डडेलधुरा — जेनजी समूहको आन्दोलनपछि लगाइएको कर्फ्युबीच डडेलधुरा रामा आज चार घण्टाका लागि निषेधाज्ञा जारी गरिएको छ। प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमका अनुसार बिहीबार बिहान १० बजेदेखि शुक्रबार बिहान ६ बजेसम्म लागू हुने गरी कर्फ्यु आदेश जारी भएकोमा अत्यावश्यक गतिविधि सहज बनाउन आज बिहान ६ बजेदेखि १० बजेसम्म निषेधाज्ञा खुकुलो पारिएको हो।
स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम जारी गरिएको आदेशअनुसार अमरगढी–५ को बागबजार, तुफानडाँडा र जिल्ला प्रहरी कार्यालय आसपास, अमरगढी–४ को जिल्ला प्रशासन कार्यालयदेखि टुडिखेल क्षेत्र तथा अमरगढी–८ को कीर्तिपुर क्षेत्रमा कर्फ्यु लागू गरिएको थियो।
तर, कर्फ्यु अवधिभित्रै पसल सञ्चालन, उपभोग्य सामान खरिद, यातायात सञ्चालनलगायतका कार्यमा सहजता पुर्याउन चार घण्टाका लागि निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी गौतमले जानकारी दिए। उनका अनुसार तोकिएको निषेधाज्ञा पछि परिस्थिति अनुसार पुनः कर्फ्यु लगाउने वा नलगाउने निर्णय गरिनेछ।
उनका अनुसार कर्फ्यु आदेश र निषेधाज्ञा दुवैका क्रममा कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा वा बैठक गर्न नपाइने व्यवस्था यथावत् रहनेछ। आदेश उल्लङ्घन गर्नेहरूमाथि कानूनी कारबाही हुने चेतावनीसमेत उनले दिएका छन्।
