अछाम — अछाम जिल्लाभर निषेधाज्ञा र कर्फ्यु जारी छ। सुरक्षा स्थिति संवेदनशील बनेपछि जिल्ला प्रशासन कार्यालय अछामले बिहीबारदेखि विशेष सुरक्षा व्यवस्था मिलाएको हो।
प्रशासनले जारी गरेको आदेशअनुसार बिहान ११ बजेदेखि बेलुकी ४ बजेसम्म पाँच जनाभन्दा बढी भेला भई कुनै पनि प्रकारका बैठक, जुलुस, प्रदर्शन, सभा, सम्मेलनलगायतका गतिविधि गर्न निषेध गरिएको छ। त्यसैगरी बेलुकी ५ बजेदेखि बिहान ५ बजेसम्म कर्फ्यु आदेश जारी गरिएको छ।
निषेधाज्ञा तथा कर्फ्यु अछाम सदरमुकाम मंगलसेनको मुख्य बजार केन्द्रदेखि ५ किलोमिटर वरपरको क्षेत्रमा लागू हुने जनाएको छ। साथै जिल्लाभरका प्रमुख तथा सहायक बजार क्षेत्रहरूमा पनि कर्फ्यु जारी गरिएको हो ।
प्रशासनले अत्यावश्यक कामका लागि भने बिहान ५ देखि ११ बजेसम्म र बेलुकी ४ देखि ७ बजेसम्म आवतजावत गर्न अनुमति हुने स्पष्ट पारेको छ। आदेश उल्लंघन गर्नेहरूमाथि कानुनअनुसार कारबाही हुने जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
