डडेल्धुराको नवदुर्गा गाउँपालिका–२ बस्ने ऐरमाथि केही अपरिचित व्यक्तिले धारिलो हतियारले प्रहार गरी घाइते बनाएका थिए।
कैलाली — कैलालीमा ज्यान मार्ने उद्योगमा संलग्न ११ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार असोज २६ गते राति करिब ११:४५ बजे गोदावरी नगरपालिका–४ मा रहेको गगन बडैला सञ्चालित शुभम होटेलमा उक्त घटना भएको हो ।
डडेल्धुराको नवदुर्गा गाउँपालिका–२ बस्ने ३२ वर्षीय गौरव ऐरमाथि केही अपरिचित व्यक्तिहरूले धारिलो हतियारले प्रहार गरी घाइते बनाएका थिए। हतियारको प्रहारबाट ऐरको हातको औँला काटिएको र टाउको तथा घाटीमा चोट लागेको प्रहरीले जनाएको छ। ऐरलाई प्रारम्भिक उपचारका लागि धनगढीस्थित मायामेट्रो अस्पताल लगिएको थियो। त्यहाँ उपचारपछि थप उपचारका लागि भारतको रुद्रपुरस्थित मेडिसिटी अस्पतालमा रिफर गरिएको प्रहरीले बताएको छ।
पक्राउ पर्नेहरूमा धनगढी-२ का सन्नी भन्ने २९ वर्षीय भिम नेपाली, १८ वर्षीय अनुपम सिंह, १८ वर्षीय मुस्कान सिंह, २० वर्षीय बबिन सिंह, २६ वर्षीय गोपाल भट्ट, १८ वर्षीय प्रिन्स सिंह, धनगढी-३ का १८ वर्षीय विशाल बोहरा, कञ्चनपुरको कृष्णपुर -९ का २३ वर्षीय किरण महरा, २६ वर्षीय गोविन्द बलायर, कञ्चनपुरको पुर्नवास–१० का ३२ वर्षीय दिनेश बिक र ३२ वर्षीय अनिल बिक रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले असोज २८ गते बिहान करिब २ बजे नेपाल–भारत सिमानामा पर्ने धनगढी त्रिनगर भन्सार नजिकैबाट उनीहरुलाई पक्राउ गरेको थियो । पक्राउ परेका सबैलाई प्रहरी हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
