कञ्चनपुरमा कर्फ्यू जारी

कञ्चनपुर सदरमुकाम महेन्द्रनगर र आसपासका क्षेत्रमा कर्फ्यू आदेश जारी भएको छ। प्रदर्शनकारीले सरकारी कार्यालयमा आगजनी र तोडफोड गरेका छन्।

भाद्र २४, २०८२

भवानी भट्ट

Curfew continues in Kanchanpur

कञ्चनपुर — जेनजीको आन्दोलन चर्किदै गएपछि कञ्चनपुरमा पनि विभिन्न स्थानमा कर्फ्यू जारी गरिएको छ । मंगलबार बिहान ११ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि कर्फ्यू जारी गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले जारी गरेको सूचना अनुसार कञ्चनपुर सदरमुकाम महेन्द्रनगर जबार क्षेत्रको ३ किलोमिटर परिसरको क्षेत्र, पूर्व पश्चिम राजमार्गको दायाँ बायाँ ३ किलोमिटर र बेलौरी, पुनर्वास, बेलडाडी र लालझाडी पालिकाको केन्द्रभित्रको बजार क्षेत्रमा कर्फ्यू जारी गरिएको हो । 

जेनजी आन्दोलनकारीले मंगलबार बिहानैदेखि सदरमुकाम महेन्द्रनगर लगायत विभिन्न ठाउँमा प्रदर्शन तथा आगजनी गरेका छन् । महेन्द्रनगरमा जिल्ला प्रशासन कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, भीमदत्त नगरपालिका लगायत विभिन्न सरकारी कार्यालय र राजनीतिक दलका कार्यलय अगाडी आगजनी तथा तोडफोड गरेका छन् । 

प्रदर्शनकारीले जिल्ला प्रशासन कार्यालय अगाडी आगजनी गर्दा प्रहरीले अश्रुग्यास प्रहार गरेको छ । प्रदर्शनकारीले ठाउँ ठाउँमा टायर बालेर आगजनी गरेका छन् । जिल्ला प्रशासन कार्यालयमा तोडफोड समेत गरिएको प्रमुख जिल्ला अधिकारी ढकालले बताए । 

महेन्द्रनगर बजार पूर्ण रूपमा बन्द गरिएको छ  भने यातायात पनि बन्द गरिएको छ । व्यवसायीहरुलाई स्वस्फुर्त रुपमा यातायात र बजार बन्द गरेका हुन् ।

भवानी भट्ट कान्तिपुरका कञ्चनपुर संवाददाता हुन् ।

Link copied successfully