सुर्नयामा तालाबन्दी : जेनजी समूहले गुहार्‍यो प्रशासन र समन्वय समिति

आफूहरूले राखेका मागका विषयमा जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय, गाउँकार्यपालिका र जेनजी समूहको सहभागितामा लाइभ छलफल हुनुपर्ने र माग पूरा गर्ने सुनिश्चिततापछि मात्रै तालाबन्दी खोल्ने जेनजी अगुवा विशाल भट्टले बताए ।

आश्विन २८, २०८२

मोहन चन्द

Lockout in Surnaya: Genji Group appeals to Administration and Coordinating Committee

बैतडी — बैतडीको सुर्नया गाउँपालिकामा आफैंले गरेको तालाबन्दीका विषयमा आवश्यक समन्वय गरिदिनका लागि जेनजी समूहले जिल्ला समन्वय समिति बैतडी र जिल्ला प्रशासन कार्यालय बैतडीलाई आग्रह गरेको छ ।

दुवै कार्यालयमा मंगलबार निवेदन दिँदै आफूहरूले उठाएका माग र विषयवस्तुका बारेमा समेत जानकारी गराएको जेनजी समूहका अगुवा विशाल भट्टले बताए । जेनजी समूहले राखेका मागका विषयमा जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय, गाउँकार्यपालिका र जेनजी समूहको सहभागितामा लाइभ छलफल हुनुपर्ने र माग पूरा गर्ने सुनिश्चिततापछि मात्रै तालाबन्दी खोल्ने उनले बताए । 

गएको शुक्रबार जेनजी समूहले आफूहरूले माग गरेको सूचना नदिएको भनेर गाउँपालिकामा तालाबन्दी गरेको थियो । पालिकामा तालाबन्दी हुँदा पालिकाका सबै कामकाज ठप्प भएको छ । जसले गर्दा सेवाग्राहीसमेत मारमा परेका छन् ।

आफूहरूले तालाबन्दी गर्दा कुनै गलत मनसाय नराखेको भन्दै भट्टले भ्रष्टाचारमुक्त सुर्नया आफूहरूको अभियान रहेको बताए । उता गाउँपालिकामा गरिएको तालाबन्दी वार्ता र संवादकै माध्यमबाट खोल्न सामाजिक संजाल फेसबुकमार्फत गाउँपालिका अध्यक्ष अम्मरबहादुर कुँवरले जेनजी समूहलाई आग्रह गरेका छन् । 

उनले सामाजिक सञ्जाल फेसबुकमा ‘युवाहरूले उठाएका मागप्रति आफू सकारात्मक रहेको र तालाबन्दी गर्ने पक्षसँग आफू निरन्तर सम्वादमा रहेको’ पनि बताएका छन् । गाउँपालिकामा युवाहरूले राखेका माग सम्बोधन गर्न र कानुन अनुसार दिन मिल्ने सूचना दिन आफू तयार रहेको समेत उनको जिकिर छ ।

मोहन चन्द कान्तिपुरका बैतडी संवाददाता हुन् ।

Link copied successfully