दार्चुला सदरमुकाममा चार दिनदेखि खानेपानी अभाव

धारामा पानी नआउँदा सदरमुकामको मुख्य बजार, बङ्गाबगर, खेट्याखोला, गल्फै क्षेत्र, मोहतीका बासिन्दा टाढाबाट पानी बोक्न बाध्य छन् ।

भाद्र १७, २०८२

मनोज बडू

Lack of water in Darchula headquarters for four days

दार्चुला — पहिरोले खानेपानीको पाइप बगाएपछि दार्चुला सदरमुकाम खलंगामा चार दिनदेखि खानेपानी अभाव भएको छ । टुटेको खानेपानीको लाइन मर्मत नहुँदा महाकाली नगरपालिका–४ र ५ का घरमा खानेपानी अभाव भएको हो ।

महाकाली–३ गाराक खोलाबाट आएको पानी दुई ठाउँमा अवरुद्ध भएपछि खलंगामा खानेपानी अभाव भएको हो । पहिरोका कारण बडाली गाउ र मालबेला क्षेत्रमा खानेपानीका पाइप टुटफुट भएर सदरमुकाममा खानेपानी अभाव भएको महाकाली–४ का वडाध्यक्ष जगत चुनाराले बताए । बजारमा पानी नआउँदा झन्डै दुई हजार दुई सय घरधुरीका १० हजारभन्दा मानिस प्रभावित भएका छन् । 

वडाध्यक्षका अनुसार धारामा पानी नआउँदा सदरमुकामको मुख्य बजार, बङ्गाबगर, खेट्याखोला, गल्फै क्षेत्र, मोहतीको टाढाबाट पानी बोकेर खान बाध्य भएका छन् । खानेपानी अभाव हुँदा पनि खानेपानीको जिम्मा लिएको निकायले निरन्तरको वर्षाका कारण काम गर्न नसकिएको जनाएको छ । खानेपानी उपभोक्ता समितिका सचिव खडकसिह धामीका अनुसार आइतबार र सोमबारको वर्षाले मर्मतमा समस्या छ । आज बिहानैबाट मर्मतमा प्राविधिक जुटिसकेका छन् । खानेपानीको पाइप रहेको क्षेत्रमा पहिरो खसेकाले मर्मत कार्यमा समय लाग्ने देखिन्छ । 

दार्चुलामा २०७७/७८ सालदेखि सुरु गरिएको खलंगा सहरी खानेपानी तथा सरसफाइ आयोजनाको लागत २९ करोड रुपैयाँ रहेको छ । निर्माणको जिम्मा ग्वालेक निर्माण सेवाले लिएको भए पनि सम्झौताअनुसार डेढ वर्षमै सकिनुपर्ने आयोजनाको काम सकिएको छैन । खलंगा सहरी खानेपानी आयोजनालाई निर्माण गरेर हस्तान्तरण नभएको अवस्था छ । 

मनोज बडू बडू कान्तिपुरका दार्चुला संवाददाता हुन् ।

Link copied successfully