मतदाता नामावली दर्ता गर्न युवाको घुइँचो 

सुदूरपश्चिममा प्रदेश कार्यालयसहित आठ जिल्लामा पनि उत्साहजनक रुपमा मतदाता नामावली दर्ता भइरहेको जानकारी आएको प्रदेश निर्वाचन कार्यालय प्रमुख प्रेमराज भट्टले बताए ।

आश्विन २६, २०८२

अर्जुन शाह

Youth rally to register voter list

What you should know

धनगढी — सुदूरपश्चिम प्रदेश कार्यालय धनगढीमा यतिबेला मतदाता नामावली दर्ता गर्न किशोर तथा युवाहरुको बाक्लो संख्या छ । आगामी फागुन २१ गतेका लागि घोषित निर्वाचनका लागि निर्वाचन कार्यालयमा मतदाता नामावली दर्ताको कार्य भइरहेको छ । 

‘आगामी निर्वाचनमा हामी मतदान गर्न चुकाउँदैनौं,’ प्रदेश निर्वाचन कार्यालय धनगढीमा मतदाता नामावलीमा दर्ता गर्न आएका चार जना युवाहरुको समूहमध्येका धनगढीका २१ वर्षीय विवेक थापाले भने ‘विगतमा चुनाव भनेपछि त्यति वास्ता थिएन । अब त मतदान गर्नै पर्छ ।’

सुदूरपश्चिममा प्रदेश कार्यालयसहित आठ जिल्लामा पनि उत्साहजनक रुपमा मतदाता नामावली दर्ता भइरहेको जानकारी आएको प्रदेश निर्वाचन कार्यालय प्रमुख प्रेमराज भट्टले बताए । ‘मतदाता नामावली दर्ता गराउन आउनेहरुमध्ये अधिकांश युवा उमेर समूहका छन्,’ भट्टले भने ‘दैनिक तीन सयको हाराहारीको संख्यमा नयाँ मतदाता नामावली दर्ता हुने गरेको छ ।’ 

यसअघि ०७९ मा सम्पन्न संघ तथा प्रदेश तहको निर्वाचनमा सुदूरपश्चिममा कूल १६ लाख ५८ हजार, चार मतदाता संख्या रहेको थियो । त्यसमध्ये महिला मतदाता संख्या आठ लाख ४२ हजार सात सय ७४ र पुरुष मतदाता संख्या ८ लाख १५ हजार दुई सय १२ थियो ।

सुदूरपश्चिममा सबैभन्दा धेरै कैलालीमा पाँच लाख ३५ हजार पाँच सय १४ मतदाता थियो । कञ्चनपुरमा तीन लाख दुई हजार पाँच सय नौ, अछाममा एक लाख ५८ हजार ६ सय ५७, बैतडीमा एक लाख ५० हजार एक सय ५६ र डोटीमा एक लाख २४ हजार आठ सय ७० मतदाता थियो । यस्तै, बझाङमा एक लाख २२ हजार तीन सय ७६, डडेल्धुरामा ९१ हजार दुई सय एक, दार्चुलामा ८९ हजार एक सय ५४ र बाजुरामा सबैभन्द्या कम ८३ हजार पाँच सय ६७ मतदाता संख्या थियो । 

आगामी निर्वाचनका लागि मतदाता संख्या बढ्न निर्वाचन कार्यालयको अनुमान छ ।

अर्जुन शाह शाह कान्तिपुरका सुदूरपश्चिम प्रदेशका संवाददाता हुन् ।

Link copied successfully