प्रदेश र जिल्लामा माओवादीकाे ‘जेनजी रेड फोर्स’

प्रदेश संयोजक सुनारले तिहारसम्म ७७ वटै जिल्लामा समिति विस्तार हुने बताए ।

आश्विन ३०, २०८२

रञ्जना बिसी

Maoist 'Genji Red Force' in provinces and districts

कैलाली — नेकपा माओवादी केन्द्रले प्रदेश र जिल्लामा पार्टी निकट युवाहरूकाे 'जेनजी रेड फोर्स' समिति गठन थालेकाे छ ।

पार्टीमा जेन-जी पुस्ताकाे आवाज समेट्न भन्दै हरेक जिल्लामा ‘जेनजी रेड फोर्स’ गठन गरिएकाे फोर्सका सुदूरपश्चिम प्रदेश संयोजक पवन सुनारले बताए । सुनार अखिल क्रान्तिकारी धनगढीका नगर अध्यक्ष र कैलाली बहुमुखी क्याम्पसका विद्यार्थी नेता पनि हुन् ।

पार्टीमा सुदूरपश्चिमका जेनजी युवाको आवाज समेट्न आफूलाई ‘जेनजी रेड फोर्स’ समितिको प्रदेश संयोजकमा तोकिएको उनले बताए । ‘पार्टी सुदृढीकरणको अभियानसहित विगतमा गरेका गल्तीहरू नदोहोर्याउन र आत्मालोचना गर्दै युवाहरूलाई यो पार्टी र विचारसँग आबद्ध गरी राष्ट्र निर्माणको अभियानमा एकजुट हुन यो अभियान सुरु गरेका हौ‌,’ संयोजक सुनारले भने ।

उनले पार्टीमा नयाँ पुस्ताको आवाज समेट्ने र खबरदारी गर्न सुदूरपश्चिमका अन्य आठ जिल्लामा पनि यो समिति गठन भइसकेको बताए । जसमध्ये कैलाली जिल्ला संयोजकमा प्रकाश जैशी, कञ्चनपुरमा दिपेश धामी, बझाङमा लक्ष्मण निरौला, अछाममा सुरेश देवकोटा, डडेलधुरामा दिया बोहरा, डोटीमा ओम प्रकाश भाट, बैतडीमा मिलन भाट र दार्चुलामा मनोज बडाल चयन भएका छन् ।

यस्तै बाजुरामा भने समिति गठनको तयारी भइरहेको सुनारले बताए । प्रदेश संयोजक सुनारले तिहारसम्म ७७ वटै जिल्लामा समिति विस्तार हुने बताए । 

रञ्जना बिसी

Link copied successfully