फूल खेतीमा युवाको आकर्षण

किसानले तयार पारेका फूलको माला एक सयदेखि दुई सय रुपैयाँ र प्रतिकेजी चार सयदेखि पाँच सय रुपैयाँसम्ममा बिक्री हुने गरेका छन् ।

कार्तिक १, २०८२

तर्कराज भट्ट

Youth's attraction to flower farming

What you should know

डडेल्धुरा — डडेल्धुराको अमरगढी नगरपालिका–१ डोलाको फाँट अहिले सयपत्री फूलले ढकमक्क छ । यही खेतमा व्यावसायिक रूपमा पुष्प खेती गर्दै आएका सुरत ऐर दसैंतिहार नजिकिँदै गर्दा खेतमै व्यस्त रहन्छन् ।

विदेशको सट्टा गाउँमै केही गर्नुपर्छ भन्ने सोचले पाँच वर्षअघि उनले फूल खेती सुरु गरेका हुन् । कृषि विषयमा स्नातकोत्तर अध्ययन गर्दै आएका सुरत भन्छन्, ‘प्लास्टिकका आयातित माला किन्नेभन्दा आफ्नै गाउँमा फुलेका फूलको माला प्रयोग गर्नुमा गर्व मान्नुपर्छ ।’ उनको करिब डेढ रोपनी जमिन अहिले सयपत्री फूलले भरिएको छ । यो व्यवसायबाट उनले राम्रो आम्दानी गरिरहेका छन् ।

पछिल्ला वर्षमा यहाँका अन्य युवा पनि पुष्प खेतीतर्फ आकर्षित भएका छन् । उनीहरूका अनुसार फूल खेतीले रोजगारीका साथै स्थानीय उत्पादन प्रवर्द्धन गर्ने अवसर दिएको छ । परशुराम नगरपालिका–४ कटालका चक्रसिंह माल पनि त्यस्तै युवामध्ये एक हुन् । उनले तीन वर्षअघि तीन रोपनी खेतमा सयपत्री खेती सुरु गरेका थिए । अहिले उनी ‘कर्मा ५५५’ जातको सयपत्री फूल उत्पादन गर्दै आएका छन् । दसैं, तिहार र छठ पर्वमा उनले उत्पादन गरेका फूल डडेल्धुरा बजारदेखि धनगढीसम्म बिक्री हुन्छन् । ‘फूलको माग बढ्दै गएको छ, तर बजार व्यवस्थापनमा सहयोग गर्ने कोही छैन,’ मालले भने, ‘स्थानीय सरकारले प्लास्टिकका मालामा प्रतिबन्ध लगायो भने हामी जस्ता किसान अझ उत्साहित हुन्थ्यौं ।’ उनले विदेशी मालाको प्रतिस्पर्धा रोक्न प्रशासनले नै भूमिका खेल्नुपर्ने बताए ।

Youth's attraction to flower farming

गन्यापधुरा गाउँपालिका–३ डााडावनका किसान तिलक शाही तीन वर्षदेखि तीन रोपनी खेतमा स्थानीय जातका सयपत्री फूल खेती गर्दै आएका छन् । उनी स्थानिय जातको सयपत्री उत्पादन गर्दै आएका छन् । त्यस्तै, अजयमेरु गाउँपालिका–५ झिगनीका टेकराज पाठकले चार वर्षदेखि पुष्प खेती गरिरहेका छन् । उनी ‘कर्मा ५५५’ र ‘टेनिस बल’ जातका फूल उत्पादन गर्छन् । पाठकले कृषि ज्ञान केन्द्र र गाउँपालिकाको सहयोग पाएका छन् । कृषि ज्ञान केन्द्रबाट टनेल र गाउँपालिकाबाट थोपा सिँचाइका लागि पाइप सहयोग पाएको उनले बताए । फूल खेतीलाई वर्षभरि व्यवसायका रूपमा बिस्तार गरिरहेका उनले दसैं–तिहारको सिजनमा डडेल्धुरा सदरमुकाम तथा धनगढीसम्म बिक्रि गर्छन् ।

डडेल्धुरामा उत्पादित फूल अहिले स्थानीय बजारमै बिक्री हुने गरेका छन् । किसानले तयार पारेका फूलको माला एक सयदेखि दुई सय रुपैयाँ र प्रतिकेजी चार सयदेखि पाँच सय रुपैयाँसम्ममा बिक्री हुने गरेका छन् ।

स्थानीय सरकारले यसलाई प्राथमिकता नदिँदा बजार विस्तारमा कठिनाइ भोग्नुपरेको उनीहरुले बताएका छन् । त्यस्तै, बिउ र सिँचाइको असुविधा तथा बजारमा आयातित कृत्रिम मालाले व्यवसायमा असर परेको व्यवसायीहरुले बताएका छन् । कृषि ज्ञान केन्द्र डडेल्धुराका सूचना अधिकारी रामसिंह बोहराका अनुसार पुष्प खेतीलाई प्रोत्साहन गर्न कार्यालयबाट बीउ वितरण, प्राविधिक सहयोग गरिँदै आएको छ ।  

तर्कराज भट्ट

Link copied successfully