ग्रामीण सडकले बदलिए बजार, फेरिए व्यापारी

समयसँगै यहाँका व्यापारी पनि बदलिएका छन् । सडक विस्तारसँगै घोडा, खच्चरमा सामान बोक्नेले ट्रक, जीप किनेका छन् । पसलमा सामान बेच्नेले घरघर पुर्‍याएर व्यापार गरिरहेका छन् । 

आश्विन १६, २०८२

मोहन चन्द

Rural roads have changed the market, traders have changed

What you should know

बैतडी — नुनदेखि सुनसम्म र सियोदेखि सब्बल (ढुंगा फुटाउन फलामबाट बनेको औजार) सम्म पाइने बजारहरु अचेल सुनसान बन्दै गएका छन् । ग्रामीण भेगसम्म सडक सञ्जाल जोडिएपछि पुराना बजार सुनसान बनेका छन् भने सडक किनारमा नयाँ बजार खुलेका भएका छन् ।

एक दशक अगाडिसम्म बिहान ४ बजेदेखि अबेर रातिसम्म चहलपहल हुने यी बजार अहिले सुनसान देखिन्छन् । ग्राहक घटेपछि व्यापारी विस्थापित भएका छन् ।

बाटोघाटो समस्या रहेको बैतडीमा संघीयतापछि गाउँगाउँ जोड्ने सडकमा जोड दिइयो । स्थानीय तहहरुले अरु विकास भन्दा सडकलाई नै प्राथमिकता दिए । अहिले जिल्लाका ८४ मध्ये सबै वडामा सडकको पहुँच पुगिसकेको स्थानीय तहहरुले जनाएका छन् । सडकले सबै ठाउँ जोड्दा जिल्लाका मुख्य र पुराना बजार अहिले सुनसान बनेका छन् । जिल्लाका मुख्य बजार, गढी, गोठलापानी, शाहिलेक, देहिमाण्डौं, सतबाँज, ढोल्यामोड, खनारी, दुर्गास्थानलगायत भारतीय सीमा नाकामा रहेको जुलाघाट बजार अहिले सुनसान बनेका छन् । 

यी बजारमा स्थानीयबाहेक बाहिरका कोही व्यापारी बस्दैनन् । बजारका सबैजसो सटर बन्द हुन्छन् । स्थानीयले आफ्नै घर भएकाले सामान्य सरसामान र खाजा पसल संचालन गरेका छन् । धेरैजसो स्थानीय त पसलमात्रै हैन घर नै छोडेर तराई बसाइ सरेका छन् । 

दशरथचन्द नगरपालिका २ देहीमाण्डौंमा पुरानो घरको पहिलो तलाको बरान्डामा माटोको सानो चुलोमा पुरानो कित्ली (चियादानी) राखिएको थियो । छेउमा काठको सानो स्टुलमा ६६ वर्षका भानबहादुर बोहरा बसेका थिए । चुलोबाट निस्किरहेको कालो धुवाँसँगै बोहराको मनमा पुराना दिनका याद उडिरहेका थिए । पाँच दशक  पुरानो उनको पसलमा केही वर्षअघिसम्म पनि ग्राहकको भीड हुन्थ्यो । अचेल उनी आफ्ना लागि चिया पकाउन मात्रै आगो बाल्ने गर्छन् । ‘ग्राहक नै नआएपछि सामान के राख्ने सामान्य चिया, नास्ता र हल्का सामान मात्रै राखेको छु,’ उनले भने ।

तल्लो स्वराड क्षेत्र भनेर चिनिने हालको मेलौली नगरपालिका, शिवनाथ र पञ्चेश्वर गाउँपालिकाका बासिन्दाको किनमेल गर्ने थलो  देहीमाण्डौं, दुर्गास्थान र खनारी बजार हो । यी तीन पालिकाका साविकका करिब १५ गाविसका बासिन्दा १० वर्षअघिसम्म पनि किनमेलका लागि आउने गर्थे । अहिले यी बजारमा न स्वराड क्षेत्रका व्यापारी आउँछन् न कोही उपभोक्ता नै । उतिबेला यी बजारका व्यापारीलाई उपभोक्तालाई सामान दिन भ्याइनभ्याइ हुने गर्दथ्यो ।

सडक सञ्जाल बिस्तार भएपछि देहीमाण्डौं बजार सुनसान बनेको व्यापारी बोहराले बताए । यी बजारबाट स्वराड क्षेत्रमा स्थानीय व्यापारीको लागि सामान घोडा खच्चरमा जाने गर्थ्यो । घरायसी प्रयोगका लागि ग्राहक आफै बोकेर लग्ने गर्थे । बास बस्नेदेखि खाना, नास्ताको होटल चलाइका उनले अहिले समान्य चिया पसल संचालन गरेका छन् । आफ्नै घर भएकाले भाडा नतिर्नु पर्ने हुँदा पसल संचालन गरेको उनले बताए । ‘भाडा तिरेर बसेका सबै व्यापारी छोडेर अन्त ठाउँ गइसके,’ उनले भने, ‘अहिले सबै सटर बन्द छन्, जो खुला छन तिनका आफ्नै घर हुन् ।’

Rural roads have changed the market, traders have changed

सतबाँज बजार 

बिहान ४ बजेदेख राति १२ बजेसम्म होटल र पसलको काममा व्यस्त हुँदा पाकेको खाना खाने समयसम्म नपाउने उनी आजभोलि सधैं फुर्सदमा हुन्छन् । ‘यहीँ चुलोमा ३८ वर्षसम्म खाना पकाएर हजारौं जनालाई खुआए,’ उनले भने ‘चुलोमा आगो निभाइदैन्थ्यो । समयको माग हो अहिले आफूलाई चिया पकाउन मात्रै चुलो बाल्नुपरेको छ ।’ आफ्नो उमेर समूहका बुढापाखा चिया पिउन आए गफ गरेर दिन बिताउने गरेको उनले बताए । बन्द गरेको पुरानो सटर देखाउँदै उनले भने, ‘उ ती दुई सटरमा देवसिंह भाटजीले भाडामा लिएर व्यापार गरेका थिए । १९/२० वर्ष व्यापार गरेका स्वराडतिर सडक गएपछि छाडेर गएका हुन् । अहिले त कहाँ छन् थाहा छैन् ।’ 

पाटन पञ्चेश्वर सडक संचालनमा आएदेखि यो बजार सुनसान भएको देहीमाण्डौंका पुराना व्यापारी तथा दशरथचन्द नगरपालिका २ का वडाध्यक्ष सूर्य बोहराले बताए । दशक अघिसम्म पैदल बातटोमा भरिया र घोडा खच्चरले समान्य मान्छेलाई आवतजावत गर्नै मिल्दैन्थ्यो । अध्यक्ष बोहराका अनुसार समयसँगै ब्यापारी पनि बदलिएका छन् । सडक विस्तारसँगै घोडा, खच्चर चलाउनेले अहिले ट्रक, जीप चलाइरहेका छन् । स्वराडका व्यापारीका लागि देहीमाण्डौं र खनारी बजारबाट घोडा खच्चरमा सामान बोक्नेहरु अहिले तराइबाट (धनगढी) ट्रकमा सामान ल्याएर बेचिरहेका छन् ।

Rural roads have changed the market, traders have changedखनारी बजार

१८ वर्ष पहिले २२ वटा खच्चरमा देहीमाण्डौंदेखि स्वराडका विभिन्न ठाउँमा सामान ढुवानी गर्ने गणेशदत्त पन्त सडक बिस्तारसँगै ट्रक र ट्याक्टरमा व्यापारीका सामान ढुवानी गरिरहेका छन् । खच्चर बेचेर ट्रक र ट्याक्टर किनेको पन्तले बताए । ‘अहिले म डिलरको काम गरिरहेको छु,’ उनले भने, ‘मसँग ट्रक र ट्याक्टर छन्, व्यापारीको अर्डर अनुसार धनगढीबाट सामान ल्याएर प्रत्येकको पसलमा पुगाइदिने गरेको छु ।’ 

तल्लो स्वराड क्षेत्रको स्थानीय खनारी बजारमा तीन दाजुभाईका बेग्लै पसल जिथए । भारतसित सीमा जोडिएको महाकाली किनारको यो क्षेत्रका बासिन्दा दैनिक उपभोग्य बस्तुदेखि लुगाफाटो र औषधि उपचारको लागि भारत जाने गर्थे । पारि गएर सामान ल्याउन नसक्ने र सीमामा सहज नभएका बेला सबैको किनमेल गर्ने थलो खनारी बजार थियो । यहाँबाट पैदल जिल्ला सदरमुकाम जाँदा नारी बजारको बाटो छोटो पर्छ । देहीमाण्डौं–गिरेगडा सडक खुलेपछि खनारी बजार सुनसान मात्र हैन बजारको नामोनिसानै मेटिएको छ । यो सडकमा यातायात संचालन भएपछि खनारी बजारमा बसोबास बन्द भएको हो । बिहान घरबाट सिधै सदरमुकाम काम गरेर साँझ घर पुग्ने हुनाले यो ठाउँमा चिया नस्ताको लागि पनि रोकिदैनन् । 

बुबाको पालादेखिको सानो व्यापार सशस्त्र द्वन्द्वकालमा एकदमै फस्टाएको उतिबेला खनारी बजारका व्यापारी चन्द्रबहादुर चन्दले बताए । ‘बिहानैदेख अबेरसम्म हामीलाई खाना खाने फुर्सद हुन्थेन,’ उनले भने, ‘खुद्रादेखि होलसेल सामानसम्म हाम्रै पसलबाट जाने हुनाले मान्छेको मात्रै हैन घोडा खच्चरको पनि भिडभाड हुने गर्थ्यो, अहिले त ती दिन सम्झिदा पनि बिरक्त लाग्छ ।’

सडक संचालनमा आएपछि एक्कासी बजार सुनसान हुँदा चन्द्रका दाजु तराई बसाइ सरिसके कान्छो भाईलाई मानसिक समस्या भएको उनले बताए । सदरमुकामदेखि स्वराडलाई अहिले देहीमाण्डौं–गिरेगडा र पाटन पञ्चेश्वर सडकले जोडेको छ । ‘सबै ठाउँमा सडक पुगिसक्यो सदरमुकाम जाने विहान गएर साँझ घर पुगिहाल्छन्, अनि हाम्रो यहाँ को बस्छन्,’ निन्यास्रो स्वरमा चन्द्रले भने, ‘खनारी बजारमा पाइने सामान अहिले गाडीले घरनजिकै पुगाइदिन्छ ।’ 

वर्षौ पुरानो जुलाघाट बजार पनि अहिले सुनसान सँगै जीर्ण बनेको छ । जुलाघाट बजार भारत नेपालको सिमानामा रहेको बजार हो । सुदूरपश्चिमका पाहाडी जिल्लाको एकमात्र भन्सार कार्यालय रहेको यो बजारमा बैतडीका मात्र नभई अरु जिल्लाका मान्छे पनि सामान किन्न आउने गर्थे । बझाङ, बाजुरा, आछाम जुम्ला, हुम्ला, कालीकोटसम्मका व्यापारी र सर्वसधारण सामान किन्न आउने यो बजार आजभोली सुनसान भएको बैतडीका स्थानीय ६८ वर्षीय टेकसिंह कुवरले बताए । 

अहिले जुलाघाटमा बाहिर जिल्लाका भन्दा पनि बैतडीकै व्यापारी र स्थानीय समेत नआउने गरेको स्थानीय ब्यापारी एवम् बजार व्यवस्थापन समिति निवर्तमान अध्यक्ष जयसिंह भाटले बताए । उनका अनुसार भारतबाट सामान ल्याउने र भारततिर सामान पठाउने ब्यापारी र व्यक्तिले गर्दा यहाँका होटल र पसलमा धेरै भीड हुने गरेको उनले बताए । ‘मेरो घर यही बजारमा हो । घरमै बुबाले सुरु गरेको होटल र होलसेल पसल मैले पनि १५/१६ बर्ष राम्रै चलाए,’ उनले भने, ‘अहिले बन्द गरेर घरमै बसेको छु, दिनमा कहिले त एक जना ग्राहक पनि आउँदैनन् खोलेर के गर्नु ।’ 

भाडामा ब्यापार गर्ने त उहिलै गइसके अहिले त आफ्नै घर भएका पनि बन्द गरेर बसेका छन् । धेरैजसो घरभएका पनि बसाई सरिसकेका छन् । गाउँगाउँलाई सडकले जोडेपछि अहिले सबै सामान घरनजिकै पाइने र भारतबाट सामान ल्याउन कोही नआउने भएकाले जुलाघाट बजार सुनसान भएको भाटको भनाइ छ । 

गढी, गोठलापानी र शाहिलेक बजार जिल्ला सदरमुकाम केन्द्रका बजार हुन् । स्थानीय तह हुनुभन्दा पहिलेसम्म यी बजारमा जो चहलपहल थियो, त्यो अहिले नरहेको गोठलापानीका व्यापारी नरेश चन्दले बताए । उनलाई यहाँ व्यापार गरेको ३० बर्ष भइसक्यो । अहिले यी बजारमा भाडाका कोठा, व्यापारिक सटर सब खाली छन् । सदरमुकाममा सरकारी कार्यालय हुनाले अरु बजारभन्दा यी बजारमा केही चहलपहल त देखिन्छ । पहिले दिनमा हजारौंमा कारोबार गर्ने व्यापारी अहिले सयमा व्यापार भइरहेको शाहिलेकका व्यापारी महेश भट्टले बताए । बजारमा व्यवसाय हुन छाडेपछि धेरै व्यवसायी विस्थापित भइसकेका र बाकी विकल्पको खोजीमा रहेको उनले बताए । ‘अहिले समय फेरिएको छ । दुर्गम गाउँघरमा मोटरबाटोलगायतका धेरै सुविधा पुगेको छ,’ उनले भने, सदरमुकामको व्यापार र चहलपहल एकदम घटेको छ ।’

सडकले गाउँगाउँमा नयाँ बजार स्थापित गरेको छ भने पुराना मुख्य बजारलाई सुनसान पारेको छ । जिल्लाको पुरानो ढोल्यामोड बजार साविकको पुर्चौडी नगरपालिका र सिगास गाउँपालिकाको मुख्य बजार हो । अहिले ढोल्यामोडदेखि पुर्चौडी नगरपालिकाको केन्द्र हाटसम्म र सिगासको केन्द्र गर्जेसम्म सडक पुगेपछि यो बजारको चहलपहल र व्यवसाय ९० प्रतिशतले घटेको स्थानीय व्यापारी सुरेन्द्र मडैले बताए । उनी १७ वर्षदेखि ढोल्यामोडमा व्यापार गर्दै आइरहेका छन् ।

यस्तै सतबाँज बजार साविकको सूर्नया गाउँपालिका र दशरथचन्द र पाटन नगरपालिका केही वडाका स्थानीयको मुख्य बजार नै हो । अहिले सतबाँज श्रीभावर सडक सञ्जालमा आएपछि यो बजार पनि सुनसान बन्न थालेको छ । ४० वर्षदेखि होटल संचालन गरेका होटल व्यवसायी ७४ वर्षीय जयबहादुर चन्दले पहिले नास्तासंगै दैनिक ७ किलो चामलको भात बेचिने र अहिले दैनिक आधा किलो चामलको भात पनि खेर जाने गरेको बताए ।

‘दैनिक अढाई सयसम्मको नास्तासम्म बेचिँदैन,’ उनले भने, आफ्नो घर भएकाले यस्तै खोलेको छु, कहिलेकाहीँ बस रोकिदा कोही खान्छन् । अरु बेला रित्तो हुन्छ ।’ दार्चुला र बैतडी जाने गाडी छुट्टिने यो बजार अरु बजार जस्तो सुनसानै भने कम हुने गरेको छ । पहिलेको तुल्नामा अहिले ८५ प्रतिशतले ग्राहक घटेको चन्दले सुनाए ।  

मोहन चन्द कान्तिपुरका बैतडी संवाददाता हुन् ।

Link copied successfully