बेलमतीकी जेठी छोरी कक्षा ९ मा पढ्छिन्, तीन बहिनी र एक भाइको पालनपोषण गर्ने जिम्मा उनकै काँधमा आएको छ ।
बैतडी — बैतडीको विकट क्षेत्र मानिने सिगास गाउँपालिका–२ गाजरीकी ३४ वर्षीया बेलमती धामीको गत २२ गते राति बन्चरो प्रहारबाट मृत्यु भयो । चार वर्षअघि जन्डिस रोगबाट श्रीमान् गुमाएकी बेलमतीसमेत नरहेपछि उनका ५ छोराछोरीको बिचल्ली भएको छ ।
घरमा सुतिरहेको अवस्थामा आफ्नै भतिजो नाता पर्ने ३० वर्षीय यज्ञ धामीले बन्चरो प्रहार गर्दा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी प्रहरी निरीक्षक बलराम पाण्डेयले बताए । पाण्डेयका अनुसार घटनालगत्तै निजलाई नियन्त्रणमा लिई ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ ।
कसरी भयो घटना ?
मृतक बेलमतीको घर गाउँभन्दा टाढा एकान्त गाजरीको पिडेगोदा ठाउँमा छ । यज्ञ र बेलमती नातामा काकी भतिजा हुन् । यज्ञ हुलाकमा काम गर्ने कर्मचारी हुन् । उनका एक छोरा एक छोरी छन् । उनकी श्रीमती केही वर्षदखि दुबईमा काम गरिरहेकी छिन् । यज्ञकी श्रीमती विदेश गएपछि उनकी छोरी मामाघरमा छिन् । घरमा रहेकी ७७ वर्षीया आमा र छोरासहित यज्ञ काकी बेलमतीकै घरमा बसिरहेका थिए । बेलमती नै यज्ञकी आमा र छोराकी सहारा बनेकी थिइन् ।
स्थानीय सूर्य बोहराका अनुसार केही दिन अगाडीदेखि यज्ञको मानसिक अवस्था विग्रेको थियो । उपचार गराउँछु भनी उनी धनगढी गएका थिए । तीन दिन अगाडि मात्रै उनी धनगढीबाट घर फर्केका थिए ।
प्रहरीका अनुसार यज्ञले राति सुतिरहेको अवस्थामा बेलमतीको घाँटी र मुखमा धारिलो हतियार बन्चरोले प्रहार गरेका थिए ।
बच्चाको बिचल्ली
श्रीमान्को मृत्यु भएपछि आफ्ना ५ बच्चा र यज्ञका आमा बच्चाकै सहारा बनेकी बेलमतीको मृत्यु भएपछि सबै बेसहारा भएका छन् ।
बेलमतीकी जेठी छोरी कक्षा ९ मा पढ्छिन् । अब बाँकी तीन बहिनी र एक भाइको पालनपोषण गर्ने जिम्मा उनकै काँधमा आएको छ । बेलमतीको अन्तिम संस्कार गर्न पनि परिवारसँग आर्थिक अवस्था नरहेको वडाध्यक्ष खगेन्द्रसिंह ऐरले बताए । ‘बेलमतीले मजदुरी गरी आफ्ना बालबच्चा पालिराहेकी थिइन्,' उनले भने, ‘अब सहारा नै गुमाइसकेका यी बच्चाको झनै बिचल्ली हुने भयो ।’
