जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक नवराज रावलका अनुसार मृतकको टाउकोमा गम्भीर चोट देखिएको छ ।
डोटी — डोटीमा प्रहरी जवान मृत अवस्थामा फेला परेका छन् । जिल्लाको शिखर नगरपालिका – ८ तिलतालिका अन्दाजी २८/३० वर्षीय शंकर बलायर मृत अवस्थामा भेटिएका हुन् ।
शिखर नगरपालिका–८ गोपघाट स्थित डा. केआईसिंह राजमार्ग अन्तर्गत सडक सडकमा घोप्टो परेको अवस्था शव फेला परेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक नवराज रावलका अनुसार मृतकको टाउकोमा गम्भीर चोट देखिएको छ ।
शुक्रबार मध्यराति १२ : १५ बजेको समयमा प्रहरीले मानिस सडकमा लडेको अवस्थामा भेटिएको जानकारी पाएको थियो । तत्पश्चात प्रहरी चौकी तिलतालीबाट प्र.ना.नि. भुवन सिंह बोहराको कमाण्डमा ५ जनाको टोली खटाइएको थियो ।
घटनाको थप अनुसन्धानका लागि प्रहरी निरीक्षक रावलको नेतृत्वमा ९ जनाको टोली खटाइएको छ । मृतकका आफन्तले घटना शंकास्पद भएको भन्दै सत्यतथ्य छानबिनको माग गरेका छन् ।
मृत भेटिएका बलायर नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैया बारा दरबन्दी भई हाल जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटमा कार्यरत प्रहरी जवान भएको खुलेको छ ।
उनी दसैंमा मनाउन असोज ७ गतेदेखि १८ दिनको घर बिदा लिएर आएका थिए ।
