क्षतिग्रस्त कार्यालय सेवा र मर्मत सँगै

भाद्र २९, २०८२

भवानी भट्ट

कञ्चनपुर — आगोले जलेका तारहरू विस्थापित गरेर नयाँ जडानको काम भइरहेको छ । कम्प्युटर र ल्यापटपको कामै नलाग्ने भए पछि यी सबै मर्मत गरेर सेवा सुरु गर्नुपर्ने हतार जिल्ला प्रशासन कार्यालय कञ्चनपुरलाई छ ।

आइतबार कार्यालय खुले पनि जिल्ला प्रशासनले नागरिकता, राहदानी र राष्ट्रिय परिचयपत्र लगायतका सेवा दिन नसकिने बिहानै सूचना गरेको थियो । जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरेर आगजनीले क्षति भएका कारण उक्त सेवा दिन नसकिने जनाएको हो ।

कार्यालय खुले पनि जिल्ला प्रशासन सुनसान छ । सेवाग्राहीहरू फाटफुट मात्रै आइरहेका छन् । ‘आइतबार मर्मतको काम सकियो, सोमबारबाट राहदानी र राष्ट्रिय परिचयपत्रको सेवा सुचारु हुन्छ,’ प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले भने, ‘नागरिकताको कम्प्युटर नै जलेका कारण अर्को कम्प्युटरमा सिस्टमले काम गरे त्यो पनि सुचारु हुन्छ ।’

शुक्लाफाँटा नगरपालिकाले आगजनी र तोडफोडका कारण नगरपालिकासँगै वडा कार्यालयका भवनमा समेत ठूलो क्षति पुगेका कारण तत्काल सेवा दिन सकिने अवस्था नरहेको जनाएको छ । ‘अहिले टुटफुट तथा नष्ट भएका भौतिक संरचना तथा सामाग्रीको क्षतिको मुचुल्का भर्ने मूल्यांकन गर्ने कार्यका साथै सरसफाइको काम भइरहेको छ,’ शुक्लाफाँटा नगरपालिकाले जारी गरेको सूचनामा भनिएको छ, ‘यो सबै कार्य सम्पन्न गरी सेवा प्रवाहमा सात दिन लाग्ने छ ।’ आगजनी र तोडफाडका कारण शुक्लाफाँटा“टा नगरपालिका कार्यालयसँगै अधिकांश वडा कार्यालय पनि ध्वस्त भएका छन् ।

यसैगरी कृष्णपुर नगरपालिकाले पनि आइतबारदेखि सेवा सुरु गर्न सकेको छैन । वडा कार्यालयबाट जेनतेन सेवा सुचारु भए पनि नगरपालिकाबाट तत्काल सेवा सुरु नहुने नगर प्रमुख हेमराज ओझाले बताए । उनले आगजनीका कारण नगरपालिकामा धेरै क्षति भएका कारण मर्मतको काम सकिएपछि मात्तै सेवा सुरु गरिने बताए ।

जेन–जी आन्दोलनका क्रममा प्रदर्शनकारीबाट कञ्चनपुरमा ४ दर्जन बढी सरकारी तथा निजी घरमा आगजनी र तोडफोड भएको छ । जिल्ला प्रहरीका अनुसार ३० वटा सरकारी कार्यालय, विभिन्न राजनीतिक दलका नेताका  १७ वटा घर र ४ वटा व्यापारिक प्रयोजनका घरमा आगजनी तथा तोडफोड भएको छ । यसैगरी कांग्रेस र एमालेको पार्टी कार्यालयमा पनि आगजनी र तोडफोड भएको छ ।

भवानी भट्ट कान्तिपुरका कञ्चनपुर संवाददाता हुन् ।

Link copied successfully