ओझाले ९५० मत प्राप्त गर्दै विजयी बने । उनले निकटतम् प्रतिस्पर्धी रुपेश स्वाँरलाई ६१ मतले पराजित गरेका हुन् । स्वाँरले ८८९ मत पाएका थिए ।
कैलाली — कैलाली उद्योग वाणिज्य संघको अध्यक्षमा पुष्कर ओझा निर्वाचित भएका छन् । नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा कुल २३५५ मतदातामध्ये १९४० मत खसेको थियो ।
तीमध्ये ओझाले ९५० मत प्राप्त गर्दै विजयी बने । उनले निकटतम् प्रतिस्पर्धी रुपेश स्वाँरलाई ६१ मतले पराजित गरेका हुन् । स्वाँरले ८८९ मत पाएका थिए ।
ओझा र स्वाँर दुवैजना छुट्टाछुट्टै प्यानलसहित चुनावी मैदानमा उत्रिएका थिए । निवर्तमान कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष रहेका ओझाको नेतृत्वमा गएको प्यानलका अधिकांश उम्मेदवार विजयी भएका निर्वाचन समितिले जनाएको छ ।
वरिष्ठ उपाध्यक्षमा भने स्वाँर प्यानलका उम्मेदवार केशवराज जोशी विजयी भए । उनले ९५७ मत प्राप्त गरे भने ओझा प्यानलका उम्मेदवार ओमबहादुर विष्टले ५५५ मत पाए । अर्का उम्मेदवार सुरेन्द्र राठीले २७२ मत प्राप्त गरे ।
उद्योग तर्फको उपाध्यक्षमा ओझा प्यानलका लक्ष्मणराज पन्त ९७६ मतसहित विजयी भए । उनका निकटतम् प्रतिद्वन्द्वी बासुदेव भट्टले ७३५ मत पाए ।
एसोसियट उपाध्यक्षमा ओझा प्यानलका मनोज अग्रवाल ६०२ मत प्राप्त गर्दै विजयी भए । उनका प्रतिस्पर्धी कविन्द्र पन्तले ५७२ मत र अनिल कुमार भोजानियाले ५१५ मत ल्याए ।
वाणिज्य तर्फको उपाध्यक्षमा ओझा प्यानलकै गगनराज केसी १००१ मत ल्याएर निर्वाचित भए । उनकी निकटतम् प्रतिद्वन्द्वी राधिकाकुमारी चौधरीले ७०९ मत पाइन् ।
वस्तुगत तर्फको उपाध्यक्षमा पनि ओझा प्यानलका भीमराज ओझा 'अबुल' ९०८ मत ल्याएर विजयी भए । उनका प्रतिस्पर्धी सिद्धराज पनेरुले ८२८ मत प्राप्त गरे ।
उपाध्यक्ष पदमा निर्वाचित पाँच जनामध्ये जोशी र पन्त स्वाँर प्यानलका हुन् भने अग्रवाल, केसी र ओझा 'अबुल' ओझा प्यानलका उम्मेदवार हुन् ।
त्यस्तै महासचिवमा ओझा प्यानलका दिनेश लम्साल ९१२ मत ल्याएर विजयी भए । उनका निकटतम् प्रतिस्पर्धी सुरेशराज पाण्डेयले ८३४ मत पाएका थिए ।
कोषाध्यक्षमा पनि ओझा प्यानलकै तिलक सिंह बोहराले सर्वाधिक ११०९ मत ल्याएर विजयी भए । उनका प्रतिस्पर्धी सुरेन्द्रबहादुर कडायतले ६०२ मत प्राप्त गरे । बोहरा यस निर्वाचनमा सबैभन्दा बढी मत र फराकिलो मतान्तरसहित विजयी हुने उम्मेदवार बने ।
त्यस्तै सचिव पदमा स्वाँर प्यानलका प्रकाशबहादुर चन्द ९२६ मत ल्याएर विजयी भए । ओझा प्यानलकी कृष्णाकुमारी विष्टले ५१४ र स्वतन्त्र उम्मेदवार कोपिला कुँवर चौलागाईंले ३३३ मत पाइन् ।
