोटा पाएको छ । प्रतिक्विन्टल मोटो धान ३ हजार ४ सय ६३ र मध्यम ३ हजार ६ सय ८८ मा खरिद गरिरहेको छ ।
कृषकको चाप बढेमा कोटा थप्नका लागि केन्द्रमा आग्रह गरिने खाद्यको महेन्द्रनगरस्थित कार्यालयका प्रमुख महिकरण महराले बताए । ‘गत वर्ष थोरै मात्र धान खरिद भएका कारण यस वर्ष कोटा घटाइएको छ,’ उनले भने, ‘धान बढी आएमा कोटा बढाउन केन्द्रमा आग्रह गरिनेछ ।’
गत वर्ष खाद्यले कञ्चनपुरमा १५ हजार क्विन्टल धान खरिद गर्ने कोटा पाएको थियो । तर ३ हजार ३ सय क्विण्टल मात्रै खरिद भएको थियो । गत वर्ष महेन्द्रनगरसँगै शुक्लाफाँटा, बेलौरी नगरपालिकामा पनि खरिद केन्द्र राखिएको थियो । यसपटक पनि बेलौरी, पुनर्वास र दोधारा चाँदनी नगरपालिकामा खरिद केन्द्र सञ्चालनका लागि कर्मचारी थप माग गरेको कार्यालय प्रमुख महराले बताए । उनले कर्मचारी थपिए तत्काल खरिद सुरु गरिने बताए ।
कञ्चनपुरमा करिब ५० हजार हेक्टरमा धान खेती गरिन्छ । यहाँ धानको उत्पादकत्व प्रति हेक्टर ४ मेट्रिक टन रहेको छ । असार मध्यसम्म रोपाँई सकिने भएकाले धान भित्र्याउने काम पनि चाँडो सकिन्छ । तर खाद्यले ढिलो खरिद गर्दा कृषक सस्तोमा गाउँघरमै बिक्री गर्न बाध्य हुन्छन् । खाद्यले पनि कोटा अनुसार खरिद गर्न सक्दैन । समयमै खरिद सुरु गरेमा खाद्यले पनि कोटा पूरा गर्न सक्ने र किसानले पनि उचित मूल्य पाउने अवस्था आउने कृषकहरु बताउँछन् ।
