उग्रतारामा देहीजाँतकाे तयारी

सदियाँदेखि पूजाआजा हुँदै आएको यो मन्दिर सुदूरपश्चिमका नौ भगवतीमध्येको एक शक्तिपीठका रूपमा चिनिन्छ । यहाँ कात्तिक शुक्ल पूर्णिमामा लाग्ने ‘देहीजाँत’ मेला धार्मिक र सांस्कृतिक दृष्टिले प्रदेशकै ठूलो मेलाको रूपमा मानिन्छ।

कार्तिक १७, २०८२

तर्कराज भट्ट

Preparations for the Dehijant festival in Ugra Tara

डडेल्धुरा — डडेल्धुराको अमरगढी नगरपालिका–८ मा पर्ने उग्रतारा भगवतीको मन्दिर सुदूरपश्चिमको सबैभन्दा प्रतिष्ठित धार्मिक स्थलमध्ये एक हो ।

हरेक वर्ष कात्तिक शुक्ल चतुर्दशीको रात ‘रतेडी–मेला’ र अर्को दिन पूर्णिमामा ‘दिउँसेडी–मेला’ लाग्ने यस मन्दिरमा यस वर्ष यही कात्तिक १८ गते राति रतेडी र १९ गते दिउँसेडी मेला लाग्दैछ । स्थानीयस्तरमा देहीजाँतका नामले चिनिने यो मेला सुदूरपश्चिम प्रदेशकै प्रशिद्ध मेला हो ।

सदरमुकामबाट करिब पाँच किलोमिटर टाढा डडेल्धुरा–बैतडी जोड्ने महाकाली राजमार्ग सँगैको फाँटमा अवस्थित यो मन्दिर श्रद्धा, विश्वास र परम्पराको प्रतीक मानिन्छ । सदियाँदेखि पूजाआजा हुँदै आएको यो मन्दिर सुदूरपश्चिमका नौ भगवतीमध्येको एक शक्तिपीठका रूपमा चिनिन्छ । यहाँ कात्तिक शुक्ल पूर्णिमामा लाग्ने ‘देहीजात’ मेला धार्मिक र सांस्कृतिक दृष्टिले प्रदेशकै ठूलो मेलाको रूपमा मानिन्छ।

Preparations for the Dehijant festival in Ugra Tara

किंवदन्ती अनुसार शताब्दिऔं अगाडी उग्रतारा भगवती रहेको स्थान नजिक स्थानीय लटाउली गाउँमा साँकी जातीको बसोबास रहेको थियो । हाल रहेको उग्रतारा भगवती मन्दिरको वरपर तिनै लटाउलीका साँकी जातीहरूले खेतीपाती गर्दथे । एक दिन तिनै साँकी जातिका एक जना किसान हलो जोतिरहेको अवस्थामा हलोको फाली शिलामा ठोकिएर शिलाबाट निरन्तर रगत बग्यो । रगत बगिरहेको अवस्थामा ती साँकीले रगत रोक्न अनेक प्रयत्न गर्दा पनि रोकिएन । 

रगतको खोला नै बग्न थालेपछि ति किसानले आफूले खानका लागि लगेको खिचडीले उक्त रगत बग्न लागेको शिलामा टाल्दा रगत बग्न रोकियो । त्यसपछि त्यस शिलालाई सुरक्षित गरी मन्दिर निर्माण गरिएको किंवदन्ती छ ।

लटाउली गाउँका ६५ वर्षीय हर्कबहादुर साँकीले उग्रतारा देवीको उत्पति भएको इतिहास सुनाउँदै राजा नागी मल्लको पालादेखी नै यहाँ पूजा आजा हुन थालेको बताए । ११ पुस्ता अघिबाट यहाँ साँकी जातीले पूजा गर्दै आएको उनको भनाइ छ । उनले आफूहरुको पुर्खा पहिला ‘भण्डारी’ थरका भए पनि पछि राजा नागी मल्लले साँकी थर राखिदिएको इतिहास रहेको सुनाए । उनी भन्छन्, ‘राजाले यहाँ शंख र घण्ट बजेको सुनेर ‘साँक’ भन्ने शब्दबाट साँकी नामकरण गर्नुभएको हो।’

उग्रतारा मेला कात्तिक शुक्ल चतुर्दशीको रात ‘रतेडी’बाट सुरू हुन्छ र दोस्रो दिन पूर्णिमामा ‘दिउँसेडी’ सम्म चल्छ । खनमडा, छचोडा, दुमडा र जिलोडा गाउँबाट डोलीसहित ‘देउरो’ आउने परम्परा शताब्दीयौँदेखि जीवित छ । बिहान चार बजेदेखि दमाहा, शंख, घण्टा, रूइसिङ, विकुल र भोकरसँगै देवीको डोली मन्दिरमा आइपुग्दा पूजा प्रारम्भ हुन्छ । दिउँसो उग्रतारा देवीको ‘गाँज’ मन्दिर वरपर घुमाइन्छ ।

सुदूरपश्चिम प्रदेशकै प्रसिद्ध देहिजातको रूपमा मानिने उग्रतारा भगवती मेलामा सुदूरपश्चिम, कर्णाली तथा छिमेकी देश भारतबाट समेत हरेक वर्ष लाखौँको संख्यामा श्रद्धालु भक्तजनहरू आउँछन् । भारतको कुमाउँ–गढवाल क्षेत्रबाट समेत श्रद्धालु र व्यापारी आउँछन् । स्थानीयका लागि यो मेला धार्मिकभन्दा पनि सामाजिक र आर्थिक अवसरको रूपमा रहन्छ । 

डकलेका स्थानीय पदमबहादुर दमाई भन्छन्, ‘माता उग्रतारा हाम्रो आस्थाको केन्द्र हो । मेला आउँदा टाढाटाढाका आफन्त भेटिन्छन्, गाउँबीच भाईचारा बढ्छ ।’

मेलामा स्थानीय उत्पादन भमिरो, तिल, बदाम, बेसार, अदुवा, मह, चुक, सुन्तला, मौसमी, केरालगायतका वस्तु बिक्री हुन्छन् । भारतका व्यापारीहरू मिठाई र पकवानका परिकार ल्याएर बेच्ने गर्छन् ।

मन्दिरका मुख्य धामी तेजबहादुर साँकीका अनुसार घरमा अशान्ति भए, जीवनमा असफलता आए वा सन्तान प्राप्तिको कामना राख्नेहरू यहाँ भाकल गर्न आउँछन् । उनका अनुसार उग्रतारा देवीको दर्शन गर्नुअघि भक्तजनले कम्तीमा एक दिन लसुन, प्याज, माछामासु नखाई चोखो बस्नुपर्छ ।

तर्कराज भट्ट

Link copied successfully