बैतडी कारागारबाट भागेका कैदी फर्किन थाले

भाद्र २७, २०८२

मोहन चन्द

बैतडी — मंगलबार देशभर प्रदर्शन चर्किएका बेला गेट तोडफोड गर्दै बैतडी कारागारबाट भागेका कैदीबन्दी धमाधम फर्किन थालेका छन् ।

मंगलबार राति साढे ९ बजेतिर कारागारको गेट तोडफोड गरेर भागेका ६२ जना कैदीबन्दीमध्ये शुक्रबारसम्म ३० जना सम्पर्कमा आइसकेको प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले बताए ।

तोडफोड गरिएको कारागारको गेट मर्मत गरिएको छ । ‘३० जना मध्ये २५ लाई सुरक्षाकर्मीले पक्राउ गरिसकेका र बाँकी ५ जना पनि सम्पर्कमा आएका छन्,’ उनले भने, ‘बाँकीको पनि खोजी भइरहेको छ ।’

अहिले बैतडीमा लगाइएको कर्फ्युलाई शनिबार बिहान ७ बजेसम्मका लागि थप गरिएको छ । यस्तै भारतसँग सीमा जोडिएका शिवनाथ, पञ्चेश्वर गाउँपालिका र दशरथचन्द नगरपालिकाका नाकामा कडाइ गरिएको र बन्द रहेको नाकालाई खुकुलो बनाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।


मोहन चन्द कान्तिपुरका बैतडी संवाददाता हुन् ।

Link copied successfully