आन्दोलनरत कर्मचारीले अस्पतालको सेवा भने अवरुद्ध गरेका छैनन् । ड्युटी बाहेकको समयमा आफूहरू प्रदर्शन गर्न गएको कर्मचारीले बताए।
What you should know
कैलाली — चाडपर्व, पोसाक र महँगी भत्ता नपाएपछि धनगढीको सेती प्रादेशिक अस्पतालका करार सेवाका कर्मचारी आन्दोलनमा उत्रिएका छन् । करारमा कार्यरत १ सय ५० भन्दा बढी कर्मचारीले विगत वर्षमा जस्तै यस वर्ष भत्ता नपाएको भन्दै सोमबारदेखि सामाजिक विकास मन्त्रालयको मूल गेटमा प्रदर्शन गरिरहेका छन् ।
कर्मचारीले असोज ६ गतेदेखि नै भत्ता भुक्तानीका लागि माग गर्दै आएका थिए । तर, अस्पताल र मन्त्रालयबीचको जिम्मेवारी स्पष्ट नभएकाले समस्या उत्पन्न भएको अस्पतालले जनाएको छ ।
सेती प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. हेमराज पाण्डेले करार सेवाका कर्मचारीलाई भत्ता दिन समस्या उत्पन्न भएको स्पष्ट पार्दै भने, ‘मन्त्रालयले १२ महिनाको तलब बाहेक छुट्टै भत्ता रकम उपलब्ध गराएन । महालेखा परीक्षकको प्रतिवेदनमा पनि करार सम्झौतामा भत्ता उल्लेख नभएकाले अस्पतालको कोषबाट वितरण गर्न नपाइने भनेको छ ।’
उनका अनुसार, अस्पताल प्रशासनमा कर्मचारीहरूको मागप्रति नीतिगत प्रष्टता नहुँदा भत्ता वितरणमा समस्या भएको हो । सोमबार दिउँसो भत्ता भुक्तानीको माग गर्दै कर्मचारीले मन्त्रालयमा ध्यानाकर्षण पत्रसमेत बुझाएका छन् । यता अस्पताल प्रशासनले पनि मन्त्रालयले करार सेवाका कर्मचारीलाई नियुक्त गरेकाले भत्तासम्बन्धी समस्या पनि मन्त्रालयले नै सुल्झाउनु पर्ने बताएको छ ।
आन्दोलनरत कर्मचारीले अस्पतालको सेवा भने अवरुद्ध गरेका छैनन् । ड्युटी बाहेकको समयमा आफूहरू प्रदर्शन गर्न गएको कर्मचारीले बताए। यद्यपि माग सम्बोधन नभए आगामी दिनमा सेवा नै ठप्प पार्ने चेतावनी भने उनीहरूले दिएका छन् । मेडिकल सुपरिटेन्डेन्ट डा. पाण्डेले पनि करार कर्मचारीले माग सम्बोधन गराउन सेवा अवरुद्ध नगरेको बताए । ‘सेवा अवरुद्ध गर्ने भए प्रशासनलाई जानकारी गराउन भनेका छौं । तर उहाँहरू आफ्नो ड्युटी पूरा गरिरहनु भएको छ ।’ उनले कर्मचारीका माग पूरा हुनुपर्ने बताए ।
अस्पताल प्रशासनले यही विषयमा एक महिनाअघि मन्त्रालयलाई पत्र पठाएको थियो । तर, समस्या समाधान भएन । अर्को पत्र सोमबार पठाएको अस्पतालले जनाएको छ । यता सामाजिक विकास मन्त्रालयले पनि कर्मचारीका मागप्रति मन्त्रालय सकारात्मक रहेको जनाएको छ ।
मन्त्रालयका सूचना अधिकारी जयदेव महराले करार कर्मचारीका माग छिट्टै पूरा हुने बताए । ‘कार्यविधि बनिसकेको छ । त्यो अनुसार अर्थ मन्त्रालयबाट बजेट माग गरेर कर्मचारीका माग पूरा गर्छौं । मन्त्रीज्यू बाहिर हुनुहुन्छ । केही दिन लाग्न सक्छ ।’
