भागेका ६५ मध्ये ४० कैदी आफैँ फर्किए, १३ पक्राउ परे पनि अझै १२ जना फरार छन्, कारागार प्रशासन र प्रहरीले खोजी तीव्र बनाएका छन्।
What you should know
बझाङ — भदौ २३ गतेको आन्दोलन पछि बझाङ कारागार तोडफोड गरी भागेका मध्ये १२ जना कैदी अझै फरार छन् । बझाङ कारागारबाट भदौ २३ गते ६५ जना कैदीले जेल तोडेर भागेका थिए ।
८५ जना कैदीबन्दी रहेको यो कारागारका २० जना भने उक्त समयमा पनि कारागारमै रहेका थिए । भागेकामध्ये ४० जना आफैँ कारागारको सम्पर्कमा आएका र १३ जनालाई पक्राउ गरिएको बझाङ कारागारका जेलर राजेन्द्रबहादुर फराडाले बताए । ‘फरार रहेका हरूको पनि खोजी भइरहेको छ, छिट्टै उनीहरू पक्राउ पर्ने छन्,’ उनले भने ।
आन्दोलनका बेला जेल तोडफोड गर्ने योजनाकार रहेका पाँच जनालाई बझाङ कारागारबाट धनगढी, बैतडी, डडेलधुरा जिल्लाका कारागारमा स्थानान्तरण गरिएको र केहीलाई बाँके पठाउने तयारी भइरहेको फराडाले बताए ।
कारागार प्रशासनले फरार अवस्थामा रहँदा कानुनले तोकेको सजाय थप कडाइका साथ कार्यान्वयन गरिने मात्र नभई भविष्यमा प्राप्त हुन सक्ने कानुनी अधिकार, सुविधा तथा सामाजिक पुनर्स्थापना प्रक्रियामा समेत गम्भीर प्रतिकूल असर पर्ने भन्दै फरार कैदीबन्दीलाई स्वयं सचेत भएर फर्किन पनि अपिल गरेको छ ।
यता जिल्ला प्रहरी कार्यालय बझाङले पनि सार्वजनिक सूचना जारी गर्दै फरार भएका कैदीबन्दीलाई सम्पर्कमा आउन आग्रह गरेको छ । फरार हुँदा स्वयं कैदीबन्दीलाई नै बढी समस्या हुने र थप सजायसमेत हुने भएकाले स्वयं सम्पर्कमा आएको खण्डमा सजायमा सहुलियत हुने भन्दै सम्पर्कमा आउन आग्रह गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी खगेन्द्र धमलाले बताए । ‘आग्रहको अटेर गर्नेहरूको खोजी तीव्र रूपमा भइरहेको छ, अहिलेको समयमा प्रहरीको आँखा छलेर लुक्न त्यति सजिलो छैन,’ उनले भने ।
