शिवनाथ र पञ्चेश्वरका अधिकांश स्थानीय विद्युत् र टावरको समस्याका कारण नेपाल टेलिकमको सिमभन्दा भारतीय सिममा इन्टरनेट चलाउन बाध्य छन् ।
What you should know
बैतडी — बैतडीका सबै ठाउँमा विद्युत् विस्तार छैन । विद्युत् नपुगेका विकट ठाउँमा नेपाल टेलिकमले सोलार साइड (सौर्य ऊर्जाबाट चल्ने) टावर निर्माण गरेको छ । घाम नलागेका दिन सौर्य ऊर्जाबाट सञ्चालित टावरले काम नगर्दा भने त्यस भेगका जनता टेलिफोन सेवाबाटै वञ्चित हुने गरेका छन् ।
जिल्लाको शिवनाथ, पञ्चेश्वर गाउँपालिका अधिकांश जनता नेपाल टेलिकमकको भन्दा पनि भारतीय सिममा नेट चलाउँछन् । सस्तोमा नेटप्याक खरिद गर्न मिल्ने भएकाले भारतीय सिममा नेट चलाउने गरेको पञ्चेश्वरका पहल बस्केलले बताए । यी दुई पालिकाको सिमाना भारतसँग जोडिएकाले सबैजसोले भारतीय सिम राख्छन् । अरू ठाउँका जनता नेपाल टेलिकमको टावरले काम नगर्दा सेवाबाट पूर्ण रूपमा वञ्चित हुने गरेका छन् ।
भारतसँग सिमाना जोडिएका स्थानीयले टेलिकमको सिमसँगै भारतीय भोडाफोन, जियो, भीआईका सिमसमेत राख्ने गरेको शिवनाथ-२ सुनकोटका ईश्वर कलौनीले बताए । ‘आकाशमा बादल लाग्यो कि नमस्तेको सिममा टावर नै आउँदैन,’ उनले भने, भारतीय सिम प्रयोग गरी नेट चलाएर आफन्तसँग अडियो/भिडियो कल गर्छौं ।’
नेपाल टेलिकमले बैतडीमा ४१ ठाउँमा टावर निर्माण गरेको छ । जसमध्ये १२ टावर सोलार साइड (सोलारबाट चल्ने) छन् । घाम नलागेका दिन सोलार साइड टावरले काम कम गर्ने टेलिकम बैतडीका कार्यालय प्रमुख नारायणदत्त भट्टले बताए । ‘अहिले धेरै ठाउँमा विद्युत् विस्तार भइरहेको छ,’ उनले भने, ‘टेलिकमको टावर भएरै विद्युत् लाइन विस्तार गरिदिन विद्युत् प्राधिकरण बैतडीसँग समन्वय गरिएको छ ।’
भारतीय सिम प्रयोग हुने शिवनाथ, पञ्चेश्वरमा अहिले विद्युत् विस्तार भइरहेकाले थप दुई ठाउँमा टावर निर्माणका लागि प्रक्रिया अगाडि बढेको भट्टले बताए । पुराना टावरमा विद्युत् जडानसँगै थप दुई टावर निर्माण गरिए शिवनाथ र पञ्चेश्वरका जनताले प्रयोग गर्ने भारतीय सिम विस्थापित हुने प्रमुख भट्टको भनाइ छ ।
जिल्लाका पुर्चौडी, पाटन नगरपालिका र सिगास, डिलासैनी, सुर्नया गाउँपालिकाकामा रहेका सोलार साइड टावरले काम नगरेको दिन यहाँका जनता टेलिकमको सेवाबाट बढी प्रभावित हुने गरेका छन् । 'यहाँ भारतीय सिम पनि चल्दैन, जनता पूर्ण रुपमा नेपाल टेलिकमकै नमस्ते सिममा भर पर्ने हुँदा बढी समस्या हुने गरेको छ,' सिगासका गौरव चन्दले बताए ।
जिल्लाका सबै स्थानीय तहमा विद्युत् विस्तारको काम तीव्र भइरहेकाले चालु आर्थिक वर्षभित्रै धेरै सोलार साइड टावरको समस्या समाधान हुने बैतडी टेलिकम कार्यालयले जनाएको छ ।
