नागरिकता नहुँदा भारतमै रोकिइन् सुवासकी आमा

जापान उड्ने खर्च नपाएर नेपालमा थिए सुवास

भाद्र २४, २०८२

बसन्तप्रताप सिंह

Suwas's mother stayed in India due to lack of citizenship

What you should know

बझाङ — सोमबार बिहान कीर्तिपुरस्थित डेरामा सुवास बोहराले कक्षा ८ मा पढ्ने भाई सन्दीपलाई खाना खुवाए । र भाइलाई ‘म साथी भेट्न जान्छु, ढिलो भयो भने खाजा आफैं पकाएर खानु’ भनेर निस्किए ।

तर सुवास कहिल्यै नफर्किनेगरी अस्ताए । बानेश्वरमा जेन–जीको प्रदर्शनमा सहभागी सुवासलाई राज्यले घर फर्कनै दिएन । सोमबार संसद् भवन अगाडीको गेटमा गोली लागेर उनी ढले ।घाँटीको रुद्रघण्टी छेडेर उनलाई लागेको गोली पछाडिबाट निस्किएको थियो । असप्ताल पुर्‍याउन नपाउँदै उनको परान गइसकेको थियो । 

दाजुको मृत्युको खबर सुनेका सन्दीप डेरामा बेहोस अवस्थामा छन् । आफन्तहरुले उनलाई सम्हाल्न सकिरहेका छैनन् । बझाङको खप्तडछान्ना गाउापालिका–७, गोर्खाली घर भएका सुवासको मृत्युले सिंगो गाउँ नै शोकमग्न छ । 

उता छोराको शवमा अन्तिम श्रद्धाञ्जली दिन आउन लागेकी उनकी आमा कैली बोहरा सोमबार साँझ देखी भारतको बैङलोरमा रहेको केम्पेगौडा अन्तराष्ट्रिय विमानस्थलमा रोकिएकी छन् । छोराको मृत्युको खबर सुनेपछि शोकविहृल भएकी कैलीलाई नेपाल आउने खर्च नभए पछि आफन्तले चन्दा उठाएर जोहो गरिदिएका थिए । 

‘टिकट हिजो नै काटिसकेका थियौं । उहाँको नागरिकताको सक्कल रहेनछ । फोटोकपीको भरमा जहाजमा चढ्न दिएका छैनन्’ मंगलबार सुवासका काका नाता पर्ने किरणले बेङलोरबाट भने, ‘हामीले विमानस्थल प्रशासनसँग हार गुहार गरिरहेका छौं तर मानेको छैन ।’

उनले अर्धचेत अवस्थामा रहेकी कैलीलाई एकजना आफन्तको साथ नेपाल पठाउन खोजे पनि विमानस्थलमा रोकिएका कारण सम्हाल्न गाह्रो भैरहेको उनले बताए । भारतमा रहेको दूतावासले पहल गरिदिए पठाउन सकिने सम्भावना भए पनि आफूहरुको पहुँच नभएको उनको भनाइ छ ।

बझाङको सत्यवादी माध्यमिक विद्यालयबाट एसईई दिएका सुवासले धनगढीमा कानुन संकायमा प्लसटु पास गरेका थिए । सुवासका बुवा दीपक छ महिनादेखि बेपत्ता छन् । एलएलबी पढ्ने र भाईलाई पनि काठमाण्डौमै पढाउने भनेर काठमाडौं आएका उनीहरुलाई आमाले भारतमा मजदुरी गरेर पढाई खर्च जुटाउँदै आएकी छन् ।

आमाले भारतमा मजदुरी गरेर आफूहरुको खर्च जुटाइरहेको चित्त नबुझेर सुवासले कानुन पढ्ने सपना त्याग्दै काठमाडौंमा जापानी भासा पढेका थिए । पढाईमा अब्बल र मेहनती उनले भाषा परीक्षा पास गरे । 

जापानको भिसा पनि पाए तर खर्च अभावमा जापान उड्न पाएनन् । ‘गएको चैत २१ गते उसको जापान जाने दिन थियो । आठलाख पैसा जुटाउन नसके पछि यतै रोकियो । सुवासका दौतरीसमेत रहेका उनका छिमेकी गगन रावतले भने, ‘त्यो बेला खर्च पाएको भए आज यो दिन देख्नु पर्ने थिएन ।’ भासा अध्ययन र भिसा प्रक्रिया गर्दा तीन चार लाख रुपैयाँ व्यर्थमा खर्च भए पछि सुवास आर्थिक तनावमा रहेको उनले सुनाए । 

बुवा बेपत्ता भएपछि उनका ८० वर्षका बाजे हरिबहादुरले पाँच/छ लाख त गाउँमा ऋण खोजे । तर त्यति रकमले अपुग भएपछि उनी जापान उड्न नपाएको उनले बताए । ‘आमालाई इन्डियामा धेरै दुख भयो । म जापान जाने निश्चित भए पछि आमालाई काठमाडौं ल्याउछु भन्थ्यो । अहिले आफू नै रहेन । परिवारको विजोग हुने भयो,’ गगनले भने ।

बसन्तप्रताप

Link copied successfully