धामीझाँक्रीको विश्वास र ढिलोगरी अस्पताल लैजाँदा बैतडीमा दुई बालबालिकाले ज्यान गुमाएका छन् ।
What you should know
बैतडी — बैतडीका गाउँघरमा बिरामी हुँदा अस्पतालभन्दा पनि अन्धविश्वासमा (धामीझाँक्री) विश्वास गर्ने प्रवृत्ति अझै हट्न सकेको छैन ।विकट गाउँमा अहिले पनि बिरामी हुँदा अस्पतालमा नगई झारफुकतिर लाग्दा ज्यानै जाने गरेको छ ।
वैशाखयता मात्रै बैतडीमा दुई जना बालबालिकाको झाडापखालाबाट मृत्यु भएको छ । उपचारका लागि अन्तिम अवस्थामा मात्रै अस्पताल पुर्याउँदा उनीहरुको मृत्यु भएको हो । वैशाख १३ मा सुर्नया गाउँपालिका–५ का लाल विश्वकर्माका १५ वर्षीय छोरा नीरज विश्वकर्माको झाडापखालाबाट मृत्यु भयो ।
तीन दिनदेखि ज्वरो र झाडापखाला लागेका नीरजलाई उपचारका लागि जिल्ला अस्पताल पुर्याए पनि अस्पतालमै मृत्यु भएको मृतकका बुबा लाल विकले बताए । ‘गाउँघरतिरको चलन, अस्पताल जानुभन्दा पहिले धामीझाँक्रीलाई सोध्नु भनेर तयारी गर्दा अस्पताल जान ढिला भयो,’ उनले भने, ‘धामीझाँक्रीको पछि नलागी सिधै अस्पताल जानुपर्ने रहेछ ।’
साउन २६ मा डिलाशैनी गाउँपालिका–४ का सुरेन्द्र रोकायाकी–१३ वर्षीया छोरी आरतीको पनि झाडापखालाबाटै मृत्यु भयो । उनी दुई-तीन दिनदेखि पखालाले ग्रस्त थिइन् ।
घरपरिवारले आरतीलाई उपचारका लागि स्वास्थ्य संस्था लैजान नमानेपछि ज्यान गएको बुुझिन आएको उपचारका लागि घरमा पुगेका हाडाकोट स्वास्थ्य चौकी इन्चार्ज वीरेन्द्र बोहराले बताए । ‘आरतीलाई तीन दिनदेखि झाडापखाला लागेको थियो,’ उनले भने, ‘स्वास्थ्य संस्था लैजानुको सट्टा घरमै धामीझाँक्री बोलाएर झारफुक गरेका रहेछन् ।’
उनको मृत्युपछि स्वास्थ्यकर्मी उनको घरमा पुगेका थिए । त्यसबेला आरतीका भाइलाई पखाला लागेको र औषधि सेवनपछि मात्रै सन्चो भएको बोहराले बताए ।
बैतडीमा गत आर्थिक वर्षमा ४ हजार ५३९ जनामा झाडापखाला देखिएको स्वास्थ्य कार्यालय बैतडीको तथ्यांक छ । सबै बिरामीको उपचारपछि मात्रै स्वास्थ्य ठिक भएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख तीर्थराज भट्टले बताए ।
संविधान २०७२ को धारा ३५ मा हरेक नागरिकलाई आधारभूत स्वास्थ्य सेवाको पहुँचको हक हुनेछ भन्ने उल्लेख गरिए पनि कुनाकन्दराका नागरिक यो हकको पहुँचमा पुग्न सकेका छैनन् । झाडापाखाला फोहोर पानी, सडेगलेका र फोहोर खानेकुराबाट हुने भएकाले शुद्ध पानी पिउन वा स्वच्छ र ताजा खानेकुरा मात्र खान प्रमुख भट्टले आग्रह गरे ।
