डोटीमा प्रहरी हत्याका आरोपित पक्राउ 

जिल्ला प्रहरी कार्यालय डोटीले हत्या आरोपित व्यक्तिलाई सोमबार पक्राउ गरेको कान्तिपुरलाई जानकारी दिएका छन् ।

आश्विन २१, २०८२

मोहन पनेरु

डोटी — डोटीको शिखर नगरपालिकामा प्रहरी जवान शंकर बलायरको हत्याका आरोपित पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय डोटीले हत्या आरोपित व्यक्तिलाई सोमबार पक्राउ गरेको कान्तिपुरलाई जानकारी दिएका छन् ।

हत्यामा संलग्न आरोपित व्यक्ति बस चालक रहेको प्रहरीले जनाएको छ ।

शिखर नगरपालिका – ८ तिलताली घर भई हाल जिल्ला ट्राफीक प्रहरी कार्यालय रौतहटमा कार्यरत प्रहरी जवान शंकर बलायर असोज १७ मध्यराति १२:१५ बजेतिर मृत भेटिएका थिए । मृतक बलायर दसैं बिदामा घर आएको समयमा घटना भएको हो ।

प्रहरीको अनुसन्धानले मध्यराति बसले ठक्कर दिएर बलायरको मृत्यु भएको जनाएको छ । बलायरलाई ठक्कर दिएर चालक बससहित फरार रहेका थिए ।

जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख प्रहरी उपरीक्षक महेन्द्र नेपालले हत्यामा संलग्न व्यक्तिलाई पक्राउ गरिएको बताए । पक्राउ परेकालाई केही दिनमै आधिकारिक रूपमा सार्वजनिक गरिने प्रहरी उपरीक्षक नेपालले बताए ।

पक्राउ परेका व्यक्तिले कसुर स्वीकार गरिसकेको डोटी प्रहरीले जनाएको छ ।

मोहन पनेरु

Link copied successfully