कर्फ्यु तथा निषेधाज्ञा हटेपछि लामो तथा छोटो दुरीमा चल्ने सवारी साधन सञ्चालनमा आएका छन् भने पसलहरू पनि खुलेका छन् ।
बैतडी — बैतडीमा लागेको कर्फ्यु तथा निषेधाज्ञा हटेपछि जिल्लाको जनजीवन सामान्य बन्दै गएको छ ।
कर्फ्यु तथा निषेधाज्ञा हटेपछि लामो तथा छोटो दुरीमा चल्ने सवारी साधन सञ्चालनमा आएका छन् भने पसलहरू पनि खुलेका छन् । जिल्लामा शनिबारदेखि कर्फ्यु र निषेधाज्ञा हटाइएको प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले बताए ।
२४ गते राति बैतडी कारागारबाट कैदीबन्दी र थुनुवा भागेपछि थप सुरक्षा चुनौती थपिएको थियो,’ उनले भने, ‘भागेका कैदीबन्दी र थुनुवामध्ये ४७ जना प्रहरीको नियन्त्रणमा आइसकेका र बाँकीको खोजी कार्य भइरहेको छ ।’
जेन–जीको आन्दोलनको क्रममा बैतडीका मुख्य मुख्य बजार क्षेत्रमा पनि प्रदर्शन गरिएको थियो । प्रदर्शनको क्रममा जिल्लामा आगजनी र तोडफोडका घटना नभएको बैतडी प्रहरीले जानकारी दिएको छ । अहिले जिल्लामा शान्ति, सुरक्षाको अवस्था सामान्य रहेको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए ।
बैतडी कारागार तोडफोड गरेर थुनुवा र कैदी भागेपछि जिल्लाका भारतसँग सीमा जोडिएका शिवनाथ, पञ्चेश्वर गाउँपालिका घाट (महाकाली नदी तरेर भारत जाने ठाउँ) र दशरथचन्द नगरपालिकाको जुलाघाट पुल बन्द गरिएको थियो । अहिले यी ठाउँ खुल्ला गरिए पनि प्रहरीले चेकजाँचमा कडाइ गरिरहेको छ ।
सरकारी कार्यालयबाट सबै प्रकारका सेवा सुरु भइसकेको जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ । यस्तै, बन्द गरिएका निजी र सामुदायिक विद्यालयमा पनि आइतबारदेखि पठनपाठन सुरु गरिएको शिक्षा समन्वय इकाई बैतडीले जानकारी दिएको छ ।
जेन–जीको आन्दोलनका क्रममा शिवनाथ गाउँपालिकाका स्थानीय १८ वर्षीय घाइते दीपक सिंह साउदको मृत्यु भएपछि आइतबार एक दिन गाउँपालिकाले सार्वजनिक बिदा दिएको थियो । सोमबारदेखि पालिकाले पनि सबै कार्यालय सञ्चालन गरी सेवा सुचारु गर्ने गाउँपालिकाले जनाएको छ ।
