डडेल्धुराबाट भागेका ७८ कैदी पक्राउ

भाद्र २९, २०८२

तर्कराज भट्ट

डडेल्धुरा– डडेल्धुरा कारागारबाट भदौ २५ गते बिहान सामूहिक रूपमा भागेका कैदीमध्ये पक्राउ पर्नेको संख्यामा पुनः वृद्धि भएको छ। जिल्ला प्रहरी कार्यालय डडेल्धुराले दिएको जानकारीअनुसार हालसम्म ८५ कैदी मध्ये ७८ जना पक्राउ भइसकेका छन्।

भदौ २५ गते बिहान करिब ८ बजे अमरगढी नगरपालिका–५, कीर्तिपुरस्थित डडेल्धुरा कारागारमा रहेका विभिन्न मुद्दाका कैदीहरूले सरसामानमा आगजनी र तोडफोड गर्दै ८५ जना सामूहिक रूपमा फरार भएका थिए।

सुरुवाती खोजतलासमा भदौ २७ गते रातिसम्म ७३ जना कैदी पक्राउ परेका थिए। पछिल्लो अपडेटअनुसार भदौ २९ गते बिहान ९ बजेसम्म थप ५ जनालाई विभिन्न स्थानबाट पक्राउ गरी हालसम्म पक्राउ पर्ने संख्या ७८ पुगेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रहरीका अनुसार सुरुमा डडेल्धुरा कारागारमा ८५ जना कैदी मात्र रहेका थिए। तर पछिल्ला दिनमा सुदूरपश्चिमका अन्य जिल्लाबाट समेत फरार भएर डडेल्धुरामै पक्राउ परेका कैदी ल्याइँदा हाल डडेल्धुरा कारागारमा कैदीको संख्या बढेर अहिले १२० पुगेको छ।

फरार भएका बाँकी कैदीबन्दीहरूको खोजतलास अझै जारी रहेको र नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको संयुक्त टोली खटाइएको प्रहरीले जनाएको छ। पक्राउ परेकामध्ये अन्य जिल्लामा मुद्दा खेपिरहेका कैदीलाई सम्बन्धित जिल्लामा बुझाउने कार्य पनि जारी रहेको प्रहरीले जानकारी दिएको छ।

तर्कराज

Link copied successfully