तर सम्पर्कविहीन ६ कैदी अझैसम्म पक्राउ परेका छैनन्। प्रहरी निरीक्षक डम्बर विष्टका अनुसार ती कैदीहरू समूहमा नभई छुट्टाछुट्टै रहेकाले भारत भागेको आशंका गरिएको छ।
डडेल्धुरा — जेन–जी आन्दोलनको क्रममा डडेल्धुरा कारागार तोडफोडपछि भागेका ८५ कैदीमध्ये ७९ जना पुनः कारागारमा फर्किएका छन् भने ६ जना अझै फरार रहेका छन्।
जिल्ला प्रहरी कार्यालय डडेल्धुराका अनुसार कोही कैदी आफैं सम्पर्कमा आएका कोही स्थानीयको सूचनामा समातिएका र कोही सुरक्षाकर्मीको सक्रियतामा नियन्त्रणमा आएका हुन्।
तर सम्पर्कविहीन ६ कैदी अझैसम्म पक्राउ परेका छैनन्। प्रहरी निरीक्षक डम्बर विष्टका अनुसार ती कैदीहरू समूहमा नभई छुट्टाछुट्टै रहेकाले भारत भागेको आशंका गरिएको छ।
जिल्ला प्रहरी कार्यालय डडेल्धुराका डिएसपी बरुण सिंहले फरार कैदीलाई पक्राउ गरी फर्काउने दृढता व्यक्त गरेका छन्। हालै डडेल्धुरा प्रहरीको कमाण्ड सम्हाल्न पुगेका डिएसपी सिंहले पत्रकारहरु संगको परिचयात्मक कार्यक्रममा यस्तो बताएका हुन्।
उनले भने,‘भारत पुगेका भए पनि फर्काइन्छ, मैले सीआईबीमा काम गर्दा पाएको अनुभव प्रयोग गरेर भारतसँगको समन्वयमा पक्राउ प्रक्रिया अघि बढाउँछु।’
यसैबीच, आन्दोलनकै क्रममा प्रहरीले ठूलो मात्रामा हातहतियार बरामद गरेको घटनाले समुदायमा त्रास फैलिएको भन्दै सर्वसाधारणलाई शंकास्पद गतिविधि वा सूचना पाएमा तत्काल उपलब्ध गराउन आग्रह गरेको छ।
