स्थायी कमिटीले स्वार्थ समूह रोक्न अनुगमन समितिहरू बनाउने निर्णय गरेको छ, अनुशासन उल्लङ्घन भए कारबाही हुने बताइएको छ।
What you should know
काठमाडौँ — नेकपा (माओवादी केन्द्र) ले पार्टीभित्र स्वार्थ समूह नरोकिए अनुशासनको कारबाही गर्ने निर्णय गरेको छ । बिहीबार पार्टी केन्द्रीय कार्यालयमा बसेको पदाधिकारी बैठकले यस्तो निर्णय गरेको पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।
बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले पार्टीभित्र देखिएका स्वार्थ समूह रोक्ने र नरोकिए अनुशासनको कारबाही गर्ने निर्णय भएको बताए । उनका अनुसार बैठकले पार्टीको मध्यपहाडी लोकमार्ग अभियानको विषयमा पनि छलफल गरेको थियो ।
उनले भने, ‘स्थायी कमिटीको बैठकले गरेका निर्णयहरूको सन्दर्भमा आज छलफल मात्रै भयो । अनुगमन समितिहरू बनाउने तथा स्थायी समितिले गरेका निर्णयअनुसार गुट–उपगुट तथा स्वार्थ समूह भङ्ग गर्ने निर्णय भएको छ । त्यस्तो नरोकिए अनुशासनको दायरामा ल्याउने भन्ने विषयमा छलफल भयो । पछि निर्णय गर्ने भनिएको छ । महिला सम्मेलनका बारेमा अध्यक्ष प्रचण्ड र उपाध्यक्ष पम्फा भुसालले पनि ब्रिफिङ गर्नुभयो ।'
उनले सरकारले सामाजिक सञ्जाल बन्द गरेर नागरिकको अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्न खोजेको टिप्पणी पनि गरे । सामाजिक सञ्जाल नियन्त्रण गर्नुपर्ने भए पनि सरकारले अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्न खोजेको देखिएको उनको भनाइ छ ।
उनले भने, 'त्यस्तै सरकारले जनताका मागहरू सम्बोधन गरेको छैन । सुशासनको मामला पनि कमजोर भएको छ । भ्रष्टाचार झन् बढ्दै गएको छ । यस परिस्थितिमा अहिले रणनीतिक विषय उठाएर लैजाने कुरा भएको छ । सामाजिक सञ्जालसम्बन्धी सरकारको निर्णयको सार अध्ययन गर्दा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने देखिएको छ । यसबारेमा गम्भीरतापूर्वक अध्ययन भइरहेको छ ।’
सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयबारे अध्ययन गरेर पार्टीको धारणा सार्वजनिक गरिने उनले बताए ।
