जिप दुर्घटनामा ३४ वर्षीय करबिर सिंह ठगुन्नाको मृत्यु भएको हो
दार्चुला — दार्चुलाको मार्मा गाउँपालिका-३ दानीखेतमा शुक्रबार बिहान जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
मार्माको लटिनाथबाट सार्सी जाने क्रममा सु.प.प्र. ०१ ००१ ज १६६२ नम्बरको जिप दानीखेतमा दुर्घटना हुँदा ३४ वर्षीय करबिर सिंह ठगुन्नाको मृत्यु भएको मार्मा गाउँपालिका ३ का वडाध्यक्ष धिरेन्द्र धामीले बताए ।
ठगुन्नालाई गाडीको बीच सिटमा बेहोस अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ । उद्धार गरेर स्वास्थ्य चौकी लैजाने क्रममा उनको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
जिप कसले चलाएको हो र कसरी दुर्घटना भयो भन्ने यकिन भइनसकेको प्रहरीले जनाएको छ । चालकको खोजी र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
