सदियाँदेखि पूजाआजा हुँदै आएको यो मन्दिर सुदूरपश्चिमका नौ भगवतीमध्येको एक शक्तिपीठका रूपमा चिनिन्छ । यहाँ कात्तिक शुक्ल पूर्णिमामा लाग्ने ‘देहीजाँत’ मेला धार्मिक र सांस्कृतिक दृष्टिले प्रदेशकै ठूलो मेलाको रूपमा मानिन्छ।
डडेल्धुरा — डडेल्धुराको अमरगढी नगरपालिका–८ मा पर्ने उग्रतारा भगवतीको मन्दिर सुदूरपश्चिमको सबैभन्दा प्रतिष्ठित धार्मिक स्थलमध्ये एक हो ।
हरेक वर्ष कात्तिक शुक्ल चतुर्दशीको रात ‘रतेडी–मेला’ र अर्को दिन पूर्णिमामा ‘दिउँसेडी–मेला’ लाग्ने यस मन्दिरमा यस वर्ष यही कात्तिक १८ गते राति रतेडी र १९ गते दिउँसेडी मेला लाग्दैछ । स्थानीयस्तरमा देहीजाँतका नामले चिनिने यो मेला सुदूरपश्चिम प्रदेशकै प्रशिद्ध मेला हो ।
सदरमुकामबाट करिब पाँच किलोमिटर टाढा डडेल्धुरा–बैतडी जोड्ने महाकाली राजमार्ग सँगैको फाँटमा अवस्थित यो मन्दिर श्रद्धा, विश्वास र परम्पराको प्रतीक मानिन्छ । सदियाँदेखि पूजाआजा हुँदै आएको यो मन्दिर सुदूरपश्चिमका नौ भगवतीमध्येको एक शक्तिपीठका रूपमा चिनिन्छ । यहाँ कात्तिक शुक्ल पूर्णिमामा लाग्ने ‘देहीजात’ मेला धार्मिक र सांस्कृतिक दृष्टिले प्रदेशकै ठूलो मेलाको रूपमा मानिन्छ।
किंवदन्ती अनुसार शताब्दिऔं अगाडी उग्रतारा भगवती रहेको स्थान नजिक स्थानीय लटाउली गाउँमा साँकी जातीको बसोबास रहेको थियो । हाल रहेको उग्रतारा भगवती मन्दिरको वरपर तिनै लटाउलीका साँकी जातीहरूले खेतीपाती गर्दथे । एक दिन तिनै साँकी जातिका एक जना किसान हलो जोतिरहेको अवस्थामा हलोको फाली शिलामा ठोकिएर शिलाबाट निरन्तर रगत बग्यो । रगत बगिरहेको अवस्थामा ती साँकीले रगत रोक्न अनेक प्रयत्न गर्दा पनि रोकिएन ।
रगतको खोला नै बग्न थालेपछि ति किसानले आफूले खानका लागि लगेको खिचडीले उक्त रगत बग्न लागेको शिलामा टाल्दा रगत बग्न रोकियो । त्यसपछि त्यस शिलालाई सुरक्षित गरी मन्दिर निर्माण गरिएको किंवदन्ती छ ।
लटाउली गाउँका ६५ वर्षीय हर्कबहादुर साँकीले उग्रतारा देवीको उत्पति भएको इतिहास सुनाउँदै राजा नागी मल्लको पालादेखी नै यहाँ पूजा आजा हुन थालेको बताए । ११ पुस्ता अघिबाट यहाँ साँकी जातीले पूजा गर्दै आएको उनको भनाइ छ । उनले आफूहरुको पुर्खा पहिला ‘भण्डारी’ थरका भए पनि पछि राजा नागी मल्लले साँकी थर राखिदिएको इतिहास रहेको सुनाए । उनी भन्छन्, ‘राजाले यहाँ शंख र घण्ट बजेको सुनेर ‘साँक’ भन्ने शब्दबाट साँकी नामकरण गर्नुभएको हो।’
उग्रतारा मेला कात्तिक शुक्ल चतुर्दशीको रात ‘रतेडी’बाट सुरू हुन्छ र दोस्रो दिन पूर्णिमामा ‘दिउँसेडी’ सम्म चल्छ । खनमडा, छचोडा, दुमडा र जिलोडा गाउँबाट डोलीसहित ‘देउरो’ आउने परम्परा शताब्दीयौँदेखि जीवित छ । बिहान चार बजेदेखि दमाहा, शंख, घण्टा, रूइसिङ, विकुल र भोकरसँगै देवीको डोली मन्दिरमा आइपुग्दा पूजा प्रारम्भ हुन्छ । दिउँसो उग्रतारा देवीको ‘गाँज’ मन्दिर वरपर घुमाइन्छ ।
सुदूरपश्चिम प्रदेशकै प्रसिद्ध देहिजातको रूपमा मानिने उग्रतारा भगवती मेलामा सुदूरपश्चिम, कर्णाली तथा छिमेकी देश भारतबाट समेत हरेक वर्ष लाखौँको संख्यामा श्रद्धालु भक्तजनहरू आउँछन् । भारतको कुमाउँ–गढवाल क्षेत्रबाट समेत श्रद्धालु र व्यापारी आउँछन् । स्थानीयका लागि यो मेला धार्मिकभन्दा पनि सामाजिक र आर्थिक अवसरको रूपमा रहन्छ ।
डकलेका स्थानीय पदमबहादुर दमाई भन्छन्, ‘माता उग्रतारा हाम्रो आस्थाको केन्द्र हो । मेला आउँदा टाढाटाढाका आफन्त भेटिन्छन्, गाउँबीच भाईचारा बढ्छ ।’
मेलामा स्थानीय उत्पादन भमिरो, तिल, बदाम, बेसार, अदुवा, मह, चुक, सुन्तला, मौसमी, केरालगायतका वस्तु बिक्री हुन्छन् । भारतका व्यापारीहरू मिठाई र पकवानका परिकार ल्याएर बेच्ने गर्छन् ।
मन्दिरका मुख्य धामी तेजबहादुर साँकीका अनुसार घरमा अशान्ति भए, जीवनमा असफलता आए वा सन्तान प्राप्तिको कामना राख्नेहरू यहाँ भाकल गर्न आउँछन् । उनका अनुसार उग्रतारा देवीको दर्शन गर्नुअघि भक्तजनले कम्तीमा एक दिन लसुन, प्याज, माछामासु नखाई चोखो बस्नुपर्छ ।
