नाकामा कुकुरबाट जाँच

‘नाकामा भीडभाड बढेको छ, त्यही भएर कुकुर परिचालन गरिएको हो,’ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी खडकबहादुर खत्रीले भने ।

आश्विन १०, २०८२

भवानी भट्ट

कञ्चनपुर — दसैंका लागि भारतबाट घर फर्किनेको चाप बढेसँगै नाकामा जाँचका लागि कुकुर परिचालन गरिएको छ । प्रदेश प्रहरी कार्यालय धनगढीको केनाइन शाखाबाट ल्याइएका कुकुरबाट जाँच गरिएको हो । 

‘नाकामा भीडभाड बढेको छ, त्यही भएर कुकुर परिचालन गरिएको हो,’ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी खडकबहादुर खत्रीले भने, ‘आवश्यकताअनुसार फेरि पनि कुकुर परिचालन गरिने छ ।’ 

केनाइन शाखाबाट प्रदेशका सबै नाकाहरुमा जाँच हुने भएकाले एकै नाकामा नियमित रुपमा कुकुर राख्न नसकिने उनले बताए । 

विगतका वर्षमा पनि दसैं र तिहारका बेला जाँचका लागि कुकुर परिचालन गरिएको थियो । प्रहरीले नाकामा नागरिक सहायता कक्ष पनि सञ्चालन गरेको छ । भारतबाट भर फर्किने यात्रुको विवरणसँगै समस्यामा परेकाहरुलाई सहयोग गर्न नागरिक सहायता कक्ष सञ्चालन गरेको हो ।

भवानी भट्ट कान्तिपुरका कञ्चनपुर संवाददाता हुन् ।

Link copied successfully