चुहावट रोक्न नसक्दा कैलाली भन्सारको राजश्व संकलन दर घट्यो

चालु आर्थिक वर्ष ०८२/८३ को पहिलो तीन महिना साउनदेखि असोजसम्म एक अर्ब ७२ करोड ७७ लाख ३६ हजार राजस्व संकलन भएको छ।

आश्विन ३०, २०८२

अर्जुन शाह

Kailali Customs' revenue collection rate drops due to failure to stop leakage

What you should know

धनगढी — सुदूरपश्चिमको प्रमुख भन्सार नाका धनगढीस्थित कैलाली भन्सार कार्यालयमा चालु आर्थिक वर्षको पहिलो तीन महिनाको राजश्व संकलन गत वर्षको तुलनामा घटेको छ । गत आर्थिक वर्ष ०८१/८२ को पहिलो तीन महिनामा एक अर्ब ७८ करोड ६० लाख ६३ हजार रहेको थियो ।

चालु आर्थिक वर्ष ०८२/८३ को पहिलो तीन महिना साउनदेखि असोज २८ गतेसम्मको राजश्व संकलन भने एक अर्ब ७२ करोड ७७ लाख ३६ हजार रहेको छ । कैलाली भन्सार कार्यालयले त्यस अघिल्लो आर्थिक वर्ष ०८०/८१ को सोही अवधिमा एक अर्ब ६१ करोड ६० लाख २५ हजार रुपैयाँ राजश्व संकलन गरेको अभिलेख छ ।

गत आर्थिक वर्षमा लक्ष्य अनुसार न्यून संकलन भएपछि चालु आर्थिक वर्षमा राजश्व संकलनको लक्ष्य नै घटाएको थियो । गत आर्थिक वर्ष ०८१/८२ को साउनमा ८२ करोड लक्ष्य निर्धारण गरिएकोमा ६३ प्रतिशत, भदौमा ९० करोड लक्ष्य लिइएकोमा ५९ प्रतिशत र असोजमा ८७ करोड लक्ष्यमा ७६ प्रतिशत मात्र राजश्व संकलन हुन सकेको थियो । चालु आर्थिक वर्षमा भने कार्यालयले साउनमा ७१ करोड, भदौमा ७४ करोड र असोजमा ७६ करोड राजश्व संकलनको लक्ष्य निर्धारण गरेको थियो ।

कैलाली भन्सार कार्यालयले चालु आर्थिक वर्षमा कूल ९ अर्ब ७१ करोड १५ लाख ६ हजार राजश्व संकलनको लक्ष्य राखेको छ । गत आर्थिक वर्षमा ११ अर्ब १६ करोड २६ लाख ३० हजार लक्ष्य निर्धारण गरिएकोमा ८ अर्ब ६६ करोड ९८ लाख अर्थात् ७७.६७ प्रतिशत मात्र राजश्व संकलन भएको भन्सार अधिकृत खिमप्रसाद अर्यालले बताए ।

आर्थिक वर्ष ८०/८१ मा ७ अर्ब ९१ करोड ८० लाख ९८ हजार कूल राजश्व संकलन भएको अर्यालले जानकारी दिए । ‘पछिल्लो समयमा व्यापार व्यवसाय घटेकाले आयात पनि घटेको छ’ भन्सार अधिकृत अर्यालले भने ‘ कैलालीमा राजश्व संकलनको मुख्य आधार पेट्रोलियम पदार्थ हो । व्यापार व्यवसाय नबढ्दासम्म आयात घट्ने र राजश्व संकलन पनि स्वतः घट्ने नै भयो ।’

कैलाली भन्सारले विगत पाँच वर्षदेखि निरन्तर निर्धारित राजश्व संकलनको लक्ष्य पुरा गर्न सकेको छैन । आर्थिक वर्ष ०७७/७८ देखि राजश्व संकलनको वार्षिक लक्ष्य पुरा हुन नसकेको हो । आर्थिक वर्ष ०७९/८० मा वार्षिक १२ अर्ब ३० करोड ६६ लाख ७८ हजार राजश्व संकलन गर्ने लक्ष्य लिएकोमा आठ अर्ब २९ करोड ६३ लाख पाँच हजार (६७.४१ प्रतिशत) मात्रै राजश्व संकलन भएको थियो ।

उत्पादन र आयातको सम्भाव्यता अध्ययन नगरी लक्ष्य निर्धारण गर्दा राजश्व संकलन लक्ष्यमा पुग्न नसकेको विगतको अनुभव रहेको कार्यालयको भनाई छ । ‘अहिले त आर्थिक गतिविधि घटेको छ । सुदूरपश्चिममा गरिबीको सूचांकमा रहेको जनसङ्ख्या उच्च छ । आम्दानीको स्रोत अनुसार उपभोग हुने भएकाले आयातमा ह्रास आउने गरेको हो,’ कार्यालय प्रमुख अनन्त तिम्सिनाले भने ‘अर्कोतिर विगतदेखि नै राजश्व छलीको परम्परालाई घटाउन नसकिएका कारण पनि राजश्व संकलनको वार्षिक लक्ष्य पुरा गर्न कठिन भइरहेको हो ।’

अर्जुन शाह शाह कान्तिपुरका सुदूरपश्चिम प्रदेशका संवाददाता हुन् ।

Link copied successfully